
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवेशनको निकै चर्चा चल्यो, तर निर्धारित समयभित्र आयोजना गरिएन । अन्ततः महाधिवेशन सम्पन्न भएको सवा दुई वर्षपछि नीति महाधिवेशनले गर्ने कार्य समेत गर्नेगरि महासमिति बैठक आयोजना गरियो । यद्यपि नेतृत्व चयनबाहेकका सबै कार्य गर्ने अधिकार महासमितिलाई छँदै थियो र छ । जेहोस्, महासमितिको बैठक सम्पन्न भयो पनि । र, बैठकमा केन्द्रीय समितिको तर्फबाट पाँचवटा प्रस्ताव प्रस्तुत गरि निर्णय समेत गरियो ।
निर्णय गरेको झण्डै ४ महिना पुग्न लाग्दैछ । कांग्रेसका साथीहरू सोध्छन्– ‘खै त महासमितिको निर्णय ? आखिर के–के निर्णय भएका हुन् ?’ बैठकयता नेपाली राजनीतिमा निकै उथलपुथल भइसकेको छ । तत्कालीन गठबन्धन भत्किएर एमाले सम्मिलित गठबन्धन बन्नुमा महासमिति बैठकले अवगाल समेत झेल्नुपरेको छ । तर, पार्टीका सदस्यहरू बैठकको अन्तिम निर्णयप्रति आजसम्म बेखबर छन् ।
कांग्रेसको महासमिति बैठक पार्टीको आन्तरिक आयोजना भए पनि सार्वजनिक चासोको विषय र पार्टीका सम्पूर्ण सदस्यको साझा मामला थियो र छ । यस यथार्थलाई नजरअन्दाज गर्नुको कारण के हो, आजसम्म बुझ्न सकिएको छैन । आज यसै विषयमा चर्चा गर्नु उपयुक्त र सान्दर्भिक हुनेछ ।
आफ्नो निजी जीवन, घरपरिवार, वैयक्तिक स्वार्थ र खुशी सबै परित्याग गरेर दलविशेषको सदस्य भएका व्यक्तिहरूलाई आफू सदस्य रहेको संस्थाले नै बारम्बार दुर्व्यवहार गर्छ भने त्यो व्यक्तिको मनोदशा कस्तो होला ? सार्वजनिक जीवनमा आफ्नो दल र नेतृत्वमाथि उठ्ने अनगिन्ती पेचिला प्रश्न सामना गरेर बसेको सदस्य आफ्नै संस्थाका विधायिकी गतिविधिबारे बेखबर रहन्छ भने त्यो दल वा संस्था कसरी चलिरहेको होला ? महासमिति भयो र निर्णय पनि गरियो, तर त्यस निर्णयको सार्वजनिकीकरण खै ? के भयो त भनेर आमसदस्यले थाहा पाउनुपर्छ कि पर्दैन ?
यस सन्दर्भमा साथीहरूको प्रश्न उचित र स्वाभाविक पनि छ । अलि टाठाबाठा देखिने साथीहरूलाई 'रंग नम्बर' भन्दिँदा हुन्छ, किनभने महासमितिको निर्णय सार्वजनिक गर्ने ठाउँमा यो पङ्क्तिकार छैन । तर, दूरदराजमा बसेर कांग्रेसको सांगठनिक जीवनलाई मलजल गरिरहेका निर्दोष साथीहरूलाई त पार्टीको जिम्मेवार सदस्यको नाताले चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि हुन्छ । अनि जवाफ दिने कसरी ? कार्यकारी जिम्मेवारीबाहिर बसेका हामीले के भन्ने ? या उच्चपदस्थ नेतागणलाई सोध्नुस् भन्ने ? यो आजको ज्वलन्त प्रश्न हो ।
हामीलाई थाहा छ, कांग्रेसका साधारण सदस्यले त उच्चपदस्थ नेतालाई भेट्न समेत पाउँदैनन् । कथंकदाचित भेटिहाले पनि राम्रोसँग कुरा गर्न पाउँदैनन् । यो रोग पुरानै हो, तर अब झन् यो 'क्रोनिक' रोग बनेको छ । अब यसको उपचार के ? र, कसरी थाहा पाउने त महासमितिको निर्णय ? पार्टीले किन गर्दैन सार्वजनिक ? यसमा के समस्या छ ? निर्णय बाहिर नल्याउने भए किन गरियो महासमिति बैठक ? के अब पनि नीतिविहीनता मै पार्टी चलाउन खोजेको हो ? यसको जवाफ सम्पूर्ण नेतृत्व समूहले कहिलेसम्म दिने ?
