०३ असार २०८३, बुधबार

सैपाल हिमालको काखमा नेपाल टेलिकमको भीस्याट टेलिफोन सेवा

असार १७, २०८१
काठमाडौं
सैपाल हिमालको काखमा नेपाल टेलिकमको भीस्याट टेलिफोन सेवा

नेपाल टेलिकमले सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा आफ्नो सेवा विस्तार गरेको छ ।

देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने रानीसैनमा असार ९ गतेदेखि टेलिफोन सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको प्रवक्ता हरि ढकालले जानकारी दिए ।

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर यो स्थानमा पुग्न सकिन्छ । 

यस्तै, हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा ३/४ घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय सोनाम लामाले बताए ।

यो भन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए । 

null

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन ।

करिब ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब ४ दिनसम्म मानिसले बोकेर रानीसैन पुर्‍याएका थिए ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्