०२ असार २०८३, मंगलबार
कर्मकाण्ड गर्ने सुरसारमा

दमाईंले छुनै हुन्न भन्थे, कृष्णले संस्कृतमै आचार्य गरेर देखाइदिए

भदौ ८, २०८१
धनगढी
दमाईंले छुनै हुन्न भन्थे, कृष्णले संस्कृतमै आचार्य गरेर देखाइदिए

दलित समुदायबाट संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्ण दमाईं यतिबेला निकै चर्चामा छन् । गत साउनमा पशुपति क्षेत्रमा लागेको कोटीहोम महायज्ञमा आयोजकले व्यास पीठमा राखी अभिनन्दन गरेसँगै उनको चर्चा चुलिएको हो । 

null

संस्कृत साहित्य र भाषामा आचार्य गरेका उनीसँग कर्मकाण्ड र पुराण वाचन गर्न शास्त्रीय योग्यता भने थिएन, त्यसकारण त्यहाँ प्रवचन नदिएर सामान्य सम्बोधन मात्रै गरेका थिए । त्यसयता उनको समर्थन र आलोचनाका स्वरहरू गुन्जिरहेका छन् । दमाईं भने शास्त्रीय योग्यताका लागि थप अध्ययन गरिरहेका छन् ।

अनि संस्कृत पढ्न थाले...
दलित समुदायको विपन्न परिवारमा जन्मिएका कृष्णको बाल्यकाल कष्टकर अवस्था बित्यो । कृष्णलगायत उनको परिवारमा ९ भाइ बहिनी र आमा बुबा थिए । उनका बुबा लुगा सिलाउने काम गर्थे भने वर्षको २ पटक ६/६ महिनाको अवधिमा खलो (खाद्यान्न) उठाउन जान्थे । त्यहीँबाट उनको परिवारको रोजीरोटी चल्थ्यो । 

‘हाम्रो परिवारलाई खानलाउन निकै समस्या थियो । आर्थिक रूपले हेर्दा जर्जर अवस्था हो । जग्गा पनि बाढीले बगायो, जङ्गलको किनारमा घर बनाएर बसिरहेका छौँ । कक्षा १० सम्म सरकारी स्कुलमै अध्ययन गरेंवि. सं २०६४ मा बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरबाट एसएलसी उत्तीर्ण गरेपछि म संस्कृत पढ्न थालेको हुँ,’ उनले भने ।

कानूनमा जातीय विभेद अन्त्यको घोषणा भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा विभेदका स्वर भिन्न स्वरूपमा अझै गुन्जिरहन्छ । कृष्णको गाउँमा पनि जातीय विभेद निकै थियो ।

ब्राह्मण क्षेत्री समुदायका मानिसले हेयको दृष्टिले हेर्दा उनको मनमा पनि अनेक कुराहरू खेल्थे । १० कक्षा पास हुँदा क्यापस पढ्न उनीसँग पैसा थिएन । गुरुहरूको सहयोगमा छात्रवृत्ति कोटामा उनी संस्कृत अध्ययनमा लागे ।

‘नेपाली पढाउने शिक्षक ईश्वरदत्त भट्टले धेरै सहयोग गर्नुभएको थियो । गुरुहरूकै सहयोगले मैले कक्षा ४ बाट छात्रवृत्ति कोटामा अध्ययन गर्न पाए । बाल्यकालको अवस्था सम्झँदा मन खल्लो हुन्छ,’ उनी भन्छन्, ‘संस्कृत पढ्दा शुरूआती चरणमा गाउँघरका स्थानीयहरूले दलितको छोरो भएर बाहुन बन्न खोजेको भन्दै आलोचना गरे तर, गुरुहरूले भने मलाई राम्रो साथ दिनुभयो ।’

null

पटक पटक विभेदमा परेको अनुभव उनीसँग थुप्रै छन् । ‘दलित समुदायका मानिसले संस्कृत पढ्न नहुने छुन नहुने भन्दै हामीलाई रोकटोक हुन्थ्यो । मठमन्दिर प्रवेशमा पनि रोक लगाइन्थ्यो,’ विगत सम्झिँदै उनी भन्छन्, ‘पटक–पटक म आफैँ विभेदमा परेको छु । अहिले मैले आचार्य गरी सकेको छु तर, मलाई समाजले स्वीकार गरिसकेको अवस्था भने छैन । केही समय लाग्छ परिवर्तन हुन । सुरुवात मैले गरेको हुँ।’

२०६४ देखि २०७१ मा शास्त्री तहको अध्ययन सक्दासम्म विद्यापीठमा अध्ययन गर्ने दलित समुदायबाट उनी मात्रै थिए । शारदा विद्यापीठबाट तीन वर्षे शास्त्री तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् । 

त्यो बज्रपात...
कृष्णको जीवनमा सङ्घर्षका गाथा धेरै छन् । कञ्चनपुरमा संस्कृत अध्ययन गरिरहेकै समयमा घर खर्च चलाउन उनले एक स्थानीय पत्रिका बाँड्ने काम गरे । संस्कृत अध्ययनका क्रममा उनको परिवार मा ठूलो क्षति भयो । उनले आमा र बुबा दुवै गुमाए । परिवारमा ठूलो आर्थिक नोक्सानी भयो । खेत बाढीले बगायो ।

‘अध्ययन गर्नेक्रममा मेरो आमाको देहान्त हुनु, बुवाको देहान्त हुनु, घरपरिवारमा यत्रतत्र वर्वाद पर्नु, जग्गाजमिन केही नहुनु, आफू बेरोजगार पर्नु, त्यही अवस्थामा आफ्नो विवाह हुनु, भाइबहिनीलाई आफैँले समाल्नु पर्दाखेरी हन्डर धेरै खाइयो । रोजगारीका लागि भारतसम्म धाएर तड्पें,’ भावुक हुँदै उनले भने ।

तीन वर्ष भारतमा मजदुरी गरेका दमाईं दिनभरि कामगरी साँझ स्वअध्ययन गर्थे । परीक्षाको समयमा मात्रै उनी सहभागी हुने गरेका थिए । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने धारणा चिर्दै दमाईंले संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरे पनि त्यहाँबाट उनको रोजीरोटी भने चल्न सकेन । 

कोटीहोमपछि फेरिएको दैनिकी...
संस्कृतमा आचार्य गरेर पनि रोजगारीको खोजीमा भौँतारिएका उनका लागि एक समय बरदान बनेर आयो । पशुपति धार्मिक क्षेत्रमा साउन महिनाभर सञ्चालन भएको कोटीहोम नै उनका लागि भाग्य विधाता बन्यो । अर्थात् त्यहाँबाटै नै उनको चर्चा परिचर्चा शुरू भयो । कोटीहोम आयोजकले