
वेदमा एउटा मन्त्र छ ‘तन्मे मनः शिवसङ्कल्पमस्तु’ । अर्थात् मेरो मन शिव सङ्कल्पमय होस् । यसको अर्थ हो मनको स्वभाव र स्वरूप डर लाग्दो भएकाले यसलाई शिवसङ्कल्पमय बनाउने प्रयास गर्नुपर्छ ।
गीतामा कृष्णले पनि यस्तै कुरा गरेका छन् । उनले भनेका छन्– ‘मन एवं मनुष्याणां कारणं बन्धमोक्षयो’ अर्थात् मन नै बन्धन र मुक्तिको कारण हो । यसको पनि आशय हो मनको स्वाभाव र स्वरूप बुझ्न सके सुख पाइन्छ नसके दुःख । प्रश्न उठन सक्छ त्यसको स्वभाव र स्वरूप कस्तो छ र कसरी बुझ्ने ? आजको बसाइ यसैमाथि केन्द्रित हुने प्रयास गरिएको छ ।
वेदान्तीहरूले भने– मनको स्वरूप निकै रहस्यमय छ । मानिसको मृत्यु हुँदा पनि उसको मृत्यु हुँदैन । अपितु जन्मजन्मान्तरदेखि चित्तको तहमा जमेको कर्मसंस्कारलाई लिएर जान्छ र सोही अनुसारको अर्को जीवनको खोजी गर्छ ।
यसैमा केन्द्रित रहेर अनुसन्धान गर्दा मनोविज्ञानवादीले निचोडमा के पाए भने यो मन भन्ने चीज तीन किसिमको हुन्छ, जसमा चेतन मन, अर्धचेतन मन र अचेतन मन पर्छ । मानवजीवन यसैमा आधारित छ, यसैले निर्देशित गर्छ ।
उनीहरूका अनुसार अचेतन मनको तह निकै फराकिलो छ । मनको अधिकांश भाग यसैले ओगटेको छ भन्दा पनि हुन्छ । यद्यपि यो जागरणको स्थितिमा अज्ञातजस्तो देखिन्छ तर, ऊ आफैँ भने समग्र मानसिक स्थितिको सञ्चालक, प्रेरक, मनोविकृतिको जन्मदाता बनेर रहेको हुन्छ । उसलाई चेतन मनद्वारा लगाइएको प्रतिबन्ध, अवरोध तथा अङ्कुशप्रति वितृष्णा छ र लुकिलुकी अथवा भनौँ त्यसबाट बचेर अविव्यक्त हुने गर्छ । दुश्चिन्ता, नैराश्य, उदासीनता, कुण्ठा, विक्षिप्तता तथा सबै किसिमको मनोविकृतिको कारण र सञ्चालक वा प्रेरक जे भने पनि यही नै हो । यसैका कारण यी सब भएका हुन्, हुन्छन् ।
उल्लिखित मनका स्तर पनि तीनवटै रहेका हुन्छन्, जसमा इदम्, अहम् र परम अहम् पर्छ । यिनमा इदम् यही अचेतन मनको स्तर हो । यसले धर्म, अनुशासन, मर्यादा, न्याय, नैतिकता, औचित्य तथा अनौचित्यको परवाह गर्दैन । यसको मूलभूत स्वभाव भनेकै इच्छापूर्ति हो । यसका लागि उसले जे पनि गर्छ । अर्थात् उसलाई कुनै पनि नियम, कानून, प्रतिबन्धको वास्तै हुँदैन । त्यसैले यो तह भनेको उसको विचार प्रवाहमा उन्मुक्त, स्वच्छता एवं पाशविक स्तर हो, जुन हठपूर्ण व्यवहार तथा अपराधीनतामा अडेको हुन्छ । यसैका कारण मानिस अनाचार, दुराचार, व्यभिचार, आपराधिक कृत्य, चोरी, हिंसा लगायत कुनै पनि किसिमको जघन्य अपराध तथा तज्जन्य व्यवहार गर्न पछि पर्दैन ।
