×

कांग्रेसमा चरम अव्यवस्था

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

काठमाडाैं | जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवेशनको निकै चर्चा चल्यो, तर निर्धारित समयभित्र आयोजना गरिएन । अन्ततः महाधिवेशन सम्पन्न भएको सवा दुई वर्षपछि नीति महाधिवेशनले गर्ने कार्य समेत गर्नेगरि महासमिति बैठक आयोजना गरियो । यद्यपि नेतृत्व चयनबाहेकका सबै कार्य गर्ने अधिकार महासमितिलाई छँदै थियो र छ । जेहोस्, महासमितिको बैठक सम्पन्न भयो पनि । र, बैठकमा केन्द्रीय समितिको तर्फबाट पाँचवटा प्रस्ताव प्रस्तुत गरि निर्णय समेत गरियो ।

निर्णय गरेको झण्डै ४ महिना पुग्न लाग्दैछ । कांग्रेसका साथीहरू सोध्छन्– ‘खै त महासमितिको निर्णय ? आखिर के–के निर्णय भएका हुन् ?’ बैठकयता नेपाली राजनीतिमा निकै उथलपुथल भइसकेको छ । तत्कालीन गठबन्धन भत्किएर एमाले सम्मिलित गठबन्धन बन्नुमा महासमिति बैठकले अवगाल समेत झेल्नुपरेको छ । तर, पार्टीका सदस्यहरू बैठकको अन्तिम निर्णयप्रति आजसम्म बेखबर छन् ।


Advertisment

कांग्रेसको महासमिति बैठक पार्टीको आन्तरिक आयोजना भए पनि सार्वजनिक चासोको विषय र पार्टीका सम्पूर्ण सदस्यको साझा मामला थियो र छ । यस यथार्थलाई नजरअन्दाज गर्नुको कारण के हो, आजसम्म बुझ्न सकिएको छैन । आज यसै विषयमा चर्चा गर्नु उपयुक्त र सान्दर्भिक हुनेछ ।


Advertisment

आफ्नो निजी जीवन, घरपरिवार, वैयक्तिक स्वार्थ र खुशी सबै परित्याग गरेर दलविशेषको सदस्य भएका व्यक्तिहरूलाई आफू सदस्य रहेको संस्थाले नै बारम्बार दुर्व्यवहार गर्छ भने त्यो व्यक्तिको मनोदशा कस्तो होला ? सार्वजनिक जीवनमा आफ्नो दल र नेतृत्वमाथि उठ्ने अनगिन्ती पेचिला प्रश्न सामना गरेर बसेको सदस्य आफ्नै संस्थाका विधायिकी गतिविधिबारे बेखबर रहन्छ भने त्यो दल वा संस्था कसरी चलिरहेको होला ? महासमिति भयो र निर्णय पनि गरियो, तर त्यस निर्णयको सार्वजनिकीकरण खै ? के भयो त भनेर आमसदस्यले थाहा पाउनुपर्छ कि पर्दैन ?

यस सन्दर्भमा साथीहरूको प्रश्न उचित र स्वाभाविक पनि छ । अलि टाठाबाठा देखिने साथीहरूलाई 'रंग नम्बर' भन्दिँदा हुन्छ, किनभने महासमितिको निर्णय सार्वजनिक गर्ने ठाउँमा यो पङ्क्तिकार छैन । तर, दूरदराजमा बसेर कांग्रेसको सांगठनिक जीवनलाई मलजल गरिरहेका निर्दोष साथीहरूलाई त पार्टीको जिम्मेवार सदस्यको नाताले चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि हुन्छ । अनि जवाफ दिने कसरी ? कार्यकारी जिम्मेवारीबाहिर बसेका हामीले के भन्ने ? या उच्चपदस्थ नेतागणलाई सोध्नुस् भन्ने ? यो आजको ज्वलन्त प्रश्न हो ।

हामीलाई थाहा छ, कांग्रेसका साधारण सदस्यले त उच्चपदस्थ नेतालाई भेट्न समेत पाउँदैनन् । कथंकदाचित भेटिहाले पनि राम्रोसँग कुरा गर्न पाउँदैनन् । यो रोग पुरानै हो, तर अब झन् यो 'क्रोनिक' रोग बनेको छ । अब यसको उपचार के ? र, कसरी थाहा पाउने त महासमितिको निर्णय ? पार्टीले किन गर्दैन सार्वजनिक ? यसमा के समस्या छ ? निर्णय बाहिर नल्याउने भए किन गरियो महासमिति बैठक ? के अब पनि नीतिविहीनता मै पार्टी चलाउन खोजेको हो ? यसको जवाफ सम्पूर्ण नेतृत्व समूहले कहिलेसम्म दिने ?