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नो आत्मकथा लेखे– 'माई लाइफ' अर्थात् 'मेरो जीवन' । यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पायो र सर्वाधिक बिक्री हुने आत्मकथा बन्यो । त्यस पुस्तक वा त्यस लेखनीको मर्म धेरै गहिरो छ । त्यहाँ उनले समर्पण खण्डमा लेखेका छन्– 'मेरी आमालाई, जसले मलाई जीवनको प्रेम दिनुभयो । हिलारीलाई, जसले प्रेमको जीवन दिइन् । चेल्सीलाई, जसले मलाई खुशी र जीवनको अर्थ दिइन् । र, मेरो हजुरबुवालाई, जसले मलाई अरूले हेपेका मानिसहरूलाई सम्मानको दृष्टिले हेर्न सिकाउनु भयो किनभने हामी धेरै फरक छैनौं अर्थात् एक समान छौं ।' यो भावना निकै गहिरो र प्रगाढ मानवतावादी छ । काला र गोराको चरम विभेद तत्कालीन अमेरिकी समाजमा बिलका हजुरबुवाले उनमा समताको चेत भरिदिनु भयो, जुन प्रेरणाको जगमा उनलाई राष्ट्रपति बन्ने मार्गप्रशस्त भयो । अब बिचार गरौं, हाम्रो समाज कस्तो छ त ? हामी नेपालीहरू शदीयौंदेखि स्वजाति उत्पीडनमा परेका छौं । यस पीडालाई शब्दमा उतार्न सकिँदैन । यसैको पछिल्लो प्रवृत्तिगत संस्करण हो, दलका उच्चपदस्थ व्यक्तिहरूले आमसदस्यलाई हेप्नु । महासमिति बैठकको निर्णय आजसम्म सार्वजनिक नगर्नु भनेको सम्पूर्ण पार्टी सदस्यलाई हेप्नु र अपमानित गर्नु हो ।
नेपालको सर्वाधिक पुरानो लोकतान्त्रिक पार्टीको उच्च बैठकले गरेको निर्णयलाई यति लामो समयसम्म सार्वजनिक नगर्नु पार्टीका लाखौं सदस्यप्रति घोर अपमान हो । यसले पार्टी भनेको हामी केही व्यक्ति हौं, अरूको केही अर्थ छैन र हामीले जे गरे पनि हुन्छ भन्ने अहंकारलाई दर्शाएको छ । र, एउटा शृंखला विकसित हुने खतरा छ । जहाँ सभापतिले पदाधिकारीलाई हेप्ने, पदाधिकारीले केन्द्रीय समितिलाई हेप्ने र सिंगो केन्द्रीय समितिले सम्पूर्ण सदस्यलाई हेप्ने । के पार्टी यही बाटो हिँड्न लागेको हो ? पार्टीका सदस्यहरूले स्पष्ट जवाफ खोजेका छन् ।
यस आलेखमा धेरै विषयमा प्रकाश पार्न सकिँदैन र लेखनको उद्देश्य पनि त्यो होइन । महासमिति बैठकले पार्टीमा सुधार र परिवर्तनको प्रतिबद्धता व्यक्त गरेको थियो । गत फागुन १० पछि पार्टीको चालचलन र व्यवहारमा कुनै परिवर्तन त आएन-आएन, पार्टीका सम्पूर्ण अवयवमध्ये एउटामा पनि सुधार प्रारम्भ गरिएन, किन ? केही नगर्ने भए महासमितिको बैठकबाट निर्णय किन गर्नु ?
