१३ असार २०८३, शनिबार
घरेलु उद्योग

‘डबल डिग्री होल्डर’ वासुदेवको ‘पात क्रान्ति’: प्लास्टिकको विकल्पमा सालको टपरी

असार १५, २०८१
बुटवल
‘डबल डिग्री होल्डर’ वासुदेवको ‘पात क्रान्ति’: प्लास्टिकको विकल्पमा सालको टपरी
बुवा सञ्जयसँग वासुदेव (बायाँ) ।

नवलपुरको कावासोती डण्डाका सञ्जय गिरीले आफ्नो १० कठ्ठा धानखेत बेचेर दुना टपरी बनाउने उद्योग खोले । साढे दुई दशकअघि पूर्वी नवलपरासीमा खोलिएको टपरी उत्पादन गरेर सञ्जयलाई गाउँलेले ‘टपरे’ उपमा दिन थालिनसक्दै उद्योग चुलुम्बै डुब्यो । 

सञ्चालनमा ल्याएको तीन वर्ष नपुग्दै उद्योग चल्न नसके पनि उनले हार खाएनन् । फेरि त्यहीँ टपरी उद्योग नै सञ्चालन गर्ने निधो गरे ।  तर, बजारले कस्तो उत्पादन खोजेको छ, त्यो भने अध्ययन गरेर मात्रै शुरू गर्ने तयारीमा जुटे ।  यसका लागि सञ्जयले छोरा वासुदेवलाई अघि सारे । किनकि वासुदेव व्यवस्थापनमै स्नातकोत्तर गरेका एक शिक्षित युवा थिए । 

null

सबथोक ठीकठाक भएपछि वि. स. २०६० मा पुनः पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डा बजारमा इन्द्रदेव दुना–टपरी उद्योग दर्ता गरी व्यवसाय शुरू भयो । अहिले दैनिक एक लाखको संख्यामा सालका पातको दुना, टपरी र कचौरा उत्पादन भइरहेको र सो बजारमा पनि खपत भइरहेको वासुदेव बताउँछन् । 

‘ग्राहकको प्रतिक्रिया बुझेर बजारमा उत्पादन लैजाँदा उद्योग चल्यो,’ उनी भन्छन्, ‘टपरी उत्पादन गर्ने मशिन पनि म आफैं ‘बेल्डिङ’ गरेँ । अहिले हाम्रो उत्पादन देशभरदेखि अन्तर्राष्ट्रिय  ‘एक्स्पो’सम्ममा पनि जान्छ । सालका पातको दुना, टपरी, कचौरा दैनिक एक लाख उत्पादन गरी बजारमा खपत भइरहेको छ ।’ 
 
दुना, टपरी र कचौरा (प्लेट)को उत्पादन विदेशबाट ल्याएको पुरानो मशिनबाट नभएर वासुदेव आफैँले बनाएको ‘एसेम्बल’ मशिनबाट हुन्छ । दुना–टपरीलाई सुख्खा बनाउनेलगायत काममा वासुदेव आफैँ खटिन्छन् ।  

‘वनमा त्यसै खेर जाने कच्चापदार्थ उपयोग भएका छन् । यसको प्रयोगले वातावरण प्रदूषण हुनबाट केही हदसम्म भए पनि बचाएको छ । साथै भारतबाट खरिद गर्दा जाने पैसा स्वदेशमै रोकिएको छ,’ उनले भने ।  

उद्योगबाट उत्पादित दुना–टपरीले भोजभतेर, पूजाआजा र सार्वजनिक कार्यक्रममा हुने प्लास्टिकका सामग्रीको खपतलाई घटाएको छ । वासुदेवले उत्पादन गरेका दुना–टपरीको गुणस्तर परीक्षणका लागि युरोपका ६ देशमा पठाइएको थियो । सबैतिरका प्रयोगशालामा परीक्षण गर्दा स्वास्थ्यलाई कुनै हानी नगर्ने प्रमाणपत्र प्राप्त भएको उनले बताए ।

दुना–टपरीको अर्डर वि. सं २०७५ देखि विदेशबाट पनि आउने गरेको वासुदेवले बताए । उनका अनुसार युरोपका विभिन्न देशमा अर्डर हुने गरेको छ ।

null

अहिले उद्योगसँग करिब एक हजार ग्रामीण महिला जोडिएका छन् । उनीहरूले उद्योगका लागि कच्चापदार्थ जुटाउँछन् । सात प्रायः तराई र भित्री मधेशका अधिकांश वनमा पाइन्छ । त्यही सालको पात टिपेर महिलाहरूले उद्योगलाई बिक्री गर्छन् । कावासोती, मध्यविन्दु, हुप्सीकोट र विनयत्रिवेणी गाउँपालिकाका महिलाहरूले जंगलबाट सालको पात टिपेर ल्याउँछन् र बेच्छन् । जसबाट महिलाहरूले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले वनमा घाँस–दाउरा गर्न जाँदा सँगै पात पनि टिपेर ल्याउने गरेका छन् । 

