२१ असार २०८३, आइतबार

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढे, डोटीमा सबैभन्दा धेरै

असार ५, २०८१
कञ्चनपुर
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढे, डोटीमा सबैभन्दा धेरै

सुदूरपश्चिमका पहाडी जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । तराईमा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको हो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघयता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटीमा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए ।

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुई जनामा सङ्क्रमण देखिएको छ । 'पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ,' जोशीले भने, 'अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।' 

उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ ।

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्