
नेकपा (माओवादी केन्द्र)को हेडक्वार्टरबाटै उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँछन् भन्ने सन्देश प्रवाह भएपछि शुरू भएको विवाद अझै साम्य भएको छैन ।
माओवादी स्थायी कमिटी बैठकबाट बाहिरिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभाकरले पार्टी फुटाउँछन् भन्ने हल्ला गलत भएको बताएका थिए ।
‘माओवादी पार्टी फुट्छ भन्ने हल्ला, आशंका र भ्रम फैलाइयो । यो हल्ला बैठकसम्मै आयो । खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो बिलकुल गलत हो,’ प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टी एकताबद्ध भएको छ । कमरेड प्रभाकरलगायत अन्यमाथि जे आरोप र आशंका गरिएको छ, यो गलत छ । उहाँले ममाथि लगाएको आरोप पनि हल भइसक्यो ।’
तर, प्रचण्डले यस्तो भनेको दुई दिनलगत्तै जनार्दनले रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीको विवाद साम्य नभइसकेको संकेत गरे, त्यो पनि अध्यक्ष प्रचण्डकै सामुन्ने ।
यसअघि स्थायी कमिटी बैठकमा उनले पार्टी बिग्रिँदै गएको भन्दै १५ पृष्ठको प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावपछि प्रचण्ड स्वयंले सञ्चारकर्मीसँग बोल्दै पार्टीमा उनीसँग समस्या नभएको बताए । शनिबार जनार्दनको २५ मिनेट लामो भाषण प्रचण्डमाथि नै केन्द्रित रहेको माओवादीका एक नेता बताउँछन् ।
‘उहाँले पार्टीको सुधारका लागि स्थायी कमिटीमा राखेको १५ पृष्ठको सुझावपछि यसलाई पार्टीले पनि स्वीकारेर अगाडि बढ्छ कि भन्ने देखिएको थियो,’ माओवादीका एक नेता भन्छन्, ‘तर, हेडक्वार्टरबाट इमान्दार भएको भन्दा पनि पार्टी फुटाउन खोजेको आशयका अभिव्यक्ति आएपछि प्रभाकरले शनिबार प्रचण्डकै अगाडि २५ बोलेर किन यस्तो हल्ला चलाइयो भनेर प्रश्न गर्नुभएको हो ।’
ती नेताको अनुसार जनार्दनले पार्टी फुटाउन खोजेको आरोप हेडक्वार्टरबाटै फैलाइएकाले यसलाई स्वीकार्न उनी तयार छैनन् । यसैले पार्टी हेडक्वार्टरले नै यसमा प्रस्ट पार्नुपर्ने पक्षमा जनार्दन रहेको नेताहरू बताउँछन् । जनार्दनले प्रचण्डकै अगाडि हेडक्वार्टरबाटै आफूले पार्टी फुटाउने प्रचार भएको भन्दै त्यहीँबाट अध्यक्षले खण्डन गर्नुपर्ने बताएका थिए ।
‘माओवादी फुटाइँदैछ भन्ने प्रचार हेडक्वार्टर वरिपरिबाट भएको हो । यसमा लुकाउनुपर्ने कुरा केही छैन, सबै सिधा छ,’ प्रचण्डसमेत सहभागी कार्यक्रममा जनार्दनले भने, ‘कसले यसरी प्रचार गर्यो ? उहाँ (अध्यक्ष)को भूमिका के हो ? उहाँ आफैंले भन्नुहोला । म यस्तो पार्टी फुटाउने पक्षमा छैन भनेर प्रत्येक सदस्यसँग कानेखुशी गर्न सक्दिनँ । के भएको हो, कसले गरेको हो, खण्डन अध्यक्षबाटै हुनुपर्छ ।’ पार्टीको स्थायी कमिटी बैठकले पनि खण्डन गर्ने निर्णय गरेको जनार्दनले सार्वजनिक रूपमा बताए ।
नेतृत्व निकटकाले नै जनार्दनले पार्टी फुटाउँदैछ भनेर आफूलाई बदनाम गर्ने काम भएको भन्दै उनले पटक–पटक आपत्ति जनाएका छन् ।
