
गत जनवरीमा मिस माल्टा चयन भएकी चेरिस स्पिटेरी यही साउन १४ गते नेपाल भ्रमणमा आउने तय भएको छ । उनीसहितको टोली साउन १४ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आउने छन् । उनीहरुको साथमा भण्डारी र मिस माल्टामै कार्यरत सुजित बस्यालपनि नेपाल आउनेछन् ।
नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ ।
नेपाल भ्रमण पूरा गरेर टोली साउन २२ मा स्वदेश फर्किने कार्यक्रम रहेको भण्डारीले बताए ।