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नो आत्मकथा लेखे– 'माई लाइफ' अर्थात् 'मेरो जीवन' । यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पायो र सर्वाधिक बिक्री हुने आत्मकथा बन्यो । त्यस पुस्तक वा त्यस लेखनीको मर्म धेरै गहिरो छ । त्यहाँ उनले समर्पण खण्डमा लेखेका छन्– 'मेरी आमालाई, जसले मलाई जीवनको प्रेम दिनुभयो । हिलारीलाई, जसले प्रेमको जीवन दिइन् । चेल्सीलाई, जसले मलाई खुशी र जीवनको अर्थ दिइन् । र, मेरो हजुरबुवालाई, जसले मलाई अरूले हेपेका मानिसहरूलाई सम्मानको दृष्टिले हेर्न सिकाउनु भयो किनभने हामी धेरै फरक छैनौं अर्थात् एक समान छौं ।' यो भावना निकै गहिरो र प्रगाढ मानवतावादी छ । काला र गोराको चरम विभेद तत्कालीन अमेरिकी समाजमा बिलका हजुरबुवाले उनमा समताको चेत भरिदिनु भयो, जुन प्रेरणाको जगमा उनलाई राष्ट्रपति बन्ने मार्गप्रशस्त भयो । अब बिचार गरौं, हाम्रो समाज कस्तो छ त ? हामी नेपालीहरू शदीयौंदेखि स्वजाति उत्पीडनमा परेका छौं । यस पीडालाई शब्दमा उतार्न सकिँदैन । यसैको पछिल्लो प्रवृत्तिगत संस्करण हो, दलका उच्चपदस्थ व्यक्तिहरूले आमसदस्यलाई हेप्नु । महासमिति बैठकको निर्णय आजसम्म सार्वजनिक नगर्नु भनेको सम्पूर्ण पार्टी सदस्यलाई हेप्नु र अपमानित गर्नु हो ।

नेपालको सर्वाधिक पुरानो लोकतान्त्रिक पार्टीको उच्च बैठकले गरेको निर्णयलाई यति लामो समयसम्म सार्वजनिक नगर्नु पार्टीका लाखौं सदस्यप्रति घोर अपमान हो । यसले पार्टी भनेको हामी केही व्यक्ति हौं, अरूको केही अर्थ छैन र हामीले जे गरे पनि हुन्छ भन्ने अहंकारलाई दर्शाएको छ ।

नेपालको सर्वाधिक पुरानो लोकतान्त्रिक पार्टीको उच्च बैठकले गरेको निर्णयलाई यति लामो समयसम्म सार्वजनिक नगर्नु पार्टीका लाखौं सदस्यप्रति घोर अपमान हो । यसले पार्टी भनेको हामी केही व्यक्ति हौं, अरूको केही अर्थ छैन र हामीले जे गरे पनि हुन्छ भन्ने अहंकारलाई दर्शाएको छ । र, एउटा शृंखला विकसित हुने खतरा छ । जहाँ सभापतिले पदाधिकारीलाई हेप्ने, पदाधिकारीले केन्द्रीय समितिलाई हेप्ने र सिंगो केन्द्रीय समितिले सम्पूर्ण सदस्यलाई हेप्ने । के पार्टी यही बाटो हिँड्न लागेको हो ? पार्टीका सदस्यहरूले स्पष्ट जवाफ खोजेका छन् ।

यस आलेखमा धेरै विषयमा प्रकाश पार्न सकिँदैन र लेखनको उद्देश्य पनि त्यो होइन । महासमिति बैठकले पार्टीमा सुधार र परिवर्तनको प्रतिबद्धता व्यक्त गरेको थियो । गत फागुन १० पछि पार्टीको चालचलन र व्यवहारमा कुनै परिवर्तन त आएन-आएन, पार्टीका सम्पूर्ण अवयवमध्ये एउटामा पनि सुधार प्रारम्भ गरिएन, किन ? केही नगर्ने भए महासमितिको बैठकबाट निर्णय किन गर्नु ?

