
विशिष्ट आख्यानकार रमेश विकलका तीन महाग्रन्थ प्रकाशनमा आएका छन् । रमेश विकल समग्र मूल शीर्षक अन्तर्गत यिनमा विकलका समग्र कथा, उपन्यास र नाटक गरी अलग अलग तीन वटा खण्डमा प्रकाशित भएका हुन् ।
विकलका कतिपय कृतिहरू प्रकाशकद्वारा नयाँ संस्करण प्रकाशन नगरिँदा अप्राप्य भई शोधार्थी, विद्यार्थी र पाठकहरूमा कठिनाइ भइरहेको थियो । यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गरिएको रमेश विकल साहित्य प्रतिष्ठानको यो प्रकाशन कार्य अत्यन्तै महत्त्वपूर्ण ठानिएको छ ।
प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा अनुसार रमेश विकल समग्र, कथा खण्डमा प्रकाशित दश वटा कथा संग्रहका कथाहरूका साथै संग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटा गरी करिब एक सय पचासवटा कथा १३९२ पृष्ठमा विस्तारित छन् भने ९४४ पृष्ठको उपन्यास खण्डमा उनका तीन वटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् ।
यसैगरी ६०८ पृष्ठको नाटक खण्डमा प्रकाशित चार संग्रहका साथै फुटकर प्रकाशित नौ वटा नाटकहरू सङ्ग्रह गरिएका छन् ।