‘पार्टीमा नीति, नेतृत्व र संगठनमा कहाँ र कसरी गल्ती भयो, कसरी सच्याउन सकिन्छ भनेर मैले बोल्दै आएको हो । मैले पार्टीमा बुझाएको लिखित धारणामा सबै कुरा उल्लेख छ,’ जनार्दनले कार्यक्रममा भने, ‘मैले प्रचण्ड भएकाले नै जनयुद्ध भएको हो । सबै श्रेय उहाँलाई जान्छ, तर पार्टीमा भएका कमजोरीको जिम्मा कसले कति लिने हो, यसमा जिम्मेवार सबै नेता तयार हुनुपर्छ भनेको हो ।’
जनार्दन निकट स्रोत पनि उनी पार्टी फुटाउने पक्षमा नभएको बताउँछ । ‘उहाँ आफैंले पनि भनिसक्नुभयो– पार्टी फुटाउने आफ्नो कुनै उद्देश्य र योजना छैन भनेर,’ स्रोतले भन्यो, ‘पार्टी नै कमजोर हुँदै गएको छ । कमजोर पार्टीलाई फुटाएर उहाँलाई के फाइदा ? पार्टीको भविष्य नै हुँदैन भने फुटाउनुको कुनै औचित्य र आवश्यकता हुँदैन भन्ने उहाँलाई बोध छ ।’
बरु पार्टीका कमजोरीलाई केलाएर माओवादीको पुनर्गठनमा जनार्दनले जोड दिएको ती नेता बताउँछन् । ‘शनिबारकै कार्यक्रममा पनि उहाँले विप्लवजी र माधवजीसँग पार्टी एकताको लागि प्रयास गर्नुपर्छ भनेर बोल्ने मै हुँ भन्नुभयो,’ ती नेताले भने, ‘तर विप्लवलाई जनार्दनले आउन दिएन भनेर प्रचार भएछ । पार्टी फुट्नु हुँदैन भन्नेले यस्तो गर्छ ? भनेर उहाँले प्रश्न गर्नुभएको छ ।’
माओवादीका अर्का एक पदाधिकारी स्थायी कमिटीको बैठकमा जनार्दनले पार्टी विभाजनको हल्लाबारे प्रस्ट पार्न भनेपछि छानबिन समिति गठन गर्नेसम्मको कुराकानी भएको बताउँछन् ।
‘पार्टी फोर्ने आरोपको द्वन्द्व अझै साम्य भएको छैन । के कारणले यस्तो भयो भनेर दुवै पक्षले खुलाएका छैनन् । भित्री केही कारण पनि हुनसक्छ,’ ती पदाधिकारीले भने, ‘अध्यक्ष र जनार्दनबीच सम्बन्ध सामान्य नभएपछि विभाजनको आरोपबारे छानबिन गर्न विशेष कमिटी नै बनाउनेसम्मका कुराकानी भएका छन् ।’
देव गुरुङलाई महासचिव बनाएकोमा मात्रै जनार्दन नरिसाएको ती पदाधिकारी बताउँछन् ।
‘कमान्डर बनेको नेतालाई महासचिव नबनाएको भन्ने पनि एउटा कारण होला, तर यो मुख्य होइन । देव गुरुङ तत्कालका लागि कामचलाउ हुन् भन्ने दुवैलाई थाहा छ,’ ती पदाधिकारीले भने, ‘माओवादी यसमा पनि अध्यक्षको भित्री कुरा थाहा हुनेलाई मात्रै यो द्वन्द्वको कारण थाहा हुन सक्छ ।’
पछिल्लो समय जनार्दन, अर्का उपमहासचिव वर्षमान पुन, ओनसरी घर्तीसहितका धेरै नेता प्रचण्डको काम गराइसँग असन्तुष्ट रहेको ती पदाधिकारी बताउँछन् ।
‘हिजो जनयुद्धको प्रचण्ड र आजको प्रचण्डमा ड्रास्टिक परिवर्तन आयो । सरकारमा गएपछि त उहाँको वर्ग नै अलगजस्तो हुन पुगेको धेरैको गुनासो छ,’ ती पदाधिकारी भन्छन्, ‘पार्टी भद्रगोल बनाएर सत्तामा टाँसिने साथै सरकारमा हुँदा सिनियर नेताले समेत बालुवाटारमा घटौं कुर्दा पनि प्रचण्डसँग भेट्न नदिने शैलीका कारण धेरैले चित्त दुखाउनुभएको छ । जरुरी काम पर्दासमेत प्रचण्डको सचिवालयले फोन समेत उठाउन नचाहेको विषय पनि आएका छन् ।’