आज एउटा भ्रातृ संस्था नेविसंघको मात्र चर्चा गरौं । महासमितिको बैठकले ६ महिनाभित्र संघको महाधिवेशन गराउने भनेको होइन ? त्यो समय बित्न लागेन र ? खै त सुरसार ? हामीले गरेको प्रतिबद्धताविपरीत यतिबेला संघको तदर्थ समिति कायम राख्ने कि विघटन गर्ने भन्ने बहस शुरू भएको छ । के हाम्रो काम यही हो ? समिति गठन गर्ने, गठनको उद्देश्य मुताबिक कुनै काम नगर्ने र पुनः विघटनको बहस शुरू गर्ने सिलसिला आखिर कहिलेसम्म जारी राख्ने ? हाम्रा लागि भ्रातृसंगठनका अधिवेशनहरू किन संकट बन्ने गरेका छन् भन्ने विषयमा खै बहस भएको ? किनभने हामीलाई संगठन व्यवस्थापनको भन्दा सफल गुटबन्दीको कला थाहा छ र हामी यसैमा रमाएका छौं । नेपालको सन्दर्भमा विद्यार्थी संगठन भनेको राजनीतिक दलको आधारशिला हो । एक प्रकारले भन्दा राजनीतिक 'नर्सरी' वा 'ब्याड' हो । पार्टीलाई योग्य र नैतिकवान नेता आपूर्ति गर्ने कारखाना पनि हो ।

दलहरूमा विद्यार्थी राजनीतिबाट उदाएका नेताको बोलवाला छ । अझ नेपाली कांग्रेसमा त दबदबा नै छ । पञ्चायती कालरात्रिको समयमा चेतनशील प्रजातन्त्रवादी तरुण विद्यार्थीलाई संगठित गरेर नेपालमा प्रजातन्त्र पुनःस्थापन गर्ने राजनीतिक आन्दोलनलाई बल पुर्‍याउन नेविसंघको स्थापना भएको थियो । त्यो उद्देश्य २०४६ सालमा पूरा भयो । त्यसयता २०६२/०६३ मा अझ ठूलो ऐतिहासिक जनआन्दोलन सफल भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरि त्यसको डेढ दशकभन्दा बढी समयमा व्यतीत पनि भैसकेको छ । त्यसो भए के अब विद्यार्थी आन्दोलनको औचित्य सिध्दिएको हो ? यदि त्यसो हो भने नेविसंघको उपयोगिता के ? किन राख्ने यसलाई ? यदि कायम राख्ने कुनै कारण छ भने कलिला विद्यार्थीहरूको भविष्यमाथि किन खेलबाड ? हाम्रो दायित्व नयाँ पुस्तालाई रचनात्मक बाटो देखाउने होइन र ? पुरानो पुस्ताले देखाएको बाटोमा हिँड्नाले हामीले जनअधिकार स्थापना र पुनःस्थापनाको संघर्षमा बारम्बार सफलता हासिल गरेको हो । अग्रजहरूबाट संघर्ष, त्याग, बलिदानको शिक्षा र प्रेरणा नपाएको भए हाम्रो पुस्ताले अझैसम्म राजनीतिक र सामाजिक विभेद झेलिरहेको हुन्थ्यो । यस ऐतिहासिक यथार्थलाई मनन गरी हामीले नयाँ पुस्तालाई रचनात्मक बाटो हिँड्न उत्प्रेरित गर्नुपर्ने होइन र ? हामी पछि देशका लागि हामीभन्दा सुयोग्य जनशक्ति तयार गर्ने दायित्व हाम्रै होइन र ? वर्तमान यथार्थ त त्यस्तो देखिँदैन ।

यस सन्दर्भमा प्रख्यात अमेरिकी शिक्षाविद् जोन हल्टको भनाइ मननीय छ । उनी भन्छन्– 'हामीले नयाँ पुस्तालाई तीनवटा कुरा सिकाउनु पर्छ । एक, हाम्रो गौरवशाली परम्परा र संस्कृति अर्थात् हामी को हौं र हाम्रो पहिचान के हो ? दोस्रो, हाम्रो वरिपरिको वातावरण र चुनौतीहरू । तेस्रो, भविष्यमा सफल हुन कस्तो तयारी गर्ने ?' के हामी नयाँ पुस्तालाई यी कुरा बताइरहेका या सिकाइरहेका छौं त ? पटक्कै छैनौं । एउटा नयाँ पुस्ताका किशोरकिशोरी कहाँ भौँतारिँदैछन्, हामीलाई मतलब छैन । घरको बार्दलीमा बसेर बिहानै आफ्नो आँगनमा आएका तरुणहरूको टाउको गनेर गुटको हिसाब निकाल्दैमा हामीलाई फुर्सद छैन । देशको अवस्था भताभुङ्ग छ । पार्टीहरू लथालिङ्ग छन् । सरकार गैरजिम्मेवार छ । प्रधानमन्त्रीलाई आफ्नो पदको मात्र चिन्ता छ । राज्यका अङ्गहरू दायित्वच्युत छन् । यस्तो बेलामा हामी आगामी चुनौतीबारे बेखबर छौं । र, दलका भ्रातृ संस्थाको हिसाब गरेर पार्टी एवं राज्यको पद हत्याउने सपना देखिरहेका छौं । यो निकै गैरजिम्मेवार प्रवृत्ति हो । यसबाट मुक्त हुने कहिले ?

