०७ साउन २०८३, बिहीबार

शिक्षा विधेयक मैले अड्काएको छैन : शिक्षामन्त्री

असार ९, २०८१
काठमाडौं
शिक्षा विधेयक मैले अड्काएको छैन : शिक्षामन्त्री

शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक आफूले नअड्काएको बताएकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा आइतबार बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयक सरकारको तहमा नअड्केको बताएकी हुन् । 

‘शिक्षा विधेयकका विषयमा तीन हप्ता अगाडि ध्यानाकर्षण पत्र दिनुभएको थियो । यो विषयमा जनताको आवाज बोलिएको छ । यसमा शक्ति पृथकीकरणको सिद्धान्त पनि हेरिनुपर्छ भन्न चाहन्छु,’ उनले भनिन्, ‘रोष्ट्रममार्फत शिक्षा विधेयकका बारेमा भन्न चाहन्छु यो मन्त्रालय, सरकार र मेरो मातहतमा अड्किएको छैन । सदनमार्फत समितिमा गएको छ ।’

विधेयक ल्याएर बुझाउने कार्य भइसकेको भन्दै उनले यसलाई अगाडि बढाउन संसद्ले काम गर्नुपर्ने बताइन् ।

‘मन्त्रालयको काम विधेयक बनाएर बुझाउने हो । यो काम भइसक्यो । हरेक दफा पुनर्लेखन मन्त्रालयको होइन,’ उनले भनिन्, ‘विधेयकको विषयमा हरेक प्रदेशमा गएर छलफल गर्ने निर्णय भएको थियो । यसलाई अगाडि बढाउन मौखिक र लिखित रुपमा निर्देशन दिइसकेको छु ।’

शिक्षासम्बन्धी नियमावलीमा एकरूपता नभएको र प्रष्ट निर्देशिका नहुँदा शिक्षक सरुवालगायतका विषयमा प्रभावकारी काम नभएको उनले बताइन् । 

ऐनले हरेक ५ वर्षमा सरुवा गर भने पनि नभएपछि निर्देशिका बनाएर अनलाइनमार्फत व्यवस्थित गर्न खोज्दा अनावश्यक विवाद ल्याइएको उनले बताइन् । 

कमेन्ट गर्नुहोस्