
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ ११ गतेदेखि ‘नाडा अटो शो– २०२४’ आयोजना हुने घोषणा गरिसकेको छ ।
कोभिड– १९ महामारीका कारण ४ वर्षसम्म स्थगन गरिएको नाडा अटो शो गत वर्ष भव्यरूपमा सम्पन्न भयो । यसवर्ष पनि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तीव्ररूपमा तयारी गरिरहेको छ ।
नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीलाई विगतका वर्षभन्दा केही भिन्न बनाइने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए ।
नेपालमा विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियताले गर्दा अन्तर्राष्ट्रिय कम्पनीले पनि नयाँ–नयाँ गाडी नेपाल भित्र्याइरहेका छन् ।
भदौ ११ देखि १६ गतेसम्म हुने अटो शोमा नयाँ–नयाँ गाडीहरू देख्न पाइनेछन् । नेपालमा लन्च नभएका गाडीहरू समेत अटो शोमा लन्च गरिनेछ ।
पञ्च ईभी लन्च गर्दै टाटा
नेपाली अटो मोबाइल क्षेत्रका लागि आशाको किरणका रूपमा रहेको नाडा अटो शो २०२४ लाई लिएर उत्साहित रहेको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले बताए ।
उनका अनुसार गत वर्ष जस्तै यसवर्ष पनि नाडा अटो शो ईभीमय हुनेछ ।

सीईओ श्रेष्ठले भने, ‘हाम्रो लागि आशाको किरण हो, नाडा अटो शो । हामी आशावादी र उत्साहित छौं । टाटाको तर्फबाट यस वर्षको अटो–शोमा नयाँ कुराचाहिँ पन्च ईभी लन्च गरिनेछ । यसको मूल्य पनि त्यही दिन सार्वजनिक गरिनेछ । त्यस्तै, टियागो ईभी पनि देख्न पाइने छ ।’
भारतमा गत जनवरीमा लन्च भएको पन्च ईभीले नेपाली बजारमा राम्रो चर्चा कमाइसकेको छ । ६० र ९० किलोवाट क्षमताको मोटरसहितको पन्च ईभीले ३१५ किलोमिटरदेखि ४२१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसका साथै पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । कम्पनीका अनुसार पन्च ईभी ५६ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ ।
ओमोडा
सारडा ग्रुप्सले गत माघमा मात्रै ओमोडा ई– ५ ईभी लन्च गरेको थियो । नेपालमा राम्रो बजार बनाइरहेको ओमोडाले छोटो समयमा नै निकै लोकप्रियता कमाउन सफल भएको छ ।

नाडा अटो शो २०२४ मा ओमोडा ई– ५ को सोकेश हुने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले नयाँ भेरियन्टमा ओमोडा ई– ५ ईभीलाई पनि प्रदर्शन गर्नेछ । ४३० किलोमिटर रेन्ज दिने ओमोडा ई– ५ ईभीका दुवै भेरियन्ट देखिनेछन् ।
‘जेको जे– ६’
सारडा ग्रुप्सले जेको जे– ६ लाई पनि नाटा अटो शोमा ल्याउने तयारी गरिसकेको छ । ५०० किलोमिटर रेन्ज दिने जेको जे– ६ मा ६९.८ किलोवाट आवर ब्याट्री रहेको छ ।

चिनियाँ कम्पनी चेरी ब्रान्डअन्तर्गतको जेको जे– ६ मा २०० किलोवाटको मोटर पावर रहेको छ । यसका साथै १३५ किलोवाट पीक पावर रहेको दमदार जेको जे– ६ को मूल्य करिब ७० लाख हुने जनाइएको छ ।
जिकर एक्स
नाडा अटो शो– २०२४ मार्फत ‘जिकर एक्स’ नेपाल भित्रिने भएको छ ।
जिकर एक्समा १५० किलोवाटको डीसी चार्जसहित गाडीभित्र रहेको २२ किलोवाटको एसी चार्जले ४ घण्टामा फूल चार्ज हुने दाबी गरिएको छ ।

६६ किलोवाट आवर क्षमताको टर्नरी लिथियम आयन ब्याट्रीसहितको जिकर एक्सको पीक पावर २०० किलोवाट रहेको छ । जिकरले सिंगल चार्जमा ४४० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको मूल्य पनि नाडा अटो शोबाटै सार्वजनिक गरिने जनाइएको छ ।