
लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौंले शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाइ युग सुहाउँदो बनाउन धनगढीमा कार्यशाला गोष्ठी गरिएको छ ।
कार्यशालामा शिक्षण पद्धतिमा देखिएका नौला आयाम, संवेदनात्मक चेतनाको विकास, व्यवहारिक जीवनमा शिक्षाको प्रयोगलगायतका विषयमा छलफल गरिएको थियो ।
गोष्ठीमा कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलले शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौती कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
गोष्ठीमा प्रशिक्षकसमेत रहेका डा. पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौती र निराशालाई न्यूनीकरण गर्दै शिक्षकले अध्ययनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनुपर्ने बताउँदै उनले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको ज्ञान हुनुपर्ने बताए ।
‘शिक्षक पेशालाई मर्यादित बनाउन शिक्षक आफैं पनि तनाव मुक्त हुनुपर्छ । कक्षामा शिक्षक तनावमा हुने र विद्यार्थीमा समेत विभिन्न तनाव रहने गरेको पाइएकाले सकारात्मक सिकाई जरुरी रहेको छ,’ उनले भने ।
लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टकी डा. स्मृतिकला पन्तले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक स्वयं जिम्मेवार हुनुपर्ने बताइन् । उनले वर्तमान युग सुहाउँदो शिक्षाको लागि शिक्षक अध्ययनशिल हुनुपर्ने बताइन् ।
छलफल कार्यक्रममा विद्यार्थीलाई सृजनात्मक अभ्यास हुनुपर्ने र शिक्षकले अध्ययन गर्न आवश्यक रहेको सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा लिटल एन्जल्सका +२ का प्रिन्सिपल एवं कार्यक्रम संयोजक कृष्ण अवस्थीले शिक्षण पेशामा देखिएको समस्या र चुनौती निराकरणका लागि छलफल प्रभावकारी भएको हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा धनगढी, अत्तरियाका माध्यमिक तथा क्याम्पसका ४० जना भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कलेजले यसअघि जनकपुरधाम, इटहरी र विराटनगरमा एकदिने कार्यशाला गोष्ठीको सम्पन्न गरेको थियो ।