त्यस्तै अहमलाई चेतन मनको मालिक, सञ्चालक तथा नियामक मानिएको छ । यो भनेको इदमको विकसित रूप हो, जसको सम्बन्ध बाह्यवातावरण, समाज, धर्म, नैतिकता, मानवीय मूल्य, कानून एवं सामाजिक व्यवस्थासँग रहेको हुन्छ । अतः यस अहम्ले भय, मर्यादा, धर्म, पापपुण्य, दण्ड, सजाय, अपमान आदिबाट डाराएर इदम्माथि अङ्कुश लगाउने प्रयास गर्छ, जसले व्यक्तिलाई नियन्त्रित, अनुशासित, मर्यादित एवं सभ्यजीवन व्यतीत गर्न उत्प्रेरणा दिन्छ । त्यसैले यसलाई इदम्को विकसित तह भनिएको हो । यसको अर्थ यो तह पनि पूर्णतः नैतिक एवं परिशुद्ध हुन्छ भन्ने होइन । तथापि यसले बाह्यविश्वको प्रतिबन्ध एवं इदम्को निर्बाध स्वच्छताको माझमा सम्झौता, समायोजन र सामञ्जस्य निम्ति सेतुको भूमिका भने निर्वाह गरेको हुन्छ ।
त्यसैगरी परम अहम् भनेको मनको उपल्लो स्तर हो । यसलाई अहम्को पनि नियामक, नियन्त्रक, तथा स्वामी वा मालिक मान्न सकिन्छ । यो भनेको मनको कठोर, नियन्त्रक, निश्चल, शासक एवं अपरिवर्तनीय, दृढ सङ्कल्पयुक्त उच्च वैचारिक चेतनाको स्तर हो । अहम्को स्तर विकास भएपछि उत्पत्ति हुने भएकाले यसलाई अहम्कै विकसितरूप मान्न सकिन्छ । अतः इदम् मनको असामाजिक, अनियन्त्रित, पाशविक, मनोरोगात्मक विकृति उत्पन्न गर्ने संस्कार हो भने अहम् मध्यमार्गीय, समाजोपयोगी, एवं मिश्रित सामञ्जस्यवादी, समायोजनपरक संस्कार हो । अनि परम अहम् भनेको नैतिक, सामाजिक, विश्वहितैषी, आदर्श, नियन्त्रित, मर्यादानुशासित, सत्गुणात्मक, उच्च विचारबाट ओतप्रोत, धर्म, नैतिकता, सामाजिक, कानून, पापपुण्य, न्यायअन्यायमा पूर्ण विश्वास राख्ने संस्कार हो ।
अब प्रश्न उठ्न सक्छ उल्लिखित पाशविक अवस्थामा रहेको अचेतन मनको इदम् तहलाई कसरी शुद्धीकरण गरी अहम् वा परम अहम्को तहमा परिणत गर्ने ? यसका लागि पौरस्त्य दर्शनशास्त्र तथा दर्शनशास्त्रीहरूले निकै गहिराइमा पुगेर निष्कर्ष निकालेका छन् । उनीहरूका अनुसार यसमा दमन वा शमन आदि कुनै पनि उपायले काम गर्न सक्दैन । यस्ता उपायले उसको वृत्ति नष्ट होइन उल्टै मौलाउन थाल्छ । यो भनेको त हाँगाबिगाँ वा पातपत्ता छिमलेर संस्कार खोज्नुजस्तै हो । यसका लागि त जरैमा पुगेर उपचार खोज्नुपर्छ । यो भनेको सकारात्मक भाव, सकारात्मक सोच र चिन्तन नै हो । यसैबाट उच्च संस्कारको मुना पलाउन थाल्छ । यही नै वेदको उक्त ‘तन्मे मनः शिवसङ्कल्पमस्तु’ मन्त्रको आशय हो । खुसीको कुरा त के भने हाल आएर पश्चिमी मनोवैज्ञानिकहरूसमेत यतैतर्फ फर्कन थालेका छन् । अस्तु आजलाई यति नै ।