इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तीकरण गर्न तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ ।
१४ देखि १६ अगस्टसम्म सञ्चालन भएको कार्यक्रमको उद्देश्य सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु थियो ।
कार्यक्रममा एआई, गुगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथीजस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो ।
यी सबै प्रविधिहरू स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएको हो । जसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गरेको कलेजले जनाएको छ ।
प्रदर्शनीमा डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा र एनिमेसनका अनुभवहरू समावेश गरिएको थियो ।
‘फ्युचरामा’ले अन्तरक्रियात्मक बुथहरू, प्रत्यक्ष प्रदर्शनीहरू र ज्ञानवर्धक कार्यशालाहरूमार्फत प्रविधिको भविष्यका झलक प्रदान गरेको थियो ।
यसका साथै युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास गरेको छ ।
कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको कलेजले दाबी गरेको छ ।
'प्रविधिको अतिरिक्त, कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ । आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य राखेको छ,' आईएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छ्या प्रधानाङ्गले बताइन् ।
प्रदर्शनीको तेस्रो दिनमा मनोरञ्जनका लागि गायक पूर्ण राई र द इलिमेन्ट्सको लाइभ म्युजिक प्रस्तुति रहेको थियो जसले महोत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनायो ।
तीन दिनको प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको आयोजकहरूले जानकारी दिएका छन् । ३ दिनमा २५०० बढी सहभागीहरूले प्रदर्शनीमा उपस्थिति जनाएका थिए ।
आयोजकका अनुसार ऐतिहासिक कार्यक्रम यस महिनाभरि नेपालका विभिन्न स्थानहरूमा सञ्चालन हुने छ । जसले रचनात्मकता सहयोग र जानकारी साझेदारीलाई प्रोत्साहित गर्नेछ।
आईटी र व्यावसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ।
विद्यार्थीहरूले प्राविधिक कार्यक्रमलाई उत्साहका साथ अँगालेका थिए । यसले उनीहरूको सिक्ने जोशलाई जोड दिए ।