
एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबूक चलाउन सक्ने भएका छन् ।
यसका लागि एनसेल र फेसबूकको मातृ संस्था मेटाबीच सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार एनसेलका ग्राहकहरूले ब्यालेन्सबिना पनि इन्टरनेट र फेसबूक चलाउन सक्नेछन् ।
मंगलबारबाट लागू भएको उक्त सम्झौतापछि दुई प्रोडक्ट फेसबूक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याइएको छ ।
विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि यो सेवा सान्दर्भिक हुने कम्पनीको दाबी छ ।
डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ ।
त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबूक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबूक चलाउन पाउनेछन् ।
यी दुवै प्रोडक्टहरुमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागू हुने कम्पनीले जनाएको छ ।