२९ जेठ २०८३, शुक्रबार
सफल सामुदायिक विद्यालय

प्रविधिसँग जोडिएको सुकुना मावि : विद्यार्थीको लर्को, निजीलाई झर्को

जेठ २६, २०८१
विराटनगर
प्रविधिसँग जोडिएको सुकुना मावि : विद्यार्थीको लर्को, निजीलाई झर्को

विद्यार्थी अभावका कारण धेरै सामुदायिक विद्यालय ‘मर्ज’ भइरहेका छन् । धेरै विद्यालय विद्यार्थी खोज्न घर–घर पुगिरहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएका धेरै उदाहरण धेरै छन् । यसैकारण विद्यार्थी संख्या घटेको मान्न सकिन्छ । 

तर, मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयको अवस्था भने फरक छ । ग्रामीण क्षेत्रमा पर्ने यो विद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी छन् । सामुदायिक विद्यालयका लागि यो निकै ठूलो संख्या हो ।

सुकुना माविको स्थापना विसं २०२९ सालमा अलि फरक ढंगले भएको थियो । गाउँलेहरूले बाँसको टाटीले बारेर विद्यालयको स्थापना गरेका थिए । सुकुना पैनीसँगै जोडिएकाले विद्यालयको नाम पनि सुकुना राखिएको हो । ५२ वर्षको अवधिमा यो विद्यालयले राम्रो फड्को मारेको छ । योसँगै स्थापना भएका विद्यालयहरूका संरचनाबाहेक अन्य परिवर्तन भएनन् । तर यो विद्यालयले भने प्रविधिलाई पनि सँगै जोडेको छ । 

सुकुना माविमा पढ्ने विद्यार्थी विद्यालय गए/नगएको अब घरमै बसेर अभिभावकले थाहा पाउने भएका छन् । विद्यार्थी तोकिएको समयमा विद्यालयमा नआउँदा अभिभावकलाई म्यासेज जाने प्रविधि जडान गरिएको प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए ।

‘विद्यार्थीलाई हामी स्मार्ट कार्ड बाँड्दैछौँ,’ उनले भने, ‘उनीहरू गेटमा प्रवेश गर्दा र निस्कँदा अभिभावकको मोबाइलमा म्यासेज जान्छ ।’ स्मार्ट कार्ड छपाइको काम भइरहेकाले ढिलोमा एक हप्ताभित्रमा प्रयोग गरिने प्रअ बस्नेतले बताए । 

उनका अनुसार विद्यालयको गेटमा स्मार्ट एटेन्डेन्स सिस्टम जडान गरिँदै छ । उक्त सिस्टम सप्टवेयरमा कनेक्ट गराइएको हुन्छ । गेटमा राखिएका दुईवटा एलसीडीले स्मार्ट कार्डको रिड गर्छन् । विद्यार्थीले स्मार्ट कार्ड झुन्ड्याएपछि पाँच मिटर वरपरसम्म रिड गर्नेगरी सिस्टम बनाइएको प्रअ बस्नेतले बताए । विद्यालयले म्यासेज पठाउन नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । यो कार्यान्वयन भएपछि विद्यालय प्रवेशका लागि विद्यार्थीलाई स्मार्ट कार्ड अनिवार्य हुनेछ । 

null

सुकुना माविमा दुई सिफ्टमा पढाइ हुने गरेको छ बिहान र दिउँसो । बिहान पढ्ने विद्यार्थीका लागि कोचिङलगायत अन्य कक्षा दिउँसो अनिवार्य बनाइएको छ । 

सूचना प्रविधिलाई प्राथमिक दिएका कारणले पनि यो विद्यालयलाई सफलता मिलेको सरोकारवालाको भनाइ छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने विद्यालयमा खुला प्रतिस्पर्धा गराएर नै शिक्षक राख्ने गरिएको छ । निजी स्रोतबाट पढाउने शिक्षकलाई पनि राम्रो सेवा सुविधा दिने गरेको विद्यालयले जनाएको छ ।

