×

आलेख

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

काठमाडाैं | जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न निषेध गरेको बताउनुभयो ।

विश्वमा १८२ देशसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापित गरेको छ । नेपालले आफ्नो भूमि कुनै अर्को देशविरुद्ध दुरुपयोग गर्न नदिने कुरा सार्वजनिक प्रतिबद्धताको विषय हो । भूपरिवेष्ठित राष्ट्र नेपाल विश्वका दुई ठूला देश भारत र चीनको बीचमा अवस्थित रहेकाले नेपाली भूमिको प्रत्यक्ष संवेदनशीलताप्रति सबैको जिज्ञासा हुन्छ । 


Advertisment

भारत र चीन छिमेकी भएकै कारण नेपाली भूमि अन्य मुलुकका लागि फरक ढंगको संवेदनशीलतासँग जोडिएको छ । विडम्बना के छ भने चीनले नेपालको भूमि आफूविरुद्ध अन्य देशले दुरुपयोग नगरुन् भन्ने प्रतिबद्धता चाहन्छ, तर नेपाली भूमिमा चिनियाँहरूले खुलमखुला अपराधिक क्रियाकलाप गर्दै आएको सत्यबारे चासो दिएको पाइन्न । न त यस विषयमा नेपाली नेता बोल्न नै सकिरहेका छन् ।


Advertisment

नेपाल प्रहरीेले आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा ४२ जना चिनियाँ नागरिक पक्राउ परे । पक्राउ पर्नेहरू संगठित अपराध, ‘कलबाइपास’, अवैध मुद्राको कारोबार, जबर्जस्तीकरणीलगायत अपराधमा संलग्न रहँदै आएका थिए । गलत धन्धामा लागेका कतिपय चिनियाँ नागरिकले नेपाललाई ‘सुन तस्करीको स्वर्णिम भूमि’को रूपमा दुरुपयोग गर्दै आएका छन् ।

केही वर्ष पहिला ८८ किलो सुन तस्करीको नाइके एक चिनियाँ नागरिक ठमेलमा एउटा होटल चलाएर बसेका थिए । चिनियाँले नेपालमा गर्दै आएका दर्जनौं अपराध सम्भवतः बाहिर आउन पाउँदैनन् ।   

कतिपयलाई लाग्न सक्छ, कुनै चिनियाँ नागरिक नेपाल आएर अपराध गर्छ भने त्यसमा चीन सरकारको के दोष ? तर, त्यसो होइन । आफ्ना नागरिक जोडिएका अपराधका घटनाप्रति चीन जिम्मेवार हुनैपर्छ । अर्कातर्फ नेपाल सरकारले पनि चिनियाँ नागरिकद्वारा गरिने आपराधिक क्रियाकलाप रोक्न सशक्त पहल गर्नुपर्ने हुन्छ । र, चीन मात्र होइन, अन्य मुलुकका नागरिकबाट हुँदै आएका आपराधिक घटनामा नियन्त्रणमा पनि यस्तै पहलकदमी आवश्यक छ ।

चीन नेपालको छिमेकी हो, जोसँग ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । चीनसँग नेपालको सीमा जोडिएका १५ वटा जिल्ला छन् । बेलाबखत चीनसँग नेपालको सीमा विवाद चर्चामा आइरहेको हुन्छ । सन् १९६० मा त चीनले सगरमाथामाथि नै दाबी गरेको इतिहास छ । तर, तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको अडानका कारण सगरमाथा नेपालको स्वामित्वमा रहन गएको थियो । नेपालको भूमिलाई फगत ‘सामरिक रूपले रणनीतिक’ जमिनको रूपमा लिँदै आएको चीनसँग नेपालको दुई मात्र प्रमुख व्यापारिक मार्ग (केरुङ र तातोपानी) सञ्चालनमा रहँदै आएको थियो । 

लेखक सुजीव शाक्य आफ्नो पुस्तक, ‘अर्थात् अर्थतन्त्र’मा लेख्नुहुन्छ, वि.सं. १६५६ को मध्यतिर काठमाडौं र तिब्बतबीच एक सन्धि भएको थियो । त्यसले तिब्बतको भारतसँग हुने व्यापारका लागि एउटै मात्र मार्गका रूपमा उपत्यकालाई स्थापित गरिदिएको थियो । तिब्बतको चाँदीको मुद्रा पनि नेपालमै छापिन्थ्यो र बदलामा तिब्बतले चाँदी वा सुन दिनुपर्थ्यो । आज आवतजावतका लागि नेपालीले चिनियाँ पक्षलाई परिचयपत्र पठाई आज्ञा लिनुपर्ने अवस्था छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लोपटक गरेका चीन भ्रमणपश्चात् नेपाल र चीनबीच १४ वटा परम्परागत नाका खोल्ने भनी सहमति कार्यान्वयनमा गएको छ । यी नाकाबाट नेपालले व्यापारिक फाइदा कति लिन सक्छ, त्यो समयक्रमले देखाउने छ ।  