आज एउटा भ्रातृ संस्था नेविसंघको मात्र चर्चा गरौं । महासमितिको बैठकले ६ महिनाभित्र संघको महाधिवेशन गराउने भनेको होइन ? त्यो समय बित्न लागेन र ? खै त सुरसार ? हामीले गरेको प्रतिबद्धताविपरीत यतिबेला संघको तदर्थ समिति कायम राख्ने कि विघटन गर्ने भन्ने बहस शुरू भएको छ । के हाम्रो काम यही हो ? समिति गठन गर्ने, गठनको उद्देश्य मुताबिक कुनै काम नगर्ने र पुनः विघटनको बहस शुरू गर्ने सिलसिला आखिर कहिलेसम्म जारी राख्ने ? हाम्रा लागि भ्रातृसंगठनका अधिवेशनहरू किन संकट बन्ने गरेका छन् भन्ने विषयमा खै बहस भएको ? किनभने हामीलाई संगठन व्यवस्थापनको भन्दा सफल गुटबन्दीको कला थाहा छ र हामी यसैमा रमाएका छौं । नेपालको सन्दर्भमा विद्यार्थी संगठन भनेको राजनीतिक दलको आधारशिला हो । एक प्रकारले भन्दा राजनीतिक 'नर्सरी' वा 'ब्याड' हो । पार्टीलाई योग्य र नैतिकवान नेता आपूर्ति गर्ने कारखाना पनि हो ।
दलहरूमा विद्यार्थी राजनीतिबाट उदाएका नेताको बोलवाला छ । अझ नेपाली कांग्रेसमा त दबदबा नै छ । पञ्चायती कालरात्रिको समयमा चेतनशील प्रजातन्त्रवादी तरुण विद्यार्थीलाई संगठित गरेर नेपालमा प्रजातन्त्र पुनःस्थापन गर्ने राजनीतिक आन्दोलनलाई बल पुर्याउन नेविसंघको स्थापना भएको थियो । त्यो उद्देश्य २०४६ सालमा पूरा भयो । त्यसयता २०६२/०६३ मा अझ ठूलो ऐतिहासिक जनआन्दोलन सफल भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरि त्यसको डेढ दशकभन्दा बढी समयमा व्यतीत पनि भैसकेको छ । त्यसो भए के अब विद्यार्थी आन्दोलनको औचित्य सिध्दिएको हो ? यदि त्यसो हो भने नेविसंघको उपयोगिता के ? किन राख्ने यसलाई ? यदि कायम राख्ने कुनै कारण छ भने कलिला विद्यार्थीहरूको भविष्यमाथि किन खेलबाड ? हाम्रो दायित्व नयाँ पुस्तालाई रचनात्मक बाटो देखाउने होइन र ? पुरानो पुस्ताले देखाएको बाटोमा हिँड्नाले हामीले जनअधिकार स्थापना र पुनःस्थापनाको संघर्षमा बारम्बार सफलता हासिल गरेको हो । अग्रजहरूबाट संघर्ष, त्याग, बलिदानको शिक्षा र प्रेरणा नपाएको भए हाम्रो पुस्ताले अझैसम्म राजनीतिक र सामाजिक विभेद झेलिरहेको हुन्थ्यो । यस ऐतिहासिक यथार्थलाई मनन गरी हामीले नयाँ पुस्तालाई रचनात्मक बाटो हिँड्न उत्प्रेरित गर्नुपर्ने होइन र ? हामी पछि देशका लागि हामीभन्दा सुयोग्य जनशक्ति तयार गर्ने दायित्व हाम्रै होइन र ? वर्तमान यथार्थ त त्यस्तो देखिँदैन ।
यस सन्दर्भमा प्रख्यात अमेरिकी शिक्षाविद् जोन हल्टको भनाइ मननीय छ । उनी भन्छन्– 'हामीले नयाँ पुस्तालाई तीनवटा कुरा सिकाउनु पर्छ । एक, हाम्रो गौरवशाली परम्परा र संस्कृति अर्थात् हामी को हौं र हाम्रो पहिचान के हो ? दोस्रो, हाम्रो वरिपरिको वातावरण र चुनौतीहरू । तेस्रो, भविष्यमा सफल हुन कस्तो तयारी गर्ने ?' के हामी नयाँ पुस्तालाई यी कुरा बताइरहेका या सिकाइरहेका छौं त ? पटक्कै छैनौं । एउटा नयाँ पुस्ताका किशोरकिशोरी कहाँ भौँतारिँदैछन्, हामीलाई मतलब छैन । घरको बार्दलीमा बसेर बिहानै आफ्नो आँगनमा आएका तरुणहरूको टाउको गनेर गुटको हिसाब निकाल्दैमा हामीलाई फुर्सद छैन । देशको अवस्था भताभुङ्ग छ । पार्टीहरू लथालिङ्ग छन् । सरकार गैरजिम्मेवार छ । प्रधानमन्त्रीलाई आफ्नो पदको मात्र चिन्ता छ । राज्यका अङ्गहरू दायित्वच्युत छन् । यस्तो बेलामा हामी आगामी चुनौतीबारे बेखबर छौं । र, दलका भ्रातृ संस्थाको हिसाब गरेर पार्टी एवं राज्यको पद हत्याउने सपना देखिरहेका छौं । यो निकै गैरजिम्मेवार प्रवृत्ति हो । यसबाट मुक्त हुने कहिले ?
