
नेपाली आकाशमा फिस्टे जहाजहरू उडेको देख्दा पनि ज्यान सिरिङ्ग हुन थालेको छ । यिनीहरूबाट ज्यानकै जोखिम महसुस हुन्छ । ज्यानलाई जोखिममा पार्नेहरू त जेलमा सुत्नुपर्ने हो, तर यिनीहरू गौरव साथ उडिरहेका छन् ।
यिनीहरूले भेष बदलेर नाम थरिथरि राखेका छन्, तर मुख्य पेशा उही नागरिकको ज्यान जोखिममा पार्ने हो । वर्षमा २/३ पटक 'ब्रेकिङ न्युज' दिएर यिनीहरूले पर्यटकीय देश नेपालको नाम संसारभरि प्रख्यात पारेका छन् ।
जहाजका परिचारिका राम्रा भएर के गर्ने, इन्जिन नै नराम्रो भएपछि ? टिकट सस्तो भएर के गर्ने, महंगो जीवन नै ध्वस्त पारिदिएपछि ? यिनीहरूले छिटो पुर्याएर के गर्ने, घर परिवारसँग कहिल्यै भेट हुन नपाएपछि ? यिनीहरूले सिटको पेटी बाँध्न सिकाएर के गर्ने, गर्मी महिनामा चरा खसेजस्तै खसेपछि ?
फिस्टे जहाजको टिकट काट्नु भनेको मृत्युकै टिकट काट्नुसरह हो । यिनीहरू जब उड्छन्, तब 'मुफ्त'को दारु पिएको जड्याहाजस्तो हल्लिन्छन् । त्यो टर्ब्युलेन्स भएर हल्लिएको होइन, बुढो इन्जिन हल्लिएको हो ।
लाखौं माइल टाढा पुगेर रकेटहरू चन्द्रमाको माटो बोकेर पृथ्वीमा फर्किन्छन्, तर हाम्रा फिस्टे जहाज २२ मिनेटको दूरीमा रहेको पोखरा पुग्न सक्दैनन् ।
एउटा चरा अलास्काबाट ११ रात ११ दिन उडेर तास्मानिया पुग्न सक्छ । त्यो पनि कतै नरोकिएर, केही नखाएर, औसत घण्टाको ५४ किलोमिटरको गतिमा । तर, हाम्रा फिस्टे जहाज नाथे जोमसोम पनि पुग्न सक्दैनन् ।
यी फिस्टे जहाज तालीबानीको 'सुसाइडल बम'भन्दा कडा भएर निस्किए । तालीबानीहरू रोकिए, तर यिनीहरू रोकिने छाँटकाँट छैन । उड्डयन प्राधिकरण नाम गरेको घुस्याहा संस्थानका कमिसनखोरीहरूको दिमागमा त खिया लागेको थियो नै, के फिस्टे जहाजको कन्ट्रोल प्यानल तथा फ्युजलेज, फ्ल्याप्स, स्पोइलर्स र रडरमा पनि खिया लागिसकेको थियो ?
