२७ असार २०८३, शनिबार

'नाडा अटो शो'को तीव्र तयारीमा व्यवसायी, सरकारबाट नीतिगत सहजीकरणको अपेक्षा

साउन २८, २०८१
काठमाडौं
'नाडा अटो शो'को तीव्र तयारीमा व्यवसायी, सरकारबाट नीतिगत सहजीकरणको अपेक्षा

अगामी भदौ ११ देखि १६ गतेसम्म हुने ‘नाडा अटो शो २०२४’ को तयारी तीव्ररूपमा भइरहेको छ । व्यवसायीहरू पनि अटो शोको तयारीमा व्यस्त छन् । गत वर्ष ईभीमय बनेको अटो शो यस वर्ष पनि ईभीमय नै बन्ने देखिन्छ । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गत जेठ ३१ गतेदेखि नै सहभागी हुने कम्पनी तथा ब्रान्डहरूका लागि स्टल बूकिङ खुला गरेको थियो । 

१६ औं संस्करणको ‘नाडा अटो शो– २०२४’लाई लिएर व्यवसायीहरू उत्साहित छन् । 

हरेक वर्ष हुने देशकै सबैभन्दा ठूलो अटो शोमा नयाँ ब्रान्डका गाडी लन्चिङदेखि प्रदर्शनसम्म हुने गर्छ । गत वर्ष करिब ७६ हजारले अटो शो अवलोकन गरेका थिए ।

यस वर्षको लक्ष्य पनि अलिक बढी नै हुने देखिन्छ । 

ईभीप्रति ग्राहकको रुचि बढेकाले यस वर्षको अटो शोमा ६० प्रतिशतभन्दा बढी ईभी गाडीहरू देखिने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए ।

उनका अनुसार कोभिडको समयमा स्थगित गरिएको देशकै ठूलो अटो शोप्रति ग्राहकको उत्साहमा कमी आएको छैन, बरु थपिएको छ ।

नाडा अटो शो २०२४ को तयारी तीव्र रूपमा भइरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेती बताए । 

छिट्टै पत्रकार सम्मेलनमार्फत नाडा अटो शो– २०२४ घोषणा गरिने उनको भनाइ छ । 

सरकारी नीतिका कारण अटोमोबाइल क्षेत्रमा समस्या 

अटो शोलाई लिएर व्यवसायीहरू आशावादी रहे पनि देशको अटोमोबाइल क्षेत्र निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । व्यवसायी पलायन हुने अवस्थामा पुग्न लागेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी बताउँछन् । 

अध्यक्ष चौधरीले भने, ‘समग्र अटोमोबाइल क्षेत्र अहिले निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । देशको जीडीपीमा २१ प्रतिशतसम्म योगदान दिने अटोमोबाइल क्षेत्रमा अहिले ६८ प्रतिशतसम्मले गिरावट आएको छ । अटोमोबाइल क्षेत्रमैत्री नीतिको कमीले थुप्रै व्यवसायीहरू पलायन हुने अवस्थामा पुगिसकेका छन् । 

स्थिति यति भयावह छ कि आफ्नो व्यवसाय बन्द गरी विदेश जानुपर्ने स्थितिसम्म आएको गुनासो व्यवसायीहरूको छ । व्यापार बन्द हुनु भनेको देशको रोजगारीमा समस्या आउनु हो । व्यवसायीलाई टिकाउन ईभीमा लागू गरिएको सहुलियत नीतिलाई निरन्तरता दिनुपर्ने व्यवसायीहरूको भनाइ छ ।

‘अब दिनमा हामीले पर्याप्त विद्युतीय पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । तर, पेट्रोलियम गाडीहरूलाई नकारात्मक रूपमा हेर्नु हुँदैन । आज धेरै नेपालीहरूको रोजगारी यसमा निर्भर छ । पेट्रोलियम गाडी र ईभीलाई ‘लेभल प्लेयिङ फिल्ड’ मा राख्नुपर्छ, अर्थात् भन्सार घटाउनुको साटो खरिदमा सहजता गर्नुपर्‍यो । यसका साथै ५० प्रतिशत डाउन पेमेन्ट अनिवार्य गर्नेजस्तो नीति र नियममा सुधार हुन आवश्यक छ । यसले अटो मोबाइल क्षेत्रमा गिरावट आइरहेको छ,’ उनले भने ।    

महासचिव उप्रेतीले पनि सरकारले अटो मोबाइल क्षेत्रलाई बेवास्ता गरिरहेको गुनासो गरे ।

‘सरकारले अटो मोबाइल क्षेत्रलाई सहयोग नै गरेको छैन भन्दा फरक पर्दैन । चाहे त्यो विगतका वर्षमा होस्, या अहिले । सधैं यो क्षेत्र मारमा पर्दै आइरहेको छ । देश विकासको मेरुदण्ड ट्रान्सपोटेसन हो । यसलाई कुन सरकारले बुझ्छ थाहा छैन । यसका साथै सरकार यस क्षेत्रलाई जोगाउनुपर्छ भन्ने पक्षमा पनि छैन जस्तो लाग्छ । कर मात्रै लिएर देश बन्दैन । यस क्षेत्रलाई सधैं यसरी नै नर्हेने हो भने, भोलिको दिनमा एउटा मात्रै व्यवसायी विस्थापित हुँदा कयौं रोजगारी गुम्छन्, त्यसबारे सोच्नुपर्छ,’ महासचिव सुरेन्द्र उप्रेतीले भने । 

यस्तो छ अटो शो को विगत 

सन् १९९८ मा नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसको संयुक्त आयोजनामा पहिलोपटक नाडा अटो शो भएको थियो । त्यस्तै, सन् २००० को नोभेम्बरमा दोस्रो अटो शो सम्पन्न भयो ।

सन् २००४ मा तेस्रो, सन् २००७ सेप्टेम्बरमा चौथो, सन् २००९ को अगस्टमा पाँचौं र सन् २०११ को सेप्टेम्बरमा छैटौं अटो शो सम्पन्न भएको थियो । 

त्यति बेलासम्म दुई/तीन वर्षको अन्तरमा गरिँदै आएको अटो शो सन् २०११ बाट प्रत्येक वर्ष गर्ने निर्णय नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले गरेको थियो । र, सन् २०१२ को सेप्टेम्बरमा सातौं अटो– शो सम्पन्न गरियो । 

त्यसैगरी, सन् २०१३ मा आठौं, सन् २०१४ मा नवौं, सन् २०१५ को सेप्टेम्बरमा १० औं, सन् २०१६ मा ११ औं, सन् २०१७ मा १२ औं, सन् २०१८ को सेप्टेम्बरमा १३ औं र सन् २०१९ मा १५ औं अटो शो सम्पन्न भएको थियो ।

त्यसलगत्तै कोभिड– १९ को लहरका कारण चार वर्षसम्म अटो शो हुन सकेन । र, गत वर्ष सन् २०२३ मा १५ औं संस्करणको नाडा अटो शो सम्पन्न भएको थियो । १६ औं संस्करणको अटो शो आगामी भदौमा गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्