
वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले पठाउने रेमिट्यान्स रकम नेपालभित्रैबाट हुन्डीमार्फत उनीहरूका आफन्तको खातामा जम्मा गर्ने गरेको पाइएको छ ।
अवैध सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यस्तो तथ्य फेला पारेको हो ।
भुक्तानी प्रदायक संस्था सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि र पेवेल नेपाल प्रालिले रेमिट्यान्सको रकम नेपाल भित्रिसकेपछि हुन्डीको च्यानलबाट उनीहरूका आफन्तको खातामा जम्मा गरेको देखिन्छ । यसरी सयौंको खातामा हुन्डीको रकम गएको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।
सजिलो पे र पेवेलका सञ्चालकद्वय फुनसुक डाग्पा अथुपछाङ खम्पा र भीमप्रसाद तिमल्सिना अहिले पुर्पक्षका लागि कारागारमा छन् । अवैध सुन चोरी पैठारीको दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीले यी दुई सेवा प्रदायक संस्थाको अवैध गतिविधि छर्लंग पारिदिएको हो ।
त्यतिमात्रै होइन, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायत लगायतका मुलुकमा रहेका नेपालीले विदेशमा आर्जन गरी नेपाल पठाएको रेमिट्यान्सबापतको रकम वैधानिक प्रक्रियाबाट नेपाल नपठाई विदेशमा रहेका विभिन्न हुन्डी तथा अवैध रकम भुक्तानी सेवाबाट पठाएको अनुसन्धानबाट खुल्यो ।
नेपाली नागरिकले पठाएको रकम सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानूनी सम्पत्तिको आर्जन, आतंककारी क्रियाकलापमा लगानी र अभौतिक (क्रिप्टो) मुद्रामा लगानी हुने आशंका यो घटनाले जन्माएको निष्कर्ष सीआईबीको छ । यही आशंकापछि सीआईबीले एक विज्ञप्ति जारी गर्दै भनेको छ– रेमिट्यान्सबापत तपाईंको खातामा जम्मा भएको रकम वैध तबरले आएको छ कि छैन, त्यो पत्ता लगाउनुस्, नेपालभित्रैबाट जम्मा भएको अवस्था भनेको शङ्कास्पद हो। प्रहरीमा खबर गर्नुस् ।’
यसरी रकम जम्मा हुँदा नेपालमा विदेशबाट प्राप्त हुने विदेशी मुद्राको सञ्चितिमा ह्रास, पुँजी पलायन र अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता देखिने निष्कर्ष सीआईबीको छ ।
विदेशमा रेमिट्यान्स पठाउँदा उतैबाट वैध तवरले नेपालमा रहेका आफन्तको खातामा पठाउनुपर्ने हुन्छ । तर, अवैध तरिकाले नेपाल भित्रैबाट आफन्तको खातामा जम्मा गर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा मुलुकी अपराध संहिता, २०७४, संगठित अपराध निवारण ऐन, २०७० लगायत प्रचलित कानून आकर्षित हुने सीआईबीले जनाएको छ ।
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवं विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकले नेपालमा रहेका आफन्तलाई रकम पठाउँदा वैध प्रक्रियाबाट नआएको अवस्थामा प्रहरीलाई खबर गर्नुपर्ने बताए ।
उनले भने, ‘को–कसले बैंक खातामा जम्मा गरेको हो, सो को जिम्मेवारी स्वयं खातावालाको हुने भएकाले बैंक स्टेटमेन्ट चेकजाँच गरी वैध प्रक्रियाबाट रकम आएको हो वा होइन रुजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा यस कार्यालयमा जानकारी दिनुहोला । नत्र कानूनी झमेलामा पर्नुहुन्छ ।’
उनले अवैध प्रक्रियाको हिस्सेदारी नबन्न, वैध प्रक्रियाबाट मात्र रकमहरूको कारोबार गर्न र वैध भए/नभएको सुनिश्चितता स्वयं खातावालाले गर्न सुझाव दिए ।
सीआईबीले पेवेलविरुद्ध ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रुपैयाँ र सजिलो पेविरुद्ध १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको बिगो माग दाबी लिएर अदालतमा मुद्दा दायर गरेको थियो ।
पेवेल र सजिलो पेमा खाता सञ्चालन गरेर रकम भुक्तानी गर्ने कार्यमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड र सोही ठेगानाका धिरज दिनेश भोइटेको मुख्य भूमिका थियो ।
गायकवाड र भोइटेले काठमाडौं संकटामा सुनको रिफाइनरी पसलको आडमा सुन तस्करीको काम गर्दै आएका व्यापारी हुन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘यी दुईजनाले नै सुनमा लगानीसँगै तस्करी गर्दै आएका थिए । पेवेल र सजिलो पेमार्फत रकम भुक्तानीमा यी दुवै व्यापारीको भूमिका मुख्य थियो ।’
सीआईबीले दावी गरेअनुसार कूल ३१९४.५८८ किलो सुन तस्करीको रकम भुक्तानी पेवेल र सजिलो पेमार्फत भएको देखिन्छ ।