२७ असार २०८३, शनिबार
विश्व कीर्तिमानले नथाकेका व्यक्ति

भरतका अनेक प्रतिभाः दुवै हातले उल्टो–सुल्टोदेखि खुट्टा र कुमले पनि लेख्ने क्षमता

साउन १९, २०८१
काठमाडौं
भरतका अनेक प्रतिभाः दुवै हातले उल्टो–सुल्टोदेखि खुट्टा र कुमले पनि लेख्ने क्षमता

कैलालीका भरत विष्टसँग एक होइन अनेक प्रतिभा छन् । विश्व कीर्तिमान बनाएर गिनिज बूकमा आफ्नो नाम लेखाइसकेका उनी दुवै हातले उल्टो–सुल्टो अक्षर लेख्न सक्छन् । त्यतिमात्र हाेइन उनीसँग खुट्टा र कुमले पनि लेख्न सक्ने अद्भुत क्षमता पनि छ । साथै उनी विशिष्ट क्षमता भएका शिक्षक र साहित्यकार पनि हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका– १ साडेपानीका भरत बाल्यावस्थाबाटै मेहनती थिए । सामान्य परिवारमा सङ्घर्षपूर्ण जीवनयापन गर्नुपरेकाले पनि होला उनको ध्यान मुख्यतया पढाइमै केन्द्रित थियो । भरतका बुवा भारतमा रोजगारी गर्थे । उनले पठाएका पैसाले घर खर्च चलाउनै मुस्किल पर्थ्यो । कापी–कलम किन्न पनि उनलाई निकै समस्या हुन्थ्यो । ‘मैले बाल्यकालमै सङ्घर्ष के हो बुझेकाले होला सायद अहिले जीवनयापन गर्न सहज भइरहेको छ । अध्ययन गर्ने बेलामा मसँग पाँचभन्दा बढी किताबका लागि आवश्यक कपी र कलम हुँदैनथे । कहिले मागेर त कहिले त्यसैलाई पुनः प्रयोग गरेर काम चलाउँथे,’ बाल्यकाल सम्झिँदै भरतले भने ।

null

कक्षा १० पछि आर्थिक अभावकै कारण बुवा–आमाले पढाउन सक्दैनौँ भनेपछि उनले आफैँले केही गर्नुपर्छ भन्ने सोच बनाए । त्यही समयमा वैवाहिक बन्धनमा पनि बाँधिए । यसपछि काँधमा एउटा ठूलो जिम्मेवारी थपियो । उनीसँग दुई विकल्प थिए । एक– रोजगारीका लागि बुवाले जस्तै भारतमा गएर सङ्घर्ष गर्ने । दोस्रो– गाउँघरमै रोजगारी गर्दै आफ्नो अध्ययनलाई पनि अगाडि बढाउने । भरत मेहनती भएकाले उनलाई पढाइ छोड्न मन पटक्कै थिएन । उनले दोस्रो विकल्प नै रोजे । १० कक्षा पास गरिसकेपछि उनले स्थानीय एक बोर्डिङ स्कूलमा जागिर पाए । प्लस टू र स्नातक तह उनले घरबाटै पढेर पास गरे । भरत आफू पनि पढ्थे र आफूभन्दा साना कक्षाका विद्यार्थीहरूलाई पनि पढाउँथे । त्यहाँबाट आएको रकमले घर खर्च सँगै आफ्नो पढाइ खर्च पनि बेहोर्थे । स्नातकपछि भने उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । जागिरलाई भने निरन्तर अगाडि बढाइरहे ।

बाबु–छोरा नै कीर्तिमानी 

भरत १७ विधामा कीर्तिमानी कायम गरिसकेका थानेश्वर गुरागाईँलाई आफूले राखेको विश्व कीर्तिमानको पनि जस दिन्छन् । त्यसो त विश्व कीर्तिमानका लागि गरेका उनका कयौँ प्रयास असफल भए । पहिलो पटक उनले विश्वमा विश्व फूटबल महासंघ (फिफा)सँग आबद्ध रहेका २०९ वटा देशको नाम १ मिनेट १ सेकेन्डमा वाचन गरेर विश्व कीर्तिमान राख्ने तयारी गरे । गिनिज बूकको टोली नेपाल आइपुग्यो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ती राष्ट्रको नाम वाचन गरे । १ मिनेटमा २०९ राष्ट्रको नाम वाचन गरे पनि प्राविधिक त्रुटि भएको भन्दै उनले प्रमाणपत्र पाएनन् । अर्थात् उनी गिनिज बूकमा नाम लेखाउन असफल भए ।

null

यसका बीच पनि उनीभित्रको कीर्तिमान राख्ने हुटहुटी भने झन् तीव्र बन्दै गयो । २०१७ जनवरी १ मा काठमाडौंमै एक कार्यक्रम आयोजना गर्दै भरतले १ मिनेटमा ४२ पोटी लसुन खाएर विश्व कीर्तिमान बनाउँदै गिनिज बूकमा नाम लेखाए ।

उनीमात्रै होइन उनका छोरा अभिषेक विष्टले पनि कीर्तिमान बनाएका छन् । चार वर्षको उमेरमै अभिषेकले आफ्नो मुखमा ४० पेन्सिल १० सेकेन्डसम्म ‘होल्ड’ गरेर रेकर्ड सेन्टरमा नाम लेखाएका हुन् ।