जनार्दनलाई मनाउने दाउमा प्रचण्ड
अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा जनार्दनले राखेको फरक मतलाई पनि सम्बोधन गरेर जाने बताएका छन् । शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रचण्डले जनार्दनको लिखित मत नेतृत्वलाई स्थापित गर्नैका लागि भएको दाबी गरे ।
‘पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो । कतिपय कमरेडहरू त झण्डै दुई घण्टा नै बोल्नुभयो,’ प्रचण्डले भने, ‘प्रभाकरजीले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । बिहान मात्रै पनि उहाँ मेरोमा आउनुभएको थियो । उहाँले त्यो भन्नुभएको छ । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।’
पछिल्लो समय पार्टीबाट अनावश्यक हल्ला चलाइएको भन्दै असन्तुष्ट बनेका जनार्दन प्रचण्डले बोलाएरै शनिबार बिहान खुमलटार गएका थिए ।
‘अध्यक्षले जनार्दनजी आउनुभएको थियो भनेर बोल्नुभयो । तर, अध्यक्ष आफैंले बोलाएर उहाँ जानुभएको हो,’ माओवादी स्रोतले भन्यो, ‘धेरै नै असन्तुष्ट बनेको थाहा पाएपछि बोलाएर त्यस्तो केही होइन भन्नुभएको हो । तर, यसपटक उपमहासचिव (जनार्दन)को चित्त अलि बढी नै फाटेको छ ।’
प्रचण्डले जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशंका आफूमा पनि रहेको स्वीकारेका थिए ।
‘पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि स्थायी समिति बैठकमा आउँदा त्यो क्लियर भएको छ । त्यो आशंका मैले लिए पनि, अरूले लिए पनि त्यो निराधार भएको कुरामा क्लियर भए हुन्छ,’ प्रचण्डले भनेका थिए ।
पार्टी एकताको नाममा असन्तुष्टलाई झन् कर्नरमा पार्ने दाउमा प्रचण्ड !
दुई प्रभावशाली नेताबाट पार्टीमा आन्तरिक दबाब झेलेका प्रचण्ड जसरी हुन्छ गणितमा टिकिरहने ध्याउन्नमा छन् ।
यसअघि पनि जनार्दन र वर्षमानबीच प्रचण्डले खेल्दै आए । तर जनार्दन र वर्षमान नजिकिएपछि प्रचण्डले पार्टी एकताको अर्को कार्ड फ्याँकेका छन् ।
विप्लवको नेकपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास उनले गरेका छन् ।
पार्टीमा आफूमाथि प्रश्न उठेका बेला एकता गर्न सके आफू थप बलियो हुने बुझाइमा उनी रहेको नेताहरू बताउँछन् । तर, प्रचण्डले चाहे पनि सहजै पार्टी एकता हुने स्थिति नरहेको नेताहरू बताउँछन् ।
माओवादीका एक प्रभावशाली नेताले प्रचण्डले रणनीतिक हिसाबमा एकता चाहे पनि अरूले नपत्याएको बताए ।
‘पार्टीभित्रै प्रचण्डबाट धोका पायौं भन्नेको कमी छैन । अर्कातिर नेकपा एसले पटक–पटक धोका पाएको बिर्सिएको छैन । विप्लव पनि यताको द्वन्द्वको स्थिति हेरेर आइहाल्ने अवस्था छैन,’ ती नेता भन्छन्, ‘यसैले नेकपा एस र विप्लवसँग पार्टी एकता हुने कुरा प्रचण्डको कार्ड मात्रै हो ।’
बरु समाजवादी मोर्चा भने निरन्तर अगाडि जान सक्ने उनको दाबी छ ।