संसारले गरेको उन्नति र प्रगति देखेका नयाँ पुस्ताका साथीहरूको ताल देखेर पनि कहिलेकाहीँ बडो ताजुब र उदेक लाग्छ । नेपालीमा केही चर्चित उखानहरू छन्, 'लाग्ने खुकुरी बिँडबाट चिनिन्छ, कोदो खाने कुकुर लिँडबाट चिनिन्छ' । 'वनको काँडालाई तिखार्नु पर्दैन' । 'हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात' । यी उखानहरूले धेरै संकेत गरेका छन् । उमेर, योग्यता र उर्जा भए पनि होश भएन भने यस्तै हुन्छ शायद ।

आजकलका तन्नेरीहरू आफ्नो सम्पूर्ण दैनिकी छाडेर नेताको बैठक धाउने र त्यहाँ अर्को नेतालाई गाली गरेर आफ्नो अंक बढाउने सनातन रुढीवादी कर्ममा व्यस्त देखिन्छन् । यो सर्वनासको बाटो हो र दलहरूले हुर्काएको दासत्व पनि हो । नयाँ पुस्तामा यो रोग डरलाग्दो गरि झाँगिएको छ ।

आजकलका तन्नेरीहरू आफ्नो सम्पूर्ण दैनिकी छाडेर नेताको बैठक धाउने र त्यहाँ अर्को नेतालाई गाली गरेर आफ्नो अंक बढाउने सनातन रुढीवादी कर्ममा व्यस्त देखिन्छन् । यो सर्वनासको बाटो हो र दलहरूले हुर्काएको दासत्व पनि हो । नयाँ पुस्तामा त यो रोग झन् डरलाग्दो गरि झाँगिएको छ । यस राजनीतिक व्यापारमा पुरानो पुस्ताले अपार सफलता हासिल गरेको छ । तसर्थ, नेविसंघका साथीहरूले समयमै बुझ्नुपर्छ कि परमुखापेक्षी भएर बस्ने कि आफ्नो दायित्व र कर्तव्यप्रति सचेत हुने ? आफूलाई सुम्पेको कार्य र जिम्मेवारी पूरा नगर्ने हो भने नयाँ पुस्ताको क्रान्तिकारिताको के अर्थ ? समस्या थाहा छ, त्यसको कारण थाहा छ र समाधान पनि थाहा छ भने त्यस बाटोमा हिँड्न केले रोक्यो ? तर, विडम्बना ! नयाँ पुस्ता लगभग कर्तव्यच्युतजस्तै छ ।

त्यसैले यतिबेला नेपाली कांग्रेसका साथीहरू पार्टीभित्रको अव्यवस्थाको अन्त्य चाहन्छन् । संस्थागतरूपमा भएका निर्णयहरूको कार्यान्वयन चाहन्छन् । महासमिति जस्तो उच्च निकायको निर्णयलाई सुन्न र थाहा पाउन चाहन्छन् । र, कम्तीमा पार्टीको प्रमुख मेरुदण्डको रूपमा रहेको भ्रातृसंगठन नेविसंघको महाधिवेशन चाहन्छन् । यसका लागि पार्टी र स्वयं नेविसंघका साथीहरूको अग्रसरता चाहन्छन् । हुन त यतिबेला कांग्रेसभित्र देशका जल्दाबल्दा मुद्दा र आफ्ना प्रमुख चुनौतीहरूका विषयमा गम्भीर बहस हुन छाडेको छ । पार्टी र सरकार दुवैतिर चाहेको बेला चाहेको पदमा पुग्न सक्ने हैसियत भएका नेतागणका प्राथमिकता एकदमै फरक र नितान्त निजी छन् । अनि कसरी होला देश र पार्टीका साझा विषयमा बहस ? तथापि आजको प्रमुख समस्या र चिन्ता यही हो ।

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x