अनि थाले दुवै हातले लेख्न

आफूसँगका दौँतरी र आफूले पढाउने विद्यार्थी प्रायः सबैले दायाँ हातले मात्रै लेख्ने गरेका थिए । भरतको मनमा एक सोच आयो । बायाँ हातले पनि लेख्न सकिन्छ कि भन्ने ! अनि उनी प्रयास गर्न थाले । ‘केही समय सहज भएन अप्ठ्यारो नै भयो । प्रयास गर्दागर्दै बायाँ हातले लेख्न पनि सहज हुन थाल्यो । त्यसपछि मैले दायाँ–बायाँ दुवै हातले लेख्न थालेँ । दुवै हातले लेख्दा अक्षर एउटै हुन थालेपछि मैले औपचारिक परीक्षा पनि दुवै हातले नै दिएँ । तीन घण्टाको परीक्षा हुन्थ्यो । मैले डेढ घण्टा एक हातले र अर्को डेढ घण्टा अर्को हातले लेख्थे । यसरी परीक्षा दिँदा निकै सजिलो हुन्थ्यो । हात थाक्ने समस्या पनि त्यसपछि कहिले आएन’, उनी भन्छन् ।

null 

त्यसपछि अन्य खोजमा 

दुवै हातले लेख्न सफल भएपछि भरत अन्य खोजमा रहे । फलस्वरुप उनी उल्टोबाट लेख्न, दुवै हातले सँगै लेख्न र खुट्टा र कुमले पनि लेख्न थाले ।  अहिले भरत विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीलाई दुवै हातले लेख्न र अक्षर पनि सफा बनाउन सिकाइरहेका छन् ।

निजी विद्यालयमा पाएको जागिर छोडेर उनी यतिबेला शिक्षण सिकाइ अभियानमा व्यस्त छन् । ‘पछिल्लो समयका विद्यार्थी र शिक्षकहरूका अक्षर ध्वस्त छन् । राम्रा अक्षर समयको माग हो । शिक्षकहरूको अक्षर राम्रो भयो भने विद्यार्थीको पनि राम्रो हुन्छ,’ उनले भने, ‘त्यसकारण मैले अहिले अक्षर सुधार अभियान नै थालेको हुँ । थुप्रै विद्यालयमा राम्रो अक्षरले र दुवै हातले लेख्न सक्ने शिक्षक र विद्यार्थी उत्पादन भएका छन् ।’

null

हस्तकला र दुवै हातले लेखन अभियान लिएर भरत नेपालका ३७ जिल्लाका ८४ वटा विद्यालयमा पुगिसकेका छन् ।  १० दिने कार्यक्रमबाट ४० हजार, एक हप्ताको कार्यक्रममा २५ हजार र कमजोर आर्थिक स्रोत भएका विद्यालयमा उनले पाँच हजारका दरले पारिश्रमिक लिइरहेका छन् ।  यो अभियानबाट सिक्ने र सिकाउने दुवै पक्षलाई फाइदा पुगिरहेको उनको बुझाइ छ । विद्यार्थी र शिक्षकले अक्षर सुधार गर्न पाइरहेका छन् भने भरतले मनग्य आम्दानी गरिरहेका छन् ।

‘आम्दानीको कुरा गर्ने हो भने म निकै सन्तुष्ट छु । सबै खर्च कटाएर प्रत्येक महिना ५० हजार रुपैयाँ जति बचत गर्न सकिरहेको छु । आर्थिक अवस्था निकै कमजोर भएका केही विद्यालयलाई मैले निःशुल्क पनि सीप सिकाइरहेको छु । यो अभियानलाई म अझै अगाडि बढाउँछु । देशभरका प्रत्येक विद्यालयमा जहाँ–जहाँ पुग्न सकिन्छ, त्यहाँ–त्यहाँ पुगेर म सीप सिकाउन चाहन्छु,’ उनले भने ।

null

विगत १२ वर्षदेखि फरक–फरक गतिविधिमा संलग्न भरत अब भने जमेर हस्तलेखन क्षेत्रमा लाग्ने बताउँछन् । शिक्षकहरूका लागि विभिन्न गतिविधि, शिक्षासँगै मोटिभेसनल कक्षा, लेखनसीप, पढनसीप र पब्लिक स्पिकिङ कक्षा सञ्चालनका लागि इन्स्टिच्युट खोल्ने तयारीमा छन् उनी ।

‘कुनै पनि देश र समाजले उन्नति गर्नका लागि शिक्षाको भूमिका उच्च हुन्छ । शिक्षाको अवस्थामा सुधार भयो भने नागरिकको जीवनस्तरमा पनि अत्यधिक सुधार हुन्छ । अबको शिक्षा जीवन उपयोगी प्राविधिक र सीप विकासयुक्त हुन नितान्त आवश्यक छ,’ उनी भन्छन्, ‘बढ्दो युवा बेरोजगारी र निराशा हटाउन तथा बालबालिकालाई भविष्यप्रति सजग बनाउनका लागि विद्यालय शिक्षामा मोटिभेसनल कक्षाको पनि जरुरी हुन्छ ।’

योबाहेक भरतको साहित्य क्षेत्रमा पनि विशेष रुचि छ । उनले ‘मेरो सपना’ कवितासंग्रह, गजल, मुक्तक र पाण्डुलिपि लगायतका विभिन्न कृतिमा कलम चलाइसकेका छन् ।  लामो दौड, हाफ म्याराथन लगायतका विभिन्न खेलकुद प्रतियोगितामा पनि उनी भाग लिने गर्छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्