
२०४० देखि ५० को दशकमा निकै मेहनत र तामझामका साथ बनाएका हिमाली र पहाडी भेगका घरहरू खण्डहरमा परिणत भइसकेका छन् । गाउँमा बास बस्न कोही नयाँ पाहुना जाँदैन । बाँकी रहेका एकाध विपन्न परिवारका सदस्य मर्दा लास बोक्ने मान्छे पाइँदैन ।
खेतबारी बाँझा छन् । विद्यालय मर्जको बहस शुरू भएको छ । गाउँका रित्ता घरमा राति स्याल, बाघ र बँदेलहरू बस्दैछन् । आज गाउँको जुन हालत छ, अबको दुई दशकभित्र शहरको हालत ठीक त्यही हुनेछ । त्यस सम्भावनाको सूचक विमानस्थलबाट विदेशिन लाइनमा उभिएका युवाको जमात हो ।
देशको यस संवेदनशील घडीमा समाजको अगुवा हौं भनेर दाबी गर्ने हामी युवा लाजैनमानी दुईवटा रमिता देखिरहेका छौं– एउटा सुरक्षा स्कर्टिङ, गाडी र जहाजको सहारामा दौडिरहेका वयोवृद्धहरूको सत्ताको म्युजिकल चेयर जहाँ चौमासिकदेखि अर्धवार्षिक रूपमा प्रधानमन्त्री छनोट भइरहेको छ । अर्को पार्टी नेतृत्वको आजीवन ठेक्का जहाँ दशकौंसम्म एउटै व्यक्ति छनोट गर्ने महान र मौलिक डेमोक्रेसीको गज्जबको प्रहशन छ ।
हामी रमिते हुँदा सत्ताको म्युजिकल चेयरमा चियर्स गर्दै रमाइरहेको एउटा बुढो समूहले देश चलाएको अभिनय गरिरहेको छ । अर्को हाम्रो मौनता वा दासताले त्यस समूहले पार्टीमा निकै पकडका साथ जरा गाडेको छ । हेर्दा लाग्छ, यो समूह नै वर्तमानका पार्टीहरूको निर्विकल्प, अजर, अमर आदि–अनादि नेतृत्व हो । जनताको अनुभवले के भन्छ भने आफूलाई राजनीतिक अष्ट चिरञ्जीवी सम्झने यो समूह जीवनको उत्तरार्धमा पुगेको दुष्ट ब्वाँसोजत्तिकै लोभी छ ।
रङ खुइलिएको डेमोक्रेसीको बर्को ओढेर सत्ताको रजगजमा डुबेको यो राजनीतिक सम्भ्रान्त समूह चर्को सामन्ती मानसिकतामा छ भन्नेमा शायदै कसैलाई द्विविधा होला ! सत्ताको सिंहासनलाई आफ्नो प्रारब्धमा जन्मदै लेखिएर आएको भाग्यको खेल ठान्ने यो समूह पार्टीलाई निजी कम्पनी र कार्यकर्तालाई कामदार ठान्ने गर्छ । जनता त फगत दाउपेचको खेलका दर्शक हुन् भन्ने मानसिकतामा रहेको यसले पार्टी विधानलाई आफूले जतिसुकै बेला लेख्न र लेखाउन सक्ने कागजको खोष्टोका रूपमा बुझेको छ भने पार्टी घोषणापत्रलाई उपभोक्तालाई भ्रममा पार्न सक्ने आकर्षक विज्ञापनजत्तिकै सजिलोरूपमा लिएको छ ।
अहिलेको सत्ताको म्युजिकल चेयरका सबै प्रतियोगिमा केही मूलभूत समानता छन् । जसमध्ये अब देश बनाउन सकिँदैन र हाम्रो हातबाट देश बन्दैन भन्ने उनीहरूको साझा निष्कर्ष हो । त्यसैले यो उनीहरूको पहिलो र महत्त्वपूर्ण समान विशेषता हो । दोस्रो उनीहरूको आदर्श नटरलाल हो, जसले ठगीमा महारथ हासिल गरेका थिए । त्यस समूहको यही समान विशेषता देश र जनताको दुर्भाग्य हो । युनानी आदर्शहरूको प्रेरणामा जो कैयौं वर्ष जेलनेल, भूमिगत र लुकेर निर्वासनमा रहे तिनै व्यक्तिहरूले नटरलालहरूको प्रियपात्र बन्नु र माफियाहरूका संरक्षक बन्नुले हामी वास्तवमै निराश छौं ।
हामीले जसलाई प्रजातान्त्रिक योद्धा ठान्यौ ती कसरी रातारात हाम्रो मालिकमा परिणत भए ? हामीले जसलाई त्याग र निष्ठाको प्रतिमूर्ति भनेर व्याख्या गर्यौं ती कसरी आजीवन सत्तालिप्साको भोकमा रहे ? जसलाई हामीले देशको असल सन्तान भन्ने विश्वाससहित सत्ताको चावी सम्हाल्ने अनुमति दियौं तिनले कसरी आफ्ना सन्तानको भागमा मात्रै नुन हाल्ने प्रयास गर्न सके ? हामीले जुन जहानिया शासन र कुलीनतन्त्रविरुद्ध तिनलाई उभ्यायौं, कसरी ती सत्तावरिपरि आफ्नै जहान परिवार नातागोता र कुलिनहरूमै हुर्कन लालायित बने ? जसलाई हामीले उदार र विराट छातिका उज्याला महान् सपुतहरूको कोटीमा राख्यौं तिनीहरू कसरी एकाएक भँगेरे छाति भएका कालो मनका मामुली मानिसहरू देखिन थाले ?
