
वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी घर भइ काठमाडौं कीर्तिपुर बस्ने केशवराज जोशी छन् ।
जोशीले ६ जना व्यक्तिलाई माल्टामा आकर्षक तलब हुने भन्दै रकम लिएका थिए । साथै उनले कतार पुर्याएर ठगी गरेको पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरू कतार पुगेपछि नक्कली भिसा भएको पुष्टि भएको थियो ।
त्यसपछि कतारको अध्यागमन विभागले उनीहरूलाई केही समय हिरासतमा राखेर नेपाल डिपोट गरेको थियो ।
पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले अनुसन्धान कार्यालयलाई जोशी पक्राउ गर्न पत्र पठाएको थियो ।
उनलाई पक्राउ गरेर अनुसन्धान कार्यालयले विभागनै पठाइदिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार अब विभागबाटै जोशीमाथि अनुसन्धान र कारबाही हुन्छ ।