०५ असार २०८३, शुक्रबार
प्रहरी चेकिङमा प्रश्न

ट्राफिक प्रहरीमाथि जनआक्रोश– सवारी व्यवस्थापन गर्ने कि राजस्व मात्र उठाउने ?

साउन ३२, २०८१
काठमाडौं
ट्राफिक प्रहरीमाथि जनआक्रोश– सवारी व्यवस्थापन गर्ने कि राजस्व मात्र उठाउने ?

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको भयानक दुर्घटनापछि ट्राफिक प्रहरीमाथि जनआक्रोश बढेको छ ।

प्रहरीको काम सवारी व्यवस्थापन गर्ने हो कि राजस्व उठाउने भन्दै चौतर्फी आलोचना भइरहेको हो ।​ गट्ठाघरमा बिहीबार ट्रकले किचेर स्कूटर चालकको मृत्यु भयो ।

त्यही एरियामा प्रहरी ‘चेकिङ’ पनि रहेकाले धेरैले यसलाई चेकिङसँगै जोडेर हेरे ।

बिहीबार त्यस एरियामा चेकिङ रहे पनि उक्त स्कूटर र ट्रक भने चेकिङमा नपरेको सीसीटीभी फूटेजले देखाएको छ । तर, पृष्ठभूमिमा सडकको दुवैतर्फ ट्राफिक प्रहरी देखिन्छन् ।

पछिल्ला दिनमा तीव्र गतिमा हुइँकिएका सवारीका कारण दुर्घटना निम्तिने खतरा बढेको भन्दै ट्राफिक प्रहरीले ‘स्पीड गन’मार्फत सवारी जाँच गर्दै आएको छ । 

बिहीबार पनि गट्ठाघरमा ट्राफिक प्रहरीले सवारीको गति मापन गरिरहेको थियो ।

बाहिरिएको सीसीटीभी फूटेजअनुसार पनि ट्रकले स्कूटरलाई लतारेको देखिन्छ । नजिकै ट्राफिक प्रहरी हुँदा पनि दुर्घटना हुँदा त्यहाँ जनआक्रोश बढेको देखिन्छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा दैनिक ३५ देखि ४० स्थानमा ‘चेकप्वाइन्ट’ राखिन्छ । समय, सवारीसाधन लगायत लक्षित वर्गलाई लिएर ट्राफिकले चेकप्वाइन्ट राख्दै आएको छ ।

स्पीड गनबाट दैनिक ७ ठाउँमा चेकिङ हुन्छ । बिहानको समयमा विद्यार्थी र पानी ट्याङ्करलाई लक्षित गरेर ट्राफिकले चेक प्वाइन्ट राख्दै आएको छ । 

दिउँसो ट्रक र भाडाका बसलाई लक्षित गरेर चेकजाँच हुन्छ भने राति मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने चालकलाई लक्षित गरेर सवारी जाँच हुँदै आएको ट्राफिक प्रहरीले जनाएको छ । 

स्पीड गनबाट भएको सवारी जाँचकै कारण गत आर्थिक वर्षमा १६.८ प्रतिशतले दुर्घटना घटेको ट्राफिक कार्यालयको दाबी छ ।

त्यसो त काठमाडौं उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षतिको अवस्था हेर्दा दुर्घटना केही घटेको तथ्यांकले देखाउँछ । पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिको आँकडाले त्यसलाई पुष्टि गर्छ । 

आर्थिक वर्ष २०७८/०७९ मा १० हजार ७३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । 

आव २०७९/०८० मा १० हजार ६७५ दुर्घटना हुँदा १८७ को मृत्यु भएको थियो । गत आर्थिक वर्ष (२०८०/०८१) मा ८ हजार ८८१ सवारी दुर्घटना हुँदा १७७ जनाले ज्यान गुमाएका थिए । 

उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती र ३१ स्थानमा आकाशे पुल छन् । आकाशे पुल भए पनि पैदलयात्री सकभर सडकबाटै बाटो काट्ने गर्छन् । 

राजस्व मात्रै उठाउने कि सवारी व्यवस्थापन गर्ने ?