तिनलाई हेर्ने हाम्रो दृष्टि दोष हो कि तिनको कर्म दोष हो, यसको छिनोफानो नगरी हामी अर्को अभ्यासमा जान सक्दैनौं । धरातलीय यथार्थले भन्छ, हामीकहाँ देश हाँकिरहेको यही बुढो समूहले जनता र कार्यकर्ता दुवै ठगिरहेको छ । सत्तामा जान आलोपालोदेखि धोकाधडीसम्मका जायज र नाजायज सबै हर्कत गर्न सक्ने यो समूह यति स्वेच्छाचारी छ कि जसको कुनै हिसाबै छैन ।
आफूले पार्टीलाई निजी सम्पत्ति ठान्ने र जीवनको शेषपछि पार्टीलाई आफ्नै वंशज, नाता कुटुम्ब वा धेरै पर पुगे पूर्ण बफादारलाई पार्टीको स्वामित्व हस्तान्तरण गरेर जाने मानसिकताले स्पष्ट हुन्छ कि यो समूह कति डेमोक्रेसीवाला हो । पार्टीमा पदीय जिम्मेवारी र राजकीय भूमिका प्राप्त गर्न विचारधाराको स्पष्टता होइन भक्तिधाराको प्रखरता माग गरिएको छ । भक्तिधारा अन्धविश्वास हो, दासता हो र चाकडीको पराकाष्टा हो ।
भक्तिधाराले गर्ने रक्षा–प्रतिरक्षाबाट कुनै पनि संस्था वा व्यक्तिको गुणस्तर तीव्र गतिमा क्षयीकरण हुन्छ र त्यसले अनपेक्षित आयु घटिरहेको हुन्छ । खासगरि राजनीतिमा कुनै पनि नेतृत्वको वरिपरि भक्तिधारा सक्रिय भएर गुणगान गाउन थाल्यो भने समाजको मौन तप्का पनि प्रतिवादमा सक्रिय रूपमा भाग लिने निर्णयमा पुग्छ । भक्तिधारा र यथार्थवादी धाराको जति चाँडो मुठभेड हुन्छ, त्यति नै चाँडो भक्तिधाराको केन्द्र ढल्छ । यथार्थवादी धाराको केन्द्र वरिपरि फेरि भक्तिधारा प्रवेश गर्दै जान्छ, त्यहाँ पनि जुन दिन भक्तिधारा हावी हुन थाल्छ, यथार्थवादी धाराको केन्द्र भक्तिधाराको जालोमा पर्छ र फेरि नयाँ यथार्थवादी धाराको केन्द्रमा नयाँ व्यक्ति वा संस्था आइपुग्छ यही समाजको नियम हो ।
जुन यथार्थवादी धाराको केन्द्रले आफूलाई भक्तिधाराबाट टाढा राख्छ, उसको आयु सापेक्षिक रूपमा लम्बिएकै हुन्छ । यसर्थ नेतृत्व हमेशा भक्तिधाराबाट टाढै रहँदा राम्रो । यो कामना गर्न सकिने विषय हो, तर उमेरका हिसाबले पनि बुढ्यौलीलाई भक्तिधारा मन पर्छ । सत्ताको म्युजिकल चेयरमा झोक्राइरहेको बुढ्यौली वर्गले सरकारलाई सतरञ्ज खेलको आनन्दबाहेक धेरै ठानेको छैन । २०/३० वर्ष शासनको केन्द्रमा रहेर ३, ५, ७ पटक प्रधानमन्त्री बनेको रेकर्ड कायम गर्न यो समूह जति आतुर छ, देशको मुहार फेर्न यससँग कुनै रोडम्याप छैन । पटक–पटक प्रधानमन्त्री बनिसकेका र ३ देखि १७ पटकसम्म मन्त्री बनेकाहरूबाट के नयाँ आशा गर्न सकिन्छ र ?