उद्योग बाह्रै महिना चल्छ । ती महिलाहरूले कम्तीमा १० महिना काम पाउँछन् । घरको सबै काम सकेर अतिरिक्त कमाइ गर्न पाउँदा गृहिणी महिलाहरू सुखी हुने गरेको वासुदेव बताउँछन् । 


‘उनीहरूले वनका हरियो पात टिपेर ल्याउँछन् । अनि सिन्काले पिँध बनाएर त्यसलाई डोरीले बाधेर ‘प्याकेजिङ’ गर्छन् । त्यसपछि उद्योगलाई बेच्छन्,’ उनी भन्छन्, ‘जंगलबाट टिपेर ल्याएका पात संकलन केन्द्रमा जम्मा हुन्छ । अनि हप्तामा एकपटक उद्योगको गाडीले उठाएर ल्याउँछ ।’ संकलन केन्द्रबाट उद्योगसम्म ल्याएका पात मशिनबाट प्रोसेसिङ गरिन्छ । जहाँ कुनै प्रकारको केमिकल प्रयोग गरिँदैन । तातोले प्रेस (दबाएर) डिजाइन (आकार) निकालिन्छ । 

प्रेसपछि थाल, कचौरा, प्लेट, टपरी र दुनाको आकार बन्छ । त्यसपछि क्वालिटी छुट्याइन्छ । प्याकेजिङ ‘डिर्पोट’ गराएरपछि मात्र  निकालिने वासुदेवले जानकारी दिए ।

वासुदेवले उद्योगमा करिब १०७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।  जसमा ९९ प्रतिशत महिला छन् । उद्योगले एक हजारमध्ये ४० प्रतिशत अतिन्यून परिवारलाई रोजगारी दिएको छ । 

नेपालमा सालको पात सदाबहार हुन्छ । प्रयोगमा आउने पात झर्नभन्दा केही दिन अगाडिको हुन्छ । राम्रा रिसोर्टहरूले ‘युज एन्ड थ्रो’का सामान पनि प्रयोग गर्ने गरेका छन् । यस्तोमा उनीहरूले वासुदेवकै उद्योगका उत्पादन खोज्ने गरेका छन् । 

झरेर त्यसै खेर जाने साल, भर्लोलगायतका पातबाट बन्ने दुना–टपरी प्रयोगका लागि सरकारले नै प्रोत्साहन गर्नुपर्ने वासुदेव बताउँछन् । 
‘प्लास्टिकका प्लेटलाई राज्यले प्रतिबन्द लगाउन वा मनग्य कर लगाउन सके वातावरणमैत्री स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘प्लास्टिकका भाँडामा तातो वस्तु राखेर खाँदा स्वास्थ्यमा असर गर्छ भने पातको सामग्रीले कुनै असर पुर्‍याउँदैन । प्रयोग भइसकेको दुना–टपरीबाट कम्पोस्ट मल बनाउन पनि सकिन्छ ।’ 

पछिल्लो समय वासुदेवले कमाउँदै र उद्योगमा लगानी पनि बढाउँदै लगेका छन् । जागिरभन्दा आफैँ उद्यम गर्नुपर्छ भन्ने मान्यता राख्ने  उनी अहिले टपरीलाई ब्रान्ड बनाउन सकेकोमा खुसी छन् । 

२६ वर्षीय वासुदेवको परिवार प्युठानबाट बसाइँसराइ गरी कावासोतीमा आएको  हो । उनले व्यवस्थापन र राजनीति शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् । विद्यालय तहको पढाइ जनता मावि डण्डबाट पूरा गरेपछि उनले उच्च शिक्षा कुँवरवर्ती क्याम्पस कावासोतीबाट गरे । उनले आईए, बीबीएस र एमबीए त्यहीँबाट गरेका हुन् । राजनीति शास्त्र भने उनले प्राइभेट दिएर पास गरेका थिए । तीन दाजुभाइ भए पनि उनी मात्र उद्योग क्षेत्रमा लागेका हुन् । पढेलेखेका वासुदेवले चाहेको भए राम्रो जागिर खान सक्थे । तर उनको लक्ष्य उद्यममा लागेर स्वदेशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । यसैले उनले पात उद्योग खोलेका हुन् । 

युवा उद्यमलाई राज्यले प्रोत्साहन गरे नेपाली उद्योग थप फस्टाउने र विदेश जाने क्रम केही नियन्त्रण हुने वासुदेवको बुझाइ छ । कुनै पनि व्यवसाय शुरू गर्नुअगाडि बजारको बारेमा अध्ययन गर्न उनी आफूजस्तै युवालाई सुझाव दिन्छन् । ‘बजार बुझेपछि व्यावहारिक अभ्यास गर्नुपर्छ । बजारको माग के छ त्यसलाई चिन्न सक्नुपर्छ,’ उनी भन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्