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा देशभरबाट कूल १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ संकलन गरेको देखिन्छ । उपत्यकामा मात्रै ३५ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यसअघि आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।

वार्षिक रूपमा डेढ अर्ब रुपैयाँ बढी राजस्व उठाउने ट्राफिक प्रहरीले सवारी व्यवस्थापनका लागि के गरेको छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

‘राजस्व सिधै सरकारको ढुकुटीमा जान्छ, हामीले आफू खुशी खर्च गर्न पाउने होइन,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘हामीले उठाएको राजस्व हामीले नै खर्च गर्न पाउने हो भने त त्यो अनुसारको स्रोतसाधन सम्पन्न गराउन सक्थ्यौं ।’ 

अहिले पनि ट्राफिक प्रहरीले सडकमा भौतिक उपस्थितिका साथ ड्युटी गर्नुपर्ने अवस्था छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवन कुमार श्रेष्ठले ट्राफिक प्रहरीले राजस्वउन्मुख भएर काम गर्‍यो भनी आरोप लगाउन नमिल्ने बताए ।

‘हामीले सडक दुर्घटना नहोस् भनेरै चेक प्वाइन्ट राखेर सवारी जाँच गर्ने हो,’ श्रेष्ठले भने, ‘ट्राफिक देख्दा मात्रै नियम मान्ने र नदेखेपछि लापरबाहीसँग हाँक्ने चालकका कारण दुर्घटना हुने गरेका छन् ।’

श्रेष्ठले सडकको अवस्था, सडकमा राखिएका ट्राफिक संकेत, चालक, यात्रु र पैदलयात्रुको लापरबाही, सवारी साधनकै यान्त्रिक गडबडी जस्ता कारणले सवारी दुर्घटना हुने गरेको बताए । 

उनले भने, ‘ट्राफिक प्रहरीले लुकेर स्पीड गनमार्फत चेकिङ गर्‍यो भन्ने आरोप छ, हामीले कार्यालयमै सीसीटीभीमार्फत उपत्यकाका धेरै ठाउँका सवारीसाधन कुन गतिमा गुड्यो भन्ने थाहा पाउँछौं, त्यसलाई लुकेको भन्न मिल्छ र ? सडकमा ट्राफिकको भौतिक उपस्थिति नभई चालकले नियम नमान्ने भएपछि के गर्ने ?’ 

रिङरोडमा स्पीड गनमार्फत दैनिक ४ ठाउँमा चेक प्वाइन्ट राखेको देखिन्छ । राति ७ बजेपछि बल्खु पुलमाथि सडक नै कब्जा गरेजसरी ट्राफिकले बोर्ड राखेर चेक प्वाइन्ट राख्दै आएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने चालकलाई लक्षित चेक प्वाइन्ट राख्ने ट्राफिक प्रहरीले टाढैदेखि टर्च लाइट बालेर चालकका आँखामा देखाउँदा पनि दुर्घटना हुने गरेको कतिपयको दाबी छ ।

तर, एसएसपी श्रेष्ठ भने सडक बत्तीको अपर्याप्तताका कारण पनि दुर्घटना हुने गरेको बताउँछन् । सवारी चालक र पैदल यात्रुले नियम मान्ने हो भने दुर्घटना निकै कम हुने दाबी उनले गरे ।

‘चेक प्वाइन्ट राख्दा चालकले देख्ने गरी बोर्ड राखेर व्यवस्थितसँग गर्नुपर्छ । ट्राफिक प्रहरीले यदाकदा बोर्ड नै नराखी चेकजाँच गर्दै आएका छन्,’ श्रेष्ठले स्वीकार्दै भने, ‘चालकको लापरबाहीबाट दुर्घटना नहोस् भनेर ट्राफिकले धेरै काम गरेको छ । तै पनि हामीमाथि आरोप आउँछ । सबैभन्दा राम्रो चालक, यात्रु र पैदलयात्रुले सडक र सवारी नियम मान्ने हो भने दुर्घटना यसै पनि कम भएर जान्छ ।’ 

यी हुन् धेरै दुर्घटना हुने स्थान

ट्राफिक प्रहरीका अनुसार काठमाडौं मल सुन्धारा, केशरमहल, सोह्रखुट्टे, ज्ञानेश्वर, बबरमहल, त्रिपुरेश्वर, टेकु, चोभार, बाँसबारी, ढुंगेअड्डा, नैकाप पिपलामोड, सतुंगल, ठूलो भर्‍याङ, माछापोखरी, बसुन्धरा, चपली, सुकेधारा, सरस्वतीनगर, पिंगलास्थान, सिनामंगल (कार्गो भवनअगाडि), जडिबुटी, ठिमी चोक, सागबारी, थली, बालकुमारी, एकान्तकुना, यूएनपार्क, धोबीघाट, थेचो र खोकना क्षेत्रमा धेरै दुर्घटना हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्