संविधान संशोधनको उद्देश्य हेर्यो भने राजनीतिमा दुईदलीय सिन्डिकेट लगाउने उपायबाहेक केही लक्ष्य देखिँदैन । सत्ता सञ्चालनको उद्देश्य हेर्यो माफिया संरक्षणबाहेक अर्को योजना देखिँदैन । युवाहरूलाई विदेश पठाउने र उनीहरूले देशमा पठाउने रेमिट्यान्समा मस्ती गर्नेबाहेक हाम्रो दिमागमा नयाँ कुरा छैन । मार्क्स, मण्डेला, माओ र गान्धीहरूको ब्यानरमा मानिसलाई कहिलेसम्म वेबकुफ बनाउन सकिन्छ, थाहा छैन । अहिलेसम्म हामीले बनाएको भनेकै जनतालाई बेवकुफ, कार्यकर्तालाई भक्त र देशलाई कंगाल हो ।
हामीले अभिव्यक्तिको स्वतन्त्रताका लागि पार्टी बनायौं । गलत कुराका विरुद्ध बोल्न पार्टी बनायौं । देशको चासो र चिन्ता हाम्रो कर्तव्य हो भनेर पार्टी बनायौं । त्यसैले पार्टीभित्रकै जिम्मेवारहरूले अब बोल्नुपर्छ कि अहिलेसम्म गरिरहेको यो कोर्स करेक्सन गर्न जरुरी छ । एकातिर मिलिभगतको कोर्स, दाउपेचको कोर्स, प्रतिशोधको कोर्स, चाकडीको कोर्स यस्ता देश र जनतालाई हानी हुने कोर्स करेक्सन नगरिकन हामीले देश निर्माण गर्न सक्दैनौं । अर्कोतिर दशकौंसम्म एउटै स्थानमा रहेर पर्फर्मेन्स दिइसकेकाबाट अब थप नयाँ पर्फर्मेन्स दिन बाँकी छ भन्ने आशाको सुविधा नरहेकाले पनि यो समूहलाई दुःख दिनुहुँदैन ।
समकालीन नेताहरूको उमेर समूहलाई ऊर्जा थप्ने काम मसालका नेता मोहनविक्रम सिंहले गरेका छन् । जीवनको ९० औं दशकको अन्त्यतिर पुग्दा पनि उनले नेतृत्वमा अर्कोलाई योग्य र सक्षम देखेका छैनन् । गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतले बालुवाटारलाई ‘डेथ बेड’ बनाएका थिए, अहिले सबैमा त्यही आकांक्षा देखिएको छ । दिमागमा बिराम र पर्फर्मेन्समा पूर्णबिराम लागे पनि सत्तायात्राको अबिराम यात्रा जारी राखेका नेताहरूको दास बन्न हाम्रो तँछाडमछाड छ, जसले उनीहरूको लालसाको आगोमा घ्यु थपिँदै छ ।
गम्भीरताका साथ सोच्ने हो भने एक थान मान्छेहरूलाई मन्त्री र सांसद बनाउन मात्रै राजनीति गर्न अझै सम्भव छ भन्ने ठानिनु मूर्खता हुन्छ । अब पार्टीभित्र होस् वा बाहिर इमान, क्षमता, प्रतिभा र हक्की स्वभावलाई बेवास्ता गर्ने समय अन्त्य भइसक्यो । फेरि पनि केही युवालाई बुढाहरूलाई सुमेरु पर्वत बनाएर परिक्रमा गर्दै प्रोटोकल कायम गर्ने वा बढाउने रहर छ ।
हामीलाई के थाहा छैन भने जीवनको कलिलो उमेरमा विश्वेश्वरप्रसाद कोइरालालाई राणाहरूले प्रोटोकल दिएका होइनन् । पञ्चायत र पञ्चहरूले मदन भण्डारीहरूलाई प्रोटोकल दिएका होइनन् । संवैधानिक राजतन्त्रमा रहेका दलहरूले बोलाएर प्रचण्डलाई प्रोटोकल दिएका होइनन् । प्रोटोकल व्यक्तिको सेवा, चाकडी गरी कृपामा प्राप्त हुने चिज होइन । प्रोटोकल प्राप्तिका लागि निष्ठा, त्याग, समर्पण र जनताको आवाजको प्रतिनिधित्व गर्न सक्नुपर्छ । अरूको कृपाले बनेको प्रोटोकल क्षणिक हो र त्यो वास्तवमा रंगहीन तथा सुगन्धहीन हुन्छ । यसर्थ कृपाबाट प्राप्त पदको आस नगरी सत्ताको म्युजिकल चेयरमा रहेको बुढ्यौली समूहलाई आरामको समय दिएर मुलुकलाई नयाँ उचाइमा लैजानुपर्छ ।