जब दुर्घटना हुन्छ, तब शासकहरूले एकथान विज्ञप्तिमा दुःख व्यक्त गरेर आफ्नो काम फत्ते गर्छन् । त्यसपछि उनीहरू सदाझैं आफ्नो पार्टीको बैठकमा व्यस्त हुन्छन् । शायद उनीहरूको सरकार नै पटक-पटक दुर्घटनामा पर्ने भएर होला, जनता दुर्घटनामा पर्नु निकै सामान्य भएको छ ।
नेपालमा अहिले कुनै युद्ध त छैन, तर घरबाट निस्किएर कतै यात्रा गर्नु भनेको युद्धमा सहभागी हुनुबराबर भएको छ । भगवान् पुकारेर यात्रा गर्नु र अचानक हातखुट्टा गुमाएर अस्पतालको शय्यामा भर्ना हुनु पनि एकप्रकारको युद्ध गर्नु नै हो ।
पक्कै पनि दुर्घटना सबै देशमा हुन्छन् । तर नेपालमाजस्तो दर्दनाक दुर्घटना त भगवान् कसम संसारमा कतै पनि हुँदैन । आकाश मार्गबाट डराएर सडक मार्गमा हिँडौं, सडकमा पनि जताततै धराप थापिएको छ । एक बल्ड्याङ्ग पल्टिएपछि समयमा नै उद्धार होला भनेर कसैले नचिताए हुन्छ ।
सौर्यको जहाजमा लागेको आगो निभाउन दमकल आधा घण्टापछि पुग्यो, त्यो पनि विमानस्थलभित्रै । केही दिनअघि त्यहीँ पूर्वाभ्यास भएको थियो । शायद तिनीहरूले घरायसी कामले फुर्सद नपाएका हुन सक्छन् ।
यसरी हेर्दा विमानस्थलमा धराप, नदीनालामा धराप, अस्पतालमा धराप, सडकमा धराप, आकाशमा धराप, व्यापार व्यवसायमा धराप, नेपाली जनतालाई जताततै धराप नै धराप थापिएको छ ।
अनि विश्लेषकहरू भन्छन्- 'नेपाली युवा रोजगारी लागि विदेश गए ।' तर, मलाई त्यस्तो लाग्दैन । वास्तवमा नेपाली युवा धरापबाट जोगिएर आफ्नो ज्यान बचाउनका लागि भए पनि विदेश गइरहेका छन् ।
जुन देशमा सवारी चालक अनुमति पत्र निकाल्नका लागि परीक्षा दिनुपर्दैन, घुस दिए पुग्छ । जुन देशको विमान चालकहरूको अनुमति पत्र फर्जी भेटिन्छ । जुन देशका डाक्टरहरूले देब्रे हात काट्नुपर्नेमा दाहिने काट्छन् । जुन देशमा केरा खेती गर्दा बैरीहरूले रातभरि लगाएर फेदै काटिदिन्छन् । गाई पाल्यो गोठैमा आगो लगाइदिन्छन् । माछा पाल्यो विष घोलिदिन्छन् । त्यो देश धरापहरूको देश नभएर अरू के हो त ? शासकहरूले जनताको सपनामाथि खुलमखुला डाँकागिरी गरिरहेका छन्, र यति सुन्दर देशलाई फूलनदेवीको चम्बलजस्तो बनाएका छन् ।
इतिहासको पाना हेर्दा नेपालीहरू बाटोका कारण निकै पीडित भए । बटौलीदेखि कालीपारसम्म धेरै पसिना बग्यो । बल्लबल्ल बाटो त आयो, तर धराप बनेर आयो । अब त राम्रो भयो भन्यो फेरि टिप्परले कोही न कोहीलाई हानेकै हुन्छ । बाढीपहिरोले बस्ती बगाउनु त नेपालीको नियतिमै लेखिएको छ । त्यसैमाथि त्रिशुलीमा बस खस्यो । त्यतिले मात्र नपुगेर फिस्टे जहाज खस्यो । यस्तो कहालिलाग्दो परिवेशमा दोलखा भीमसेनलाई मात्र होइन, दिलनिशानी मगरलाई पनि पसिना आउँछ ।

डरमर्दो भएको कारण जहाज नचढौं भने विकल्प सडक मार्ग छ । तर, सडकको हालत यस्तो छ कि काठमाडौंबाट बस चढेकी सुत्केरी महिला पोखरा पुग्दा हल्लिएर नै मर्छिन् । वृद्ध, अशक्त, अपांगता भएका र बालबालिकाको त कुरा नै नगरौं, हट्टाकट्टा मान्छेको पनि पिठ्यूँमा फोका उठ्छ । एक महिनासम्म ढाड दुख्छ । घुम्ती र मोडहरूबाट त ड्राइभरले बचाउलान्, तर कुहिरोभन्दा बाक्लो धुलोबाट कसले बचाउने ? देशमा गणतन्त्र त आयो, तर सात लेन चौडा बाटो आएन । पहाडभित्र छिरेर २० मिनेटमा नै पूर्वबाट पश्चिम पुग्ने रेल पनि आएन ।
