
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य एक अङ्कले उकालो लागेर ३ सय ६१ दशमलव ७७ मा पुगेको छ ।
कुल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव शून्य सात प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी आठ दशमलव ४४, स्वाभिमान लघुवित्त तीन दशमलव ९७, कुमारी सबल योजना तीन दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।