![बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न– प्रधानमन्त्री ओली [तस्वीर र भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/kp_oli_BhAs9tIeG7.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन् । बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा ‘भिक्षु एवं अनगारिका गुरुमाँहरूमा संघदान’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले नेपाली समाज विविधतायुक्त भएकाे भन्दै एकअर्कासँग दुरुस्त केही पनि नमिल्ने बताए । उनले बौद्ध धर्मबारे पनि चर्चा गरे । आफूले बुद्धलाई विविध ढंगले चिन्ने गरेको उनले उल्लेख गरे ।

‘बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न,’ उनले भने, ‘अन्धविश्वासमा नभइ वैज्ञानिक दर्शनमा आधारित छ ।’

नेपाल मण्डल लिटरेचर कल्चर ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको प्रारम्भ पनि नेपालबाटै भएको बताए ।
प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा डा शाक्यले गरेको मेहनतको प्रशंसा गरे । ज्ञान संग्रह गरेर पुस्तकका रुपमा बाँडेको भन्दै उनले धन्यवादसमेत दिए ।

ओलीले प्रसन्न भएर कार्यक्रममा आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मन लिएर आएको भन्दै सम्बोधन शुरू गरेका थिए ।
लेखक डा शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन के हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौं ? मानिस भनेको के हो ? जस्ता यावत प्रश्न बौद्ध दर्शनका पाठकसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गरे ।
कार्यक्रममा १०० जना भिक्षुलाई अष्टपरिष्कार दान गरिएको थियो । त्यसैगरी ५५ जना अनगारिका गुरुमाँलाई बस्त्र तथा अन्य बस्तु दान गरिएको हाे ।

दाता पुस्तकका लेखक डा अजयक्रान्ति शाक्य र पूर्वराजदूत एवं राष्ट्रियसभाकी सदस्य डा अन्जान शाक्य थिए ।
हेरौँ भिडियोः