२९ जेठ २०८३, शुक्रबार

परीक्षा तालिका परिवर्तन गरेको भन्दै केयूका विद्यार्थीद्वारा प्रदर्शन, रजिस्ट्रारलाई बुझाए ज्ञापनपत्र

साउन ७, २०८१
काठमाडौं
परीक्षा तालिका परिवर्तन गरेको भन्दै केयूका विद्यार्थीद्वारा प्रदर्शन, रजिस्ट्रारलाई बुझाए ज्ञापनपत्र

परीक्षाको तालिका परिवर्तन गरेको भन्दै काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

असार २६ गते शुरू हुने भनिएको स्नातकतर्फको स्कूल अफ इन्जिनियरिङ र साइन्सको परीक्षा १५ दिनको अवधि दिएर निकालिएको तालिका फेरि ७ दिन पछि परिवर्तन गरेको भन्दै उनीहरूले सोमबार कलेज अगाडि प्रदर्शन गरेका हुन् ।

परीक्षा नजिकिदै गर्दा तालिका नै हेरफेर गर्ने गैर जिम्मेवारपूर्ण  कार्यले  विद्यार्थीहरू मारमा परेको उनीहरूको बुझाई छ ।

‘परीक्षा जस्तो संवेदनशील विषयमा आवश्यक तयारी नगरी मनपरी तरिकाले तालिका निकाल्ने र आवश्यक छलफल र समन्वय बिना परिमार्जन गर्ने गैरजिम्मेवारपूर्ण गतिविधिले अधिकतम विद्यार्थीहरू मारमा परेका छन्,’ परीक्षार्थी मध्येका युजन राजभण्डारीले लोकान्तरसँग भने, ‘विद्यार्थी माझ भ्रम सृजना गर्ने, विद्यार्थीको भविष्यमाथिको खेलबाडी बन्द गर्न, परीक्षाको मर्यादा विपरीतका सम्पूर्ण कुरालाई खारेज गर्न र परीक्षाको मर्यादा र निष्ठा कायम गरियोस् ।’

उनले विश्वविद्यालय प्रशासनको त्रुटिको सिकार विद्यार्थी नहोस् भनेर आइतबार सात बुँदे मागसहित रजिस्ट्रारलाई ज्ञापनपत्र समेत बुझाइएको बताए ।

यस्ता छन् सात बुँदे माग

१. काठमाडौं विश्वविद्यालयको एक चिनारी परीक्षाको मर्यादा हो, यो चिनारी जीवन्त राखियोस् ।

२. परीक्षा तालिका सार्वजनिक गरिएको १५ दिनपछि मात्र परीक्षा सञ्चालन हुने बेहोरा परीक्षा कानूनमा यथाशीघ्र उल्लेख गरियोस् ।

३. क्रेडिट साथसाथै विषयको सामग्री अध्ययन गरी न्यायोचित ढङ्गले परीक्षा तयारी बिदा दिइयोस् ।

४. मनपरी तरिकाले परीक्षा तालिका सार्वजनिक गर्ने र परिमार्जन गर्ने गैरजिम्मेवारपूर्ण गतिविधि रोकियोस् ।

५. कुनै खण्डमा भवितव्य त्रुटि आइपरे, परीक्षा तालिका सार्वजनिक भएको ३ दिनमा विभिन्न परिमार्जन गरी सार्वजनिक गरियोस्। 

६. परीक्षा कसैको निजी सम्पत्ति होइन, कुनै सङ्कायलाई परीक्षासम्बन्धी  समस्या आए , सबै संकायको प्रतिनिधि राखी गहन छलफल र समन्वय गरी मात्रै निर्णय गर्ने ।

७. कम्पार्ट परीक्षाको तालिका ७ दिन अगाडि सार्वजनिक गरियोस् ।

salt training

कमेन्ट गर्नुहोस्