संसारले गरेको उन्नति र प्रगति देखेका नयाँ पुस्ताका साथीहरूको ताल देखेर पनि कहिलेकाहीँ बडो ताजुब र उदेक लाग्छ । नेपालीमा केही चर्चित उखानहरू छन्, 'लाग्ने खुकुरी बिँडबाट चिनिन्छ, कोदो खाने कुकुर लिँडबाट चिनिन्छ' । 'वनको काँडालाई तिखार्नु पर्दैन' । 'हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात' । यी उखानहरूले धेरै संकेत गरेका छन् । उमेर, योग्यता र उर्जा भए पनि होश भएन भने यस्तै हुन्छ शायद ।
आजकलका तन्नेरीहरू आफ्नो सम्पूर्ण दैनिकी छाडेर नेताको बैठक धाउने र त्यहाँ अर्को नेतालाई गाली गरेर आफ्नो अंक बढाउने सनातन रुढीवादी कर्ममा व्यस्त देखिन्छन् । यो सर्वनासको बाटो हो र दलहरूले हुर्काएको दासत्व पनि हो । नयाँ पुस्तामा त यो रोग झन् डरलाग्दो गरि झाँगिएको छ । यस राजनीतिक व्यापारमा पुरानो पुस्ताले अपार सफलता हासिल गरेको छ । तसर्थ, नेविसंघका साथीहरूले समयमै बुझ्नुपर्छ कि परमुखापेक्षी भएर बस्ने कि आफ्नो दायित्व र कर्तव्यप्रति सचेत हुने ? आफूलाई सुम्पेको कार्य र जिम्मेवारी पूरा नगर्ने हो भने नयाँ पुस्ताको क्रान्तिकारिताको के अर्थ ? समस्या थाहा छ, त्यसको कारण थाहा छ र समाधान पनि थाहा छ भने त्यस बाटोमा हिँड्न केले रोक्यो ? तर, विडम्बना ! नयाँ पुस्ता लगभग कर्तव्यच्युतजस्तै छ ।
त्यसैले यतिबेला नेपाली कांग्रेसका साथीहरू पार्टीभित्रको अव्यवस्थाको अन्त्य चाहन्छन् । संस्थागतरूपमा भएका निर्णयहरूको कार्यान्वयन चाहन्छन् । महासमिति जस्तो उच्च निकायको निर्णयलाई सुन्न र थाहा पाउन चाहन्छन् । र, कम्तीमा पार्टीको प्रमुख मेरुदण्डको रूपमा रहेको भ्रातृसंगठन नेविसंघको महाधिवेशन चाहन्छन् । यसका लागि पार्टी र स्वयं नेविसंघका साथीहरूको अग्रसरता चाहन्छन् । हुन त यतिबेला कांग्रेसभित्र देशका जल्दाबल्दा मुद्दा र आफ्ना प्रमुख चुनौतीहरूका विषयमा गम्भीर बहस हुन छाडेको छ । पार्टी र सरकार दुवैतिर चाहेको बेला चाहेको पदमा पुग्न सक्ने हैसियत भएका नेतागणका प्राथमिकता एकदमै फरक र नितान्त निजी छन् । अनि कसरी होला देश र पार्टीका साझा विषयमा बहस ? तथापि आजको प्रमुख समस्या र चिन्ता यही हो ।