२६ असार २०८३, शुक्रबार

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि काम भइरहेको छ : स्वास्थ्यमन्त्री

साउन ८, २०८१
काठमाडौं
डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि काम भइरहेको छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले प्रस्तुत गरेको डेङ्गु नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रणनीति अख्तियार गरिएको जानकारी दिए । 

मन्त्री पौडेलले डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार काम भइरहेको बताए । “विश्वव्यापी रूपमा प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको बासस्थान खोजी गर्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ, सङ्घ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायले गर्नुपर्ने कामसहितका व्यवस्थाका लागि डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ”, उनले भने । 

मन्त्री पौडेलले डेङ्गु रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय ‘डेङ्गु टास्क फोर्स’ गठन भई क्रियाशील रहेको जानकारी दिए । 

स्थानीय तहमार्फत बहुनिकायको सहभागितामा खोज तथा नष्ट अभियानलाई व्यापकरूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षमा स्थानीय तहमा रु सात करोड ९८ लाख र ७७ वटा जिल्लामा रु दुई करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए । 

मनसुनसँगै डेङ्गुको सङ्ख्यामा वृद्धि हुँदै जाने र द्रुत परीक्षण कीटको माग अत्यधिक हुनेहुँदा उक्त मागलाई सम्बोधन गर्न तथा अपुग कीट खरिद तथा व्यवस्थापनका लागि प्रदेशमा समेत आवश्यक स्रोत सुनिश्चित गरिएको मन्त्री पौडेलको भनाइ छ । 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते आइतबार अपराह्न १ बजे बस्नेछ  । 

salt training

कमेन्ट गर्नुहोस्