सरकारी स्रोतबाट तलब खाने ८४ जना मात्रै शिक्षक छन् । ८६ जना शिक्षक भने निजी स्रोतबाट तलब खानेमा पर्छन् । शिक्षक कर्मचारी गरेर हाल १५६ जना यो विद्यालयमा कार्यरत छन् । विद्यालयलाई अभिभावकले  सहयोग गरेका कारणले नै यो सफलता मिलेको शिक्षकहरू बताउँछन् । ३५ वटा कक्षा कोठामा स्मार्ट बोर्डमार्फत पठन–पाठन गर्ने गरिएको छ । अन्य सबै कक्षामा प्रोजेक्ट जडान गरिएको छ ।  शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि शिक्षकहरूलाई तालिम दिने गरिएको छ । । ६३ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

सुकुना माविमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र कानूनको पढाइ हुने गरेको छ । 

विद्यालयले विद्यार्थीलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने गरेको छ । आजकल अधिकांश बच्चामा मोबाइलको लत नै बसेको हुन्छ । मोबाइलको लत नबसोस् भन्न हरेक दिन बेलुका एक घण्टा परिवारका सबै सदस्य बसेर गफगाफ अनिवार्य गर्नु पर्ने नियमसमेत विद्यालयले बनाएको छ । ‘मोबाइलकै कारण परिवारका सदस्यबीच समेत बोलचाल नै नहुने गरेका घटनाहरू प्रष्ट छन्,’ प्रअ बस्नेतले भने ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी समुदाय र घर परिवारमा पनि घुलमिल गर्न सक्ने हुन्छ । मोबाइलको लत धेरै हुँदैन ।’ 

विद्यालय सही सलामत चलेको छ–छैन भन्ने जानकारीका लागि सुकुना माविले अभिभावकलाई विद्यालयमा उपस्थित गराउने नीति लिएको छ । साइन्स ल्याब अन्य विद्यालयहरूको भन्दा राम्रो भएको विद्यालयको दाबी छ । हरेक दुईवटा कक्षाको बीचमा खानेपानीको धारा रहेको छ भने चिसो पानी र तातापानीको फरक–फरक व्यवस्था छ । आठवटा बसबाट विद्यार्थी ल्याइने गरिएको छ । तीमध्ये पाँचवटा विद्यालयकै र तीनवटा हायर गरिएको । 

सुकुना मावि २०७५ सालमा राम्रो नतिजा निकाल्न सफल भएको थियो । राष्ट्रियस्तरमा नै दोस्रो भएको थियो । विद्यार्थीलाई धेरै बोझ बोकाएरभन्दा पनि बुझाएर पढाइएकाले राम्रो नतिजा आएको शिक्षकहरूको भनाइ छ । यहाँ विद्यार्थीलाई पढाइको बोझ बोकाउन नपाइने विद्यालयले नियम नै बनाएको प्रअ बस्नेतले बताए । ‘पठन–पाठनलगायत देखिएका ९० प्रतिशत समस्याको समाधान गर्न विद्यार्थीलाई नै भनेका छौं,’ उनले भने ‘विद्यार्थीले सकेनन् भने हामी आफैँ सघाउँछौँ ।’ शिक्षकसँग ज्ञान छ भनेर शुरूमै समस्यासँग जुध्न नदिई विज्ञता देखाउन नहुने उनको तर्क छ । 

सुकुना माविकै आसपासमा सकुना कलेज रहेको छ । सुकुनाकै कारण निजी विद्यालयहरूलाई  ठूलो असर गरेको छ । निजी विद्यालयमा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी त्यहाँ छोडेर सुकुना माविमा आउन थालेपछि उनीहरूमाथि चुनौती थपिएको हो । यसैले होला निजी विद्यालयका सञ्चालकहरूले यस विद्यालयको खुलेर विरोधसमेत गर्ने गरेका छन् । विरोध गर्दा उनीहरूले गतिलो कारण भने औँल्याउन सकेको पाइँदैन ।  अभिभावककै सहयोगले विद्यालय चलाएर आफ्ना विद्यार्थी तानेको उनीहरूको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्