
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवादमा आफूहरूले बेलायतको मध्यस्थता नखोजेको दाबी गरेका छन् ।
भारत भ्रमणको अन्तिम दिन आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा खनालले प्रधानमन्त्रीको आशय मध्यस्थताका लागि नभएको बताए ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनलाई लिएर गरिएको प्रश्नमा खनालले यस्तो दाबी गरेका हुन् । 'प्रधानमन्त्रीको आशय त्यस्तो होइन । हामीले यूकेका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने दस्तावेजहरूमा हाम्रो पहुँच हुन सक्छ कि भन्ने हिसाबले मात्र कुरा गरेका हौं, मध्यस्थता खोजेका होइनौं,' खनालले भने ।
उनले सीमा विवादलाई नेपाल-भारत दुईपक्षीय संवादबाटै समाधान गर्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको बताए ।
यसअघि प्रतिनिधिसभामा सांसदहरूसँगको आकस्मिक प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेनले सीमा विवादबारे इंग्ल्यान्ड (बेलायत)सँग पनि कुरा गरेको बताएका थिए ।
सोही क्रममा उनले नेपालले भारतको भूमि मिचेको पाइएको अभिव्यक्ति समेत दिएका थिए ।
त्यस विषयमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले कसैको मध्यस्थता स्वीकार्य नहुने बताएका थिए ।