०७ साउन २०८३, बिहीबार
मुकुल कारबाहीमा परेपछिको रास्वपा

सानो दलमा ठूलो विवाद, महामन्त्री बन्न नेताहरूको हानथाप

असार २५, २०८१
काठमाडौं
सानो दलमा ठूलो विवाद, महामन्त्री बन्न नेताहरूको हानथाप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल पदमुक्त भएसँगै पार्टीभित्र उनको ठाउँ लिने नेताको खोजी शुरू भएको छ । पार्टीले ढकाललाई महामन्त्रीसहित प्रवक्ता र केन्द्रीय सदस्यबाट समेत पदमुक्त गरेपछि आकांक्षी नेताहरू उनको ठाउँ लिन दौडधुपमा लागेका हुन् । 

ढकाललाई पदमुक्त गरे पनि ३५ दिनभित्र कारबाही फुकुवाका लागि पुनरावेदन गर्न समय दिइएको छ । तर, सिंगो केन्द्रीय समितिले नै कारबाही गर्ने मत दिएपछि अब उनी रास्वपामा फर्किने सम्भावना असाध्यै कम रहेको नेताहरू बताउँछन् । ढकाल नफर्किने पक्काजस्तै भएपछि उनले होल्ड गरेको महामन्त्री र प्रवक्ता बन्न नेताहरूबीच हानथाप नै चल्न थालेको नेताहरू बताउँछन् । 

रास्वपामा महामन्त्रीका चार जना दाबेदार देखिएका छन् । ‘महामन्त्रीका लागि मुख्य दाबेदार ४ जना हुनुहुन्छ । तर, प्रमुख सचेतक सन्तोष परियार मुख्य दाबेदार देखिनुभएको छ,' रास्वपाका एक नेताले लोकान्तरसँग भने, ‘उहाँले आफूलाई महामन्त्रीको लागि सभापतिसमक्ष नै दाबेदारी दिनुभएको बुझेका छौं ।’

उनीबाहेक कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य र मनिष झा पनि महामन्त्रीका मुख्य दाबेदार हुन् । कार्यवाहक महामन्त्रीको जिम्मेवारी पाएका बुर्लाकोटी र विपिनकुमार आचार्य पार्टीका सहमहामन्त्रीसमेत हुन् । कार्यवाहक प्रवक्ताको जिम्मेवारी पाएका महामन्त्रीका अर्का दाबेदार झा पार्टीका सह–प्रवक्ता हुन् । 

यीबाहेक डा. तोषिमा कार्की पनि महामन्त्रीको दाबेदार हुन् । उनले सभापति लामिछानेलाई भेटेरै महामन्त्रीमा दाबेदारी व्यक्त गरेको एक नेता बताउँछन् ।

सांसद सोविता गौतम यसअघि नै उपसभामुखको लागि दाबेदार थिइन् । तर, इन्दिरा राना जाने भनेपछि उनले विरोध नजनाएको नेताहरू बताउँछन् । 

यसपटक उनको नाम पनि महामन्त्री, पार्टी प्रवक्ता मात्रै होइन प्रमुख सचेतकमा पनि जोडिएको छ । परियार महामन्त्री भए सोविता पार्टीको प्रमुख सचेतक बन्ने चर्चा रास्वपामा छ । कतिले उनलाई प्रवक्ताको जिम्मेवारीमा ल्याउनुपर्ने मत पनि राखेका छन् । यद्यपि सोविताले मंगलबारको केन्द्रीय समिति बैठकमा बाहिर चर्चा गरिएजस्तो आफू महामन्त्रीको दाबेदार नभएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । महामन्त्रीमा बन्न नसके मनिष झा पार्टी प्रवक्ताको अर्का बलिया दाबेदार हुन् ।

यसपटक महामन्त्री र प्रवक्ता फरकफरक व्यक्तिलाई बनाउनुपर्ने मत पनि रास्वपामा छ । मुकुललाई महामन्त्री र प्रवक्ता दुईवटै पद दिँदा झन् जोखिम भएको बुझाइपछि सभापति लामिछानेले फरकफरक नेतालाई यो जिम्मेवारी दिने तयारी गरेका हुन् ।

महामन्त्री सभापतिपछिको शक्तिशाली र कार्यकारी पद हो । यसैले रविले विश्वासिलो नेतालाई यो पद थमाउने तयारी गरेका छन् । महामन्त्री र प्रवक्ता अलगअलग गर्दा पार्टी संगठनको काम र प्रचारको काम व्यवस्थित हुने रास्वपाको नेताको बुझाइ छ । प्रवक्ताको लागि रमेश प्रसाईंदेखि क्रान्तिशिखा धितालसम्मको दाबेदारी छ । सहमहामन्त्री सुमना श्रेष्ठले भने पदाधिकारीमा दाबेदारी देखाएकी छैनन् ।

