
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले पोखरामा योग प्रदर्शनको आयोजना गरेको छ ।

योग दिवसको १० औं संस्करण मनाउन फेवातालको किनारामा बुधवार सयौंको संख्यामा मानिस जम्मा भएका थिए ।

कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले योगाभ्यासको कार्यक्रम आयोजना गरिएको भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

‘विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधि प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको श्रृङ्खलासँगै बिहान सबेरैबाट शुरू भएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै सहभागीलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाबारे जानकारी दिइएको थियो ।’

यसैबीच भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको छ । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्राध्यापक प्रेमनारायण अर्यालले योग प्रदर्शन र स्वास्थ्य परामर्शको आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिएका थिए । साथै उनले विचारशील र स्वस्थ जीवन जिउन योगका फाइदा खोज्न सहभागी विद्यार्थीलाई प्रोत्साहितसमेत गरे ।
सो अवसरमा योग प्रशिक्षकहरूले योगका फाइदा र दैनिक जीवनमा यसका व्यावहारिक उपयोगिताबारे व्याख्या गरेका थिए ।

कार्यक्रमबाट पोखरा विश्वविद्यालयका विद्यार्थी तथा विभिन्न मानिस लाभान्वित भएको भारतीय दूतावासले जनाएको छ ।