०५ साउन २०८३, मंगलबार
सहकारी ठगी

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति आफैं समस्यामा, फिर्ता भएन बचतकर्ताको ३६ अर्ब

साउन २५, २०८१
काठमाडौं
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति आफैं समस्यामा, फिर्ता भएन बचतकर्ताको ३६ अर्ब

एक वर्षअघि (२०८०) असारमा ओरिएन्टल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुधीर बस्नेतले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’विरुद्ध हालेको मुद्दा फिर्ता लिए ।

उक्त सहकारीका अध्यक्षले समितिविरुद्ध हालेको मुद्दा फिर्ता लिएलगत्तै बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउने आशा राखेका थिए । 

सरकारले २०७९ असोज ७ गते ओरिएन्टल सहकारीलाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेको थियो । उक्त घोषणा प्रक्रिया गलत भएको भन्दै अध्यक्ष बस्नेतले सर्वोच्चमा तत्कालीन सहकारी मन्त्री, सचिव, सहकारी विभागका रजिस्ट्रारविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दाकै कारण समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले काम अगाडि बढाउन सकेको थिएन । त्यतिबेला बस्नेतले ४ हजार ३ सय बचतकर्ताको करिब ६ अर्ब रुपैयाँ फिर्ता दिनुपर्ने समितिले देखाएको थियो । 

बस्नेतले साउन महिनाभित्र १ लाखभन्दा कम बचत रहेका बचतकर्ताको रकम पहिलो चरणमा फिर्ता दिने बताएका थिए, जुन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पनि स्वीकार गरेको थियो । तर, बारम्बार मिति सार्दै बस्नेतले तीन महिनापछि १ लाखभन्दा कम बचत भएकाहरूको रकम कात्तिकमा गएर फिर्ता गरे । २०८० कात्तिकमा ६०१ जना बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २४ करोड रुपैयाँ फिर्ता गर्‍यो । 

अब ओरिएन्टल सहकारीका ३ हजार ६५८ बचतकर्ताले २ अर्ब ९५ करोड ५० लाख २२ हजार रुपैयाँ फिर्ता पाउन बाँकी छ । गत असारमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा १२ वटा सहकारी मात्रै रहेका थिए, जसमध्ये दुईवटा सहकारीको राफसाफको काम समितिले गरिसकेको थियो । 

त्यसलगत्तै, २०८० साउन १ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गर्‍यो । 

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा मात्रै मन्त्रालयले तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था गरी ९ सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । चालू आर्थिक वर्षको साउन ४ गते नेपाल सहकारी वित्तीय संस्थालाई पनि समस्याग्रस्त घोषणा गरिएको छ ।  

गत वर्ष १२ वटा सहकारी समस्याग्रस्त रहेकोमा यस वर्ष हालसम्म कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड र चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको मात्रै राफसाफको काम भएको छ । 

चालू आर्थिक वर्षको साउन महिनासम्म आइपुग्दा ५८ हजार बचतकर्ताको करिब ३६ अर्ब रुपैयाँ फिर्ता दिलाउनुपर्ने जिम्मेवारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमाथि रहेको छ । 

पहिलोपटक २०७४ सालमा समस्याग्रस्त घोषणा भएको ओरिएन्टलका बचतकर्ताहरूले करिब ७ वर्ष बितिसक्दा पनि आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् ।

null

त्यस्तै, २०७५ सालमा समस्याग्रस्त घोषणा भएर अहिलेसम्म बचत फिर्ता पाएका ७ वटा सहकारी उस्तै अवस्थामा रहेका छन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अहिलेसम्म समस्याग्रस्त घोषणा भएका सहकारीको बचत फिर्ता गराउने कार्य प्रगति २.२० प्रतिशत मात्रै रहेको छ । 

एक वर्षअघिदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको दरबन्दी नदिएकाले काम अगाडि बढाउन ढिलाइ हुँदै आएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेल बताउँछन् । उनका अनुसार समस्याग्रस्त सहकारी घोषणा संख्या दोब्बर हुँदा कर्मचारीको अभाव रहेकाले काम गर्न ढिलाइ भइरहेको छ । 

सदस्यसचिव केशवप्रसाद पौडेलले भने, ‘सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने काम मात्र भयो । विगतमा हामीले जोडतोडका साथ काम गर्दा पनि प्रगतिको विवरण सुस्त थियो । र, अहिले झन् समस्याग्रस्त सहकारीको संख्या १० बाट २२ पुगिसकेको छ । मन्त्रालयमा कर्मचारीको दरबन्दी माग गरेको १ वर्ष भइसक्यो तर, अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएको छैन । कहिले अर्थ मन्त्रालयबाट स्वीकृत हुँदैन, त कहिले कुनै मन्त्रालयबाट ।’ 

अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ११ जना करारका कर्मचारी रहेका छन् भने ७ जना पदाधिकारीमा ३ जनाको पद अझै रिक्त रहेको छ । ६ जना प्रहरी समितिको कार्यालयमा रहेका छन् ।  

सदस्यसचिव पौडेलका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने काम मात्रै गर्‍यो, तर स्रोत र साधन उपलब्ध गराउन सकेन । 

समितिले कार्यालयमा ४३ जनाको दरबन्दी व्यवस्था गर्न एक वर्षदेखि माग गर्दै आइरहेको छ । तर, सरकार परिवर्तन र यसतर्फ मन्त्रालयको जोड नहुँदा काम गर्न कठिन भइरहेको सदस्यसचिव पौडेलको भनाई छ । 

सहकारीका बचतकर्ताहरू दिनहुँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा धाइरहेका छन् । तर, वर्षौंदेखि बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाएका छैनन् । आफ्नो बचत फिर्ता नपाएको आक्रोश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमाथि खन्याइरहेको पनि सदस्यसचिव पौडेलले सुनाए । 

‘कार्यालयमा सबै बचतकर्ताहरू आएर आक्रोश मात्रै पोखेर जान्छन् । सबैभन्दा पहिले हाम्रो जनशक्ति एकदमै कम छ । त्यसमा पनि पदाधिकारीकै कुर्सी खाली छ । बचतकर्ताहरूले हामीलाई काम गरेनौ भन्छन् । कानूनी प्रक्रिया, जनशक्तिको अभाव र स्रोतको कमीले कामहरू सुस्त भइरहेको छ । मन्त्रालयले माग गरेको दरबन्दी दिँदा वर्षौंदेखि मारमा रहेका बचतकर्ताहरूले छिट्टै बचत फिर्ता पाउँथे भने हामीले पनि बीचमा गाली खाँदै बस्नुपर्ने थिएनँ ।’ 

salt training

कमेन्ट गर्नुहोस्