दुई वर्षअगाडि स्थापना भएको रास्वपामा महामन्त्री ढकाल सभापति रवि लामिछानेको ‘किचन क्याबिनेट’का सदस्य जत्तिकै थिए । यसैले चिकित्सक ढकाललाई रविले महामन्त्री र पार्टी प्रवक्ताको जिम्मेवारी सुम्पेका थिए । लामिछानेले पारिवारिक सदस्यजत्तिकै गरेर राखे पनि अन्ततः रविप्रति नै गम्भीर असहमति राखेर पार्टीबाट बाहिरिनु पर्ने अवस्था आयो । रास्वपा पार्टी नभई रविको पार्टीजस्तो देखिएको गम्भीर आरोप उनले लगाएका छन् । 

इलाम उपनिर्वाचनमा रास्वापाको जमानत नै जफत भएको थियो । यसपछि पार्टीलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा सभापतिका कार्यशैलीमाथि मात्रै प्रश्न उठाएनन्, पार्टी अर्को चुनावमा १/२ सिटमा झर्ने र विवेकशीलजस्तो बन्न सक्ने खुला चेतावनी दिए । आन्तरिक प्रतिवेदन मिडियामा चुहाएको आरोप लगाउँदै ढकाललाई मंगलबार रास्वपाले पदमुक्त गरेको हो ।

परम्परागत दलविरुद्ध आक्रोश पोखेर स्थापित हुँदै २१ सिट जितेर चौथो शक्तिका रूपमा उदाएको  रास्वपाका सभापति लामिछाने छोटो समयमै विवादमा मात्रै तानिएनन्, उनैले विश्वास गरेका ढकालले पार्टीभित्र ठूलो समस्या रहेको भण्डाफोर नै गरिदिए । ‘यत्ति छोटो समयमा रास्वपामा यत्ति गम्भीर विवाद र असहमति आउला भन्ने हामीले सोचेका थिएनौं । नागरिकमा लहर ल्याए पनि हामीले त्यसलाई जोगाउन सकस पर्ने हो कि भन्ने संकेत देखिएका छन्,’ रास्वापका अर्का नेताले भने, ‘महामन्त्रीमाथि कारबाही भएपछि अब उहाँको फर्किने मुड छैन । यसैले सिनियर नेतामध्येबाटै महामन्त्री र प्रवक्तामा एकपछि अर्को दाबेदारी देखिन शुरू भएको हो ।’

३५ दिनपछि जिम्मेवारीको विषयमा अघि बढ्छौं : कार्यवाहक प्रवक्ता झा
रास्वपाको मंगलबारकै बैठकले महामन्त्री र प्रवक्ताको जिम्मेवारी तोक्ने आँकलन गरिएको थियो । तर, अनुशासन विभागले ढकाललाई साधारण सदस्यबाट पनि निलम्बन गर्न सिफारिस गरेको थियो । तर, केही केन्द्रीय सदस्यले साधारण सदस्य कायम राखेर केही समय दिनुपर्ने बताएका थिए । पार्टी बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले पुनरावेदन दिन ३५ दिनको समय तोकिएकोले महामन्त्री र प्रवक्ताको नयाँ जिम्मेवारी नदिइएको बताए । 

‘महामन्त्रीको निर्णय भएको छैन, अनुशासन विभागको सिफारिस प्रतिवेदनमा छलफल गरेर निर्णय भएको छ । पार्टी विधानको धारा ५७ अनुसार चित्त नबुझेको विषयमा उहाँले पुनरावेदन सक्ने भएकोले कानूनी रूपमा ठाउँ दिएका हौं,’ झाले भने, ‘पुनरावेदनमा चित्तबुझ्दो जवाफ दिए उहाँ फर्किन सक्ने अवस्था भयो । यसैले अबको महामन्त्री को हो भनेर निर्णय गरेका छैनौं । कानूनी विभागको छलफल, सिफारिस पनि आवश्यक हुन्छ ।’

आफूलाई पदमुक्त गर्ने निर्णय उपयुक्त नलागेमा ढकालले ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा निवेदन दिन सक्नेछन् । उपनिर्वाचनपछि समीक्षा प्रतिवेदन पार्टीलाई बुझाए पनि पर्याप्त छलफल नगरी मिडियामा प्रचार गरेर अराजकता प्रस्तुत गरेकोले ढकाललाई कारवाही गर्नुपरेको रास्वपा नेताको भनाइ छ । 

आफू कारबाहीमा परेपछि सामाजिक संजालमा लेख्दै ढकालले रविको क्लबबाट निकालिए पनि रास्वपाभित्र घण्टी बज्न नरोकिने चेतावनी दिएका छन् । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ पार्टीले कारवाही गरेलगत्तै ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।’

कारबाहीपछि अब आफ्नो कदम के हुने भन्ने उनले प्रस्ट्याएका छैनन् । बुधबार आफ्नो धारणा राख्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्