सडक यात्रामा पनि धेरै असहजता छ । त्यसैले पैसाभन्दा ज्यान ठूलो हो भन्ने तर्क गर्छन् । ६/७ हजार पैसा त बीयर खाएर पनि सकिन्छ, जहाजमा नै जाने हो भन्छन् । जहाजमा वान्ता पनि हुँदैन भन्छन् । कुरा त एकदम ठीक हो, तर दुःखको कुरा फिस्टे जहाजका कारण ६/७ हजार पनि सकिन्छ, बीयर खाने जीवन पनि सकिन्छ । जहाजका मालिकहरू त सकिँदैनन्, यिनीहरूले विदेशमा बिमा गरेका हुन्छन्, करोडौं पैसा पाइहाल्छन् । जीवन दाउमा राख्ने, जीवन बाजीमा राख्ने भनेको यस्तै होला, मृत्युलाई हत्केलामा राखेर हिँड्ने भनेको पनि यस्तै होला ।
एकदमै डरलाग्दो र भद्रगोल परिस्थिति भयो भने हामीसँग मन बुझाउने एउटा वाक्य छ– 'सतीले सरापेको देश' । त्यसपछि अर्को छ– 'पशुपतिनाथले रक्षा गर्नेछन्' । तर, मलाई लाग्छ, हामी गवार संसारमै लो आईक्यू भएको मनुष्य भएर देशले दुःख पाएको छ । देशसँगै हाम्रो पुस्ताले दुःख पाएको छ ।
ढिलो जहाज उड्यो भनेर काउन्टरमा बारम्बार लफडा हुन्छ, तर जहाज कम्पनीको लापरबाहीको बारेमा कतै जुलुस हुँदैन । केही छिनअघि जहाज खसेको छ, आगोको मुस्लो उडेको छ, तर एकैछिन पछि फेरि मानिसहरू घटनास्थल नजिकैबाट जहाज चढेर नै उड्छन् । हामी नेपाली बहादुर छौं, तर योभन्दा धेरै बहादुर कोही पनि नहुनू ।
लोकतन्त्रमा व्यक्तिको स्वतन्त्रतालाई कसैले खोस्न सक्दैन, तर घटनाक्रमहरूको त्रासदीलाई नियाल्दा कम्तीमा स-परिवारसँगै एउटै फिस्टे जहाजमा नचढौं भन्ने दिव्योपदेश भने दिन सकिन्छ ।
नेपालमा काम बोल्दैन, पैसा बोल्छ । जब पैसा बोल्छ, तब दुई वर्षको कलिलो बच्चा पनि पाटपुर्जा बिग्रिएर ठोकठाक गर्न लगिँदै गरेको जहाजभित्र ज्यान गुमाउन बाध्य हुन्छन् ।
देश गरिब भयो भने सोच पनि गरिब हुने रहेछ । नयाँ जहाजहरू शुरूमा पैसा भएको धनी देशमा चल्छन् । त्यसपछि जहाज पुरानो हुँदै गएपछि प्राण त्याग गर्नका लागि गरिब देशतर्फ लम्किन्छन् । धरोधर्म यो कुरा सत्य हो । हामी जहाजको त सद्गत गर्छौं, जहाजसँगै हाम्रा आफन्तहरूको पनि सद्गत गर्न बाध्य छौं ।
बुढेसकाल लागेका केही विज्ञहरू भन्छन्- 'जहाज कहिल्यै बुढो हुँदैन ।' हो, जहाज कहिल्यै बुढो हुँदैन, किनकि जहाजले म बुढो भएँ, मलाई आराम देऊ भनेर आफैँ बोल्न सक्दैन । अनि हाम्रो गरिब सोचले फिस्टे जहाजको बारेमा प्रश्न उठाउने ल्याकत राख्न सक्दैन । जहाज कहिल्यै बुढो नहुन सक्छ । तर, जहाज ज्यानमारा भने हुन सक्छ ।
यस्ता फिस्टे जहाजहरूका कारण सर्वसाधारण जनताको जीवन त खतरामा पर्दै आएको छ । करोडौं खर्च गरेर विदेशमा पढेर आएका पाइलटहरूको जीवन पनि खतरामा परेको छ । तिनीहरूको बुवाआमा र परिवारको सपना खतरामा छ । कुनै एउटा घटनाक्रमले विज्ञानको सिर्जना रोकिँदैन, थाहा छ । तर, विज्ञानको सिर्जनालाई सुरक्षित बनाउन भने सकिन्छ । यो स्तम्भकार पनि बेलाबेलामा जहाज चढेर शानका साथ सेल्फी खिच्ने गर्छ । कुन दिनको सेल्फी उसको अन्तिम सेल्फी हुन्छ, यसै भन्न सकिन्न ।