२४ असार २०८३, बुधबार
जीवनदर्शन

पराइ पुराण

भदौ १, २०८१
काठमाडौं
पराइ पुराण

को आफ्नो को पराइ ? झट्ट हेर्दा सबै आफ्नो, हेरिरहे सबै पराइ । नामैसम्म त आफ्नो छैन । अर्कैले दिएर पाइएको हो । त्यसैले पक्कै यो अर्कैको हो । आफ्नै भए त आफैँसँग हुनुपर्ने हो तर, यहाँ त त्यस्तो छैन । 

अर्कैले दिएरमात्र पाइएको छ । मानौँ एक छिनलाई त्यतिसम्म त ठीकै थियो रे तर, यहाँ त आफैँले फेर्ने साससम्म आफ्नो हुन पाएको छैन । अर्कैले दिएरमात्र पाइएको छ । त्यसैले नै फेर्न परेको छ, बदल्न परेको छ, बदल्न बाध्य हुनुपरेको छ ।  

अर्काले दिएको थियो प्रयोग गरियो, फिर्ता माग्यो दिनुपर्‍यो । कसैसँग मागेर प्रयोग गरिएको थियो । फिर्ता माग्यो दिनुपर्‍यो । नमागोस् पनि किन ? उसले सधैंलाई दिएकै थिएन । काम चलाउनसम्म दिएको थियो । काम चल्यो, फिर्ता माग्यो, मागेपछि दिनैपर्‍यो । दिइयो, जसको हो उतै गयो, जसले दिएको थियो उसैले लग्यो । यही हो जीवनदर्शन । यही हो जीवनको दर्शन । 

एउटाको मात्र होइन, दुईवटाको मात्र होइन । सबैको अवस्था यस्तै हो । शायद संसारकै अवस्था यस्तै हो । सबै भाडामा चलेको छ, चलाइएको छ । चाहिएको थियो मागियो । मागेपछि दिनै पर्‍यो ।

आँखाको अवस्था त्यस्तै हो, कानको अवस्था त्यस्तै हो, दाँतको अवस्था यस्तै हो, आँतको अवस्था त्यस्तै हो । कपालको अवस्था यस्तै हो, छाला, मासु, रगतको अवस्था त्यस्तै हो । पानीको अवस्था त्यस्तै हो, जवानीको अवस्था त्यस्तै हो । सापटीमै पाइयो, सापटीमै खाइयो । सापटीमै चल्यो । सापटीमै चलाइयो । त्यसैले बनायो, त्यसैले गलायो । हिजो पनि यस्तै आज पनि यस्तै । 

हुनसक्छ भोलिको पनि अवस्था यस्तै । पर्सिको पनि अवस्था यस्तै । सधैं मेरो मेरो भनियो तर, मेरो हुन सक्या कहिले होइन । आफूले त भनेकै हो तर, के गर्ने उसले भन्या होइन । उसले नभनेपछि के लाग्दो रहेछ र । एकोहोरो रोटी कहिल्यै पाक्या होइन ।  

यद्यपि मानिसले यसलाई आफ्नै बनाउन नखोज्या होइन । फिर्ता नगर्न नखोजेको होइन । फिर्ता नगर्ने प्रयास नगर्‍या होइन । गरेको हो, शायद धेरै नै गरेको हो, हरसम्भव गरेको हो । तैपनि हुन्छ कि भनेकै हो, पाटपूर्जा बदलेकै हो । ओभरहल नै गर्ने, गर्न खोज्नेसमेत कति छन् कति । यसै निम्ति कारखानाहरू बनेका छन्, बैङ्कहरू खुलेका छन्, खुलाइएका छन् तर, कसैको केही लागेको छैन । 

सबैको सपना सपनामै सीमित रहेको छ । बैङ्क ब्यालेन्सको आडमा फिर्ता गर्ने म्याद केही परसम्म धकेल्न सकेका छन् तर, लिएपछि दिनैपर्ने नियमलाई बदल्न भने सकेका छैनन् । न पचाउन सके न आफ्नै बनाउन नै सके । शायद हुनुपर्छ जीवन भनेकै सापटीमा चल्ने वस्तु हो । सापटीमा लियो केही समय खेलायो अन्ततः जसको हो उसैलाई बुझायो ।  बुझाउन नचाहे खोसेर लियो । न आमै न बाबै, न हार न गुहार । 

यसको अर्थ हो सापटीकै दुनियाँ हो, सापटीकै संसार हो । यसैले बनाएको छ, यसैले चलाएको छ । यस्तो अवस्थामा केको हार, केको गुहार ।  रामको अवस्था पनि त्यस्तै, श्यामको अवस्था पनि त्यस्तै । राजाको अवस्था पनि त्यस्तै, रङ्कको अवस्था पनि त्यस्तै । सबैले सापटीमा लिएका थिए, सापटीले चलाएका थिए । 

त्यतिबेलासम्म चलाए जतिबेलासम्म फिर्ता माग्न कोही आएन । जब आयो, गयो । आएपछि आयोआयो । आयो मात्र होइन आउनासाथ लिएर पनि गयो । लिएर नै छाड्यो । कसको के लाग्यो । जब आफ्नै जीवन छैन, आयु छैन, शरीर छैन, नाम छैन, यहाँसम्म कि सासैसम्म छैन भने कसलाई आफ्नो भन्ने ? कसरी गयो भन्ने ? 

भन्नुपर्ने त भयो थियो तर, भनियो गयो । त्यसैले दुःख पाइयो । जम्मा गर्न सकिएन भनेर रोइयो, कराइयो, अँध्यारो मुख लगाइयो अहिले आएर थाहा पाइयो जम्मा गर्ने त ठाउँ नै रहेन छ । बैङ्क ब्यालेन्स भनेको त किन हुन्थ्यो । लागेको मात्र रहेछ ।  न बैङ्क रहेछ न ब्यालेन्स रहेछ । अन्तत रहेछ सापटी नै । 

नाटकको दुनियाँमा जमेर नाटक गरियो । हुन सक्छ घमण्ड र अहङ्कारको जादू तथा टुनामुना देखाउन पनि बाँकी राखिएन तर, के गर्ने ? नाटकको पर्दा खस्यो त सबै सकियो । सबै शून्य भयो, शून्य, शून्य, केवल शून्य, महाशून्य । शून्यबाटै आइयो महाशून्यमै पुगेर टुङ्गियो । यही हो जीवनको खेल, यही हो प्रकृतिका मेल । झट्ट हेर्दासम्म आफ्नो । हेरिरहँदा पराइ । पराइकै थियो, पराइकै भयो, पराइले नै लग्यो । जताबाट आएको थियो उतै गयो । वश खेल खत्तम । दुनियाँ खत्तम । अन्ततः आफ्नै जीवन खत्तम । अस्तु आजलाई यति नै ।

salt training

कमेन्ट गर्नुहोस्