
मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता भएको छ ।
महासंघमा आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीहरूलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यावसायिक साक्षरताको लागि सहकार्य गर्ने छ ।
महासंघकी अध्यक्ष ज्ञवालीले यस सम्झौतापछि महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई आर्थिक विकास गर्न र व्यावसायिक तथा वित्तीय साक्षरताको क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
बैंकले 'नेपालमै टिक्न, सजिलो छ' भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।