नेपाली भूमिको संवेदनशीलतामाथि ध्यान दिने चिनियाँहरू नेपाल–भारतबीचको खुला सीमाको ऐतिहासिक महत्त्वप्रति असंवेदनशील देखिएका हुन्छन् । झट्ट हेर्दा मधेश प्रदेशमा चिनियाँ उपस्थिति देखिँदैन । तर, गत वर्ष चैत १६ गते नेपालको आर्थिक राजधानी वीरगञ्जबाट तीनजना चिनियाँ नागरिकलाई नेपाल प्रहरीले ‘साइबर’सम्बन्धी अपराधमा पक्राउ गर्‍यो । नेपाल प्रहरीका अनुसार ती चिनियाँ नागरिकले वीरगञ्जमा अवैध तरिकाले एउटा ठूलो ‘कल सेन्टर’ सञ्चालन गरिरहेका थिए । भारतमा निर्वाचन चल्दै गरेको समयमा बोर्डरमा पर्ने वीरगञ्जमा चिनियाँहरूले ‘कलबाइपास’को धन्धा चलाउनुले चिनियाँहरूले नेपाली भूमिको संवेदनशीलताप्रति ख्याल नगरेको प्रस्ट देखिन्छ । 

त्यस्तै, दुई वर्ष पहिला जलेश्वर–भिठ्ठामोड चेकपोस्ट नजिक संदिग्ध अवस्थामा दुई चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकाहरू वित्तीय अपराधमा संलग्न रहेका थिए । समातिएका चिनियाँ नागरिकले उत्तर प्रदेशको नोएडा (सेक्टर–७२) मा ‘लकइन क्लब प्रालि’ नामक रिसोर्टमा ‘ब्रिज चेन टेक्नोलोजी लिमिटेड’ सञ्चालन गर्दै आएको भारतीय पक्षको दाबी छ । उक्त कम्पनी थाइल्यान्ड ठेगाना भएको व्यक्तिले इंग्ल्यान्ड वेल्समा दर्ता गराएका थिए ।

खुला बोर्डरबाट स्थलमार्ग प्रयोग गरी नोएडामा दर्जनौं चिनियाँ नागरिक ‘डिजिटल गेमिङ’ र ‘क्रिप्टो करेन्सी’मार्फत करोडौं रकम बराबरको वित्तीय अपराधमा संलग्न रहेको पाइएको थियो ।

अहिले पक्राउ परेका ती चिनियाँ नागरिक नोएडामै जेलमा छन् । तेस्रो देशका नागरिकबाट भारतसँगको खुला सीमा दुरुपयोग भएको विषयले सीमा क्षेत्रका नेपाली नागरिक पनि प्रभावित हुनुपरेको छ । सदियौंदेखिको नेपाल–भारत खुला बोर्डरको ऐतिहासिकता र पृथकता धुमिल हुँदै गएको छ । केही दशक पहिलासम्म ‘कोर मधेश’मा चिनियाँ परियोजना चलेको रेकर्ड भेटिँदैन । 

वि‍.सं. २०१९ सालमा राजा महेन्द्रले नवलपरासीको गैँडाकोटमा पूर्वपश्चिम राजमार्गको शिलान्यास गर्दा त्यतिबेला चीनले पनि जनकपुरदेखि पूर्व झापासम्म सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला भारत र चीनको लडाई‌ं भर्खर सकिएको थियो ।

चिनियाँ प्राविधिकहरूलाई भारतीय सीमाछेउमा राख्दा सडक निर्माणका साथै तिनीहरूले अरू काम पनि गर्न सक्ने सम्भावना रहन्छ भनी दलिल दिँदै बरु त्यो बाटो हामी नै बनाइदिन्छौं भनी भारतले भनेको स्मरण डा. भेषबहादुर थापाले आफ्नो पुस्तक ‘राष्ट्र–परराष्ट्र’मा गर्नुभएको छ ।

तर, अहिले मधेश प्रदेश अन्तर्गत पर्ने धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडक खण्ड निर्माणको ठेक्का चाइना रेल्वे कम्पनी ग्रुप–२ ले पाएको छ । सन् २०२० मा बन्न शुरू भएको उक्त सडक खण्डमा धिमा कार्यप्रगतिका कारण स्थानीयहरू पटक–पटक आन्दोलित हुनुपरेको छ । 

गत वर्ष मंसिरमा डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनीका साइट इन्चार्ज चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । चुरे सिरानको खुट्टी खोलामा अवैध तरिकाले माटो उत्खनन् गराएका कारण पक्राउ गरिएको थियो । स्थानीय सरकार र प्रशासनमाथि दबदबा बनाएका कारण अहिले पनि अवैध उत्खनन् कार्य रोकिएको छैन ।

मधेश प्रदेशमा केही पहिलासम्म सामान्य राहत सहयोग बाँड्दै आएको चीनले यही मे ९ तारिखमा चिनियाँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’अन्र्तगत महामारी रोकथाम र हरित पुनःस्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय तथा समुदायलाई सहयोग भन्ने विशेष परियोजना अनावरण गरिसकेको छ । यो चीनको बढ्दो सक्रियताका उदाहरण हुन् ।

मधेशमा चिनियाँ गतिविधिले सुरक्षा संवेदनशीलताका नाममा सीमाञ्चल (बोर्डरल्यान्ड)मा बसोबास गर्ने नागरिकमाथि प्रभाव पर्नेछ । त्यसकारण यसबारे नेपाल सरकार पनि संवेदनशील हुनु आवश्यक छ । साथै, नेपालले आफ्नो भूमिमा चिनियाँ नागरिक संलग्न अपराधका शृंखला रोक भन्न सक्नुपर्छ ।

(चौधरी शान्ति, विकास अनुसन्धान केन्द्रसँग आबद्ध छन् ।)

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x