
गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?
हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्रै होला । घरमा बच्चा जन्मेको छ राम्रै भयो । सन्तान वृद्धि होला, बुढेसकालको सहारा बन्ला राम्रै हुनेछ । कसैको नोकरी लागेको छ राम्रै भयो । आर्थिक समस्या टर्ला, यश प्रतिष्ठा बढ्ला राम्रै हुनेछ ।
कसैलाई चिठ्ठा पर्यो राम्रै भयो । उन्नति प्रगति होला राम्रै हुनेछ तर, सधैँ यस्तै हुन्छ भन्ने छ र ? सबैलाई यस्तै होला भन्ने छ र ? पक्कै हुने छैन । किनकि सबैलाई सधैं राम्रै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
मानौँ कसैको घरमा मृत्यु भयो । मृत्यु छोराको पनि हुन सक्छ पति वा पत्नीको पनि हुन सक्छ । हुन सक्छ बाबुआमा वा दाजुभाइ तथा दिदी बहिनीको मृत्यु भएको पनि हुन सक्छ । कसैले मार्यो वा आफैँ मरे । यस्तोलाई कसरी राम्रो भयो भन्ने ? कसरी राम्रै हुनेछ भन्ने ? हुन सक्छ कोही बिरामी परे । क्यान्सरले मरणासन्न बनाएको छ । उसलाई आइसीयुमा राखिएको छ, भेन्टिलेटरमा राखिएको छ । अहिले नै मर्ने हो कि भरे थाहा छैन । यसलाई कसरी राम्रो भयो भन्ने, कसरी राम्रै हुनेछ भन्ने ?
अथवा हुन सक्छ कसैको बारी पैरोले लग्यो, घरखेत खोलाले बगायो, घरमा आगलागी भयो, दुहुनो भैँसी मर्यो, किलाको हल गोरु ठहरै भयो । यहाँ पनि त्यस्तै हो । त्यसलाई कसरी राम्रो भयो भन्ने ? कसरी राम्रै हुनेछ भन्ने ?
सरसर्ती हेर्दा सबैलाई लाग्ने यस्तै हो तर, त्यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो, जीवनलाई खण्डखण्डमा बुझ्दा वा बुझ्न खोज्दा देखिने कुरा हो ।
पहिलो कुरा त जीवन खण्डखण्ड होइन, विराट् हो, विराट्को अंश हो । तरङ्ग होइन समुद्र हो तर, प्रायः हामी खण्डखण्डमा लिने गर्छौँ । त्यसैले यस्तो देखिने हो, लाग्ने हो । तथापि वास्तविकता त्यो होइन ।
जो जस्तो छ त्यस्तै आँखाले हेर्नुपर्छ, त्यस्तैरूपमा बुझ्नुपर्छ । समुद्रलाई समुद्रकै आँखाले हेर्नुपर्छ, तरङ्गको आँखाले होइन । विराट्लाई विराट्कै आँखाले हेर्नुपर्ने हुन्छ, सङ्कीर्णताले होइन । एउटा पाटोलाई हेरेर न विराट्लाई बुझ्न सकिन्छ न जीवनलाई ।
दोस्रो कुरा खण्डखण्डकै आँखाले हेर्ने हो भने पनि नकारात्मकताको आँखाले हेर्दा मात्र त्यस्तो देखिने हो । सकारात्मकताको आँखाले हेर्न खोज्नवित्तिकै सबै त्यसको विपरीत देखिने छ ।
मानौँ आजको बालक भोलि जवान भएको छ । किन भएको छ ? किनकि उसको बाल्यकालीन दुःख वा अबोध अवस्था हटाउनु छ । आजको जवान भोलि वृद्ध भएको छ । किन भएको छ ? किनकि रिस, राग, घमण्ड, अहङ्कार आदि युवावस्थाजन्य यावत् समस्याबाट मुक्त हुनु छ । हुन सक्छ वृद्ध व्यक्तिको मृत्यु भयो, किन भयो ? किनकि उसलाई वृद्धावस्थाजन्य दुःखबाट मुक्ति दिनु छ, रोगले जीर्ण शरीर हटाउनु छ, नयाँ शरीर लिनु छ, नयाँ जीवन दिनु छ ।
नदीहरू समुद्रमा पुगेर सकिन चाहन्छन् । किन चाहन्छन् ? किनकि उनीहरूलाई समुद्र बन्नु छ । पुरानो पात झरेको छ । किन झरेको छ ? किनकि नयाँ पात पलाउनु छ । नयाँ पात पलाउन किन परेको छ ? किनकि उसलाई फुल्नु छ, फल्नु छ । यही होइन ?
हुन सक्छ कसैले बाँसको कुनै घना काट्यो । झट्ट हेर्दा यो उसका लागि राम्रो भएन तर, कुरो त्यतिमा मात्र सीमित भएन । फेदबाट तीन/चारवटा नयाँ मुना पलाएर आए । यसलाई के भन्ने ? कसरी नराम्रो भन्ने ? हुन सक्छ कसैले कुनै फलफूलको बोट काट्यो । तत्काल त्यो राम्रो भएन तर, उसको पनि गति त्यहीँ रोकिएन । तलबाट पलायो, फल्यो, फूल्यो । यसलाई के भन्ने ? राम्रै भयो भन्ने कि नराम्रो भयो भन्ने ?
यसरी हेर्दा खण्डखण्डकै अवस्थामा लिँदा पनि राम्रै भएको देखिने छ भने यहाँ त विराट्को कुरा छ । विराट्लाई विराट्कै रूपमा हेर्ने हो भने कस्तो होला ? कस्तो देखिएला ? यही नै गीताको आशय हो ।
नीति भन्छ– ‘तत्र को नष्ट सम्मोह एकत्रमनुपश्यति ।’ अर्थात् जहाँ हरेक कुरालाई विराट्को अंशमा हेर्न वा बुझ्न थालिन्छ त्यहाँ न केही नष्ट हुन्छ न त्यसले फरक नै पार्छ । अर्थात् जे भएको छ राम्रै भएको देखिनेछ, जे हुनेछ राम्रै भएको पाइनेछ । अस्तु आजलाई यति नै ।