
जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो दल मिलेर बिरलै मात्र सरकार गठन हुने गर्छ । यो त्यस्तै एउटा राजनीतिक घटनाक्रम हो ।
नेताहरूले दाबी गरेअनुसार कांग्रेस–एमाले सत्ता समीकरणको एउटै हेतु हो– मुलुकको वर्तमान संकट मोचन । यस समीकरणलाई देशको मध्यम वर्गले समेत सहजरूपमा लिएको छ ।
यसको सार के हो भने मुलुकमा राजनीतिक अस्थिरता, अराजकता, आर्थिक संकट, बेथिति जे जति भएका छन्, सबै मुहान यी ठूला दल हुन् भन्ने भाष्य छ । फेरि अर्को सत्य के हो भने देशलाई विकास र समृद्धिमा लानका लागि प्रमुख दल नै माध्यम हुन् भन्ने मध्यमवर्गीयहरूको मनोविज्ञान हो । राजनीतिक स्थायित्व, सुशासन, आर्थिक संकटको समाधान गरेमा २ प्रमुख दललाई परिपक्व राजनीतिको जस पक्कै पनि जानेछ ।
दुई प्रमुख राजनीतिक दलको सहमतिबाट कम्तीमा पनि मुलुक अस्थिरताबाट बच्छ भन्ने आशाको किरण देखिनु बहुसंख्यक मध्यमवर्गीयहरूकै मनोविज्ञानको परिणाम हो ।
वैचारिकी र वर्गीय दृष्टिकोणले फरक धारका कांग्रेस–एमालेबीचको समीकरणलाई जो कोहीले सामान्यरूपमा ग्रहण गर्न सक्दैन । सरल शब्दमा कांग्रेस–एमालेले ‘राष्ट्रिय सहमति’ भने पनि तेस्रो दल नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको भूमिका कस्तो रहन्छ भन्ने आगामी दिनका गतिविधिले निर्धारण गर्नेछ ।
इतिहासलाई फर्केर हेर्दा मुलुकमा जब–जब संकट आउँछ, तब जिम्मेवार दलहरू एक ठाउँमा उभिएका छन् । २०४६ को जनआन्दोलन कांग्रेस र वाममोर्चाबीचको तालमेलकै बलमा भएको हो, जसबाट प्रजातन्त्र स्थापना भयो ।
२०६२/०६३ को जनआन्दोलनमा कांग्रेस, एमालेसहित ७ दल एक ठाउँमा आएपछि माओवादीसँग १२ बुँदे सहमति भएको थियो । कांग्रेस–एमाले मिलेकै कारण गणतन्त्र स्थापनाको घोषणा सहज भएको थियो । नेपालको संविधान– २०७२ जारी गर्ने समयमा पनि मुख्य दल कांग्रेस, एमाले र माओवादी मिलेका थिए ।
कांग्रेस–एमालेबीच एकाएक सत्ता समीकरण किन बन्यो भन्नेमा सत्ताबाट विपक्षमा हुत्तिएका दलहरूको एउटा भाष्य होला, तर प्रमुख दलबीच खाडल निर्माण गरेर साना दलले च्याँखे थाप्ने खेल समाप्त भएको छ ।
पछिल्लो समीकरणले आशाको किरण जगाइरहँदा कांग्रेस–एमालेले जनमतको अपमान हुने ढंगले काम गर्नु हुँदैन । सहमति जुन प्रयोजनका लागि गरिएको छ, त्यसमै केन्द्रित रहेर अक्षरसः पालना गर्नुपर्छ । अहिले मुलुक बिगार्ने ठूला दल, भ्रष्टाचारको फाइल खोल्न रोक्ने ठूला दल भन्ने किसिमको भाष्य निर्माण गर्न खोजिएको छ, त्यसको जवाफ सरकारले दिनुपर्ने चुनौती छ ।
कांग्रेस–एमालेको समीकरणसँगै राष्ट्रिय सहमतिको सरकार आह्वान गरिएको थियो । यो आह्वानले संसद्मा रहेका सबै दलको स–सम्मान सहभागिता होस् भन्ने अर्थमा बुझ्न जरुरी छ । कसैलाई निषेध गरेर जानुहुन्न भन्ने मनसाय कांग्रेस–एमालेबीच देखिन्छ ।
यद्यपि साँचो के हो भने ‘राष्ट्रिय हितका निम्ति नीतिगत अवधारणा र एजेन्डाको आधारमा सरकारको नेतृत्व ठूला दलबाट हुनुपर्छ’ भन्ने मान्यता जबरजस्त स्थापित गराइएको छ । अपमानका लागि यो भनिएको त होइन, तर प्रमुख दलको सहमतिबाट ‘साना दलबाट भइरहने राजनीतिक अस्थिरता’को मुहान समाप्त भएको छ ।
संसद्भित्र उपस्थित भएका दलहरूसँग कतिपय संवेदनशील विषय रहेकाले निषेधको राजनीतिमा बल गर्नु हुँदैन भन्नेमा कांग्रेस–एमाले सचेत देखिन्छन् । तर, सोमबार मन्त्रिपरिषदको पूर्णताले अन्य साना दलहरू सत्तामा आउन सक्ने ढोका बन्दजस्तै देखिन्छ, किनकि नेपालको संविधानले प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिपरिषद् बनाउन नमिल्ने व्यवस्था गरेको छ ।
२२ जनाको मन्त्रिपरिषद् व्यवहारतः पूर्णता हो । मन्त्रिपरिषद् बाहिर रहेका उपेन्द्र यादवको जसपा, सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा सत्तामा सहभागी हुने सम्भावना क्षीण हुँदै गएको छ । मन्त्रालयको भागबन्डा सकिएकाले बाँकी राज्यमन्त्री हुने हैसियतमा ती पार्टीहरू सरकारमा सहभागी हुने सम्भावना देखिन्न ।
एमाले पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले भनेजस्तै ‘साना दलहरूलाई पनि आवश्यकताअनुसार शासन–प्रशासन सञ्चालनमा समेट्न’ प्रधानमन्त्री केपी ओली तयार छन् । साना दलहरूको मन यति दुखेको छ कि प्रधानमन्त्री ओलीको शपथ समारोहमा समेत केही साना दलका नेता सहभागी भएनन् ।
पूर्व प्रधानमन्त्रीको हैसियतमा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव समारोहमा उपस्थिति नहुनुले कांग्रेस–एमाले समीकरणबाट उनीहरूले आफ्नो राजनीतिक भविष्य समाप्त हुने आंकलनसहितको चित्त दुखाइमा परेको देखिन्छ ।
राजनीति र समय कति निर्मम हुन्छ भन्ने सन्दर्भमा नागरिक समाजका अगुवा तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले आफ्नो भनाइ राख्दै भनेका छन्– ‘समय नै बलवान छ, कुनै दिन किड्नीको समस्याले केपी ओली अस्पताल जाँदा केही पात्र सामान्य मानवीय समवेदनाको समेत ख्याल नगरी आफैंलाई उनको विकल्प घोषित गर्दै थिए । उनै ओली राजनीतिको केन्द्रमा फर्किँदा विकल्प ठान्नेहरू क्रमशः किनारामा हुत्तिएका छन्, शायद नफर्कने गरी ।’
अब रह्यो संविधान संशोधनको कुरा– संविधान संशोधन आवश्यक छ, तर जटिलता पनि सामना गर्नुपर्छ भन्ने कुरामा दुई मत नहोला । प्रमुख दुई दलले चाहे पनि दुईतिहाइको केही प्राविधिक समस्या रहन्छ । विश्वासको मत नपाएर पद मुक्त भएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको नाममा अर्को ‘विद्रोह’को बीजारोपण नहोस् भनेर खबरदारी गरिसकेका छन् । समयअनुसार १० वर्षमा संविधान अद्यावधिक गर्न संशोधन आवश्यक छ ।
संविधान संशोधन अथवा अध्यावधिकका लागि बहस तथा छलफल गराउन प्रमुख दुई दलको सहमतिअनुसार प्रस्ताव गर्न जरुरी छ । संविधान संशोधनको विषयले ‘कोर्स’ पूरा गर्न कम्तीमा २ वर्ष समय लिन सक्छ ।
अहिले संविधान जारी भएको ८ वर्ष पूरा हुँदैछ । तसर्थ, १० वर्षभित्र संविधान संशोधन वा अद्यावधिक गर्न सकिने भएकाले बाँकी दुई वर्षलाई तालिका बनाएरै कांग्रेस–एमालेले ‘राष्ट्रिय सहमति’का लागि तालिका बनाएर निरन्तर पहल लिन जरुरी छ ।
कांग्रेस–एमालेबीचको लामो यात्रा हेर्दा दुई बीचको दूरी जति टाढा हुन्छ, त्यसबेला विभिन्न शक्ति केन्द्रको चलखेल देखिन्छ । मूलतः २०४६ पछि राजाले कांग्रेस–एमालेबीचको दुरी बढाउन खोजियो ।
जुन दिन कांग्रेस–एमालेको दुरी बढेको छ, त्यो दिन अस्थिरता, अराजकताबाहेक अरू केही भएको छैन । पछिल्लो समयको अवस्था पनि त्यही रह्यो । अहिले देखिएको ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति केन्द्र’को चलखेललाई रोक्दै बनेको नयाँ समीकरणले कम्तीमा सुशासन कायम, आर्थिक संकटको मोचन, राजनीतिक अस्थिरताको अन्त्य गरे ठूलै उपलब्धि हुनेछ ।
सैद्धान्तिकरूपले विपरीत र चुनावी मैदानमा प्रमुख प्रतिस्पर्धी रहेका कांग्रेस–एमालेबीच चुनावी गठबन्धन हुनु हुँदैन । तर, चुनावको परिणामपछि सत्ता साझेदारी र मुलुकमा आइपर्ने संकटमोचनका लागि जिम्मेवारी लिन सक्ने संस्कृति विकास गर्न जरुरी छ ।
मुलुक जहिले संकटमा पर्छ, त्यो बेला सामूहिक काँध थापेर पार लगाएको इतिहास कांग्रेस–एमालेको छ । अहिले कम्तीमा त्यही इतिहासको अभिभारा पूरा गरे मात्रै पुग्छ ।
दुई दलको यो सहकार्यले जब मुलुक विकास र समृद्धितिर अघि बढ्छ, त्यतिबेला आ–आफ्नो नीति, एजेन्डाका आधारबाट प्रतिस्पर्धा गरेर नेतृत्व लिने सहज वातावरण बन्नेछ ।