
नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने व्यवस्था गरेको छ ।
यसअघि प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (Active) गराउनु पर्ने थियो । तर अब सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीले *1415*7# डायल गरेपश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए र नभएको यकिन गर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।
रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुने टेलिकमले जनाएको छ ।
भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरूले नेपालमै रहँदा आफ्नो मोबाइलबाट यूएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्नुपर्नेछ ।
नेपालमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्न सकिनेछ । जसका लागि [email protected] मा इमेलमार्फत अनुरोध गर्नुपर्ने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ ।
सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् ।
यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरूलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ ।
अब कम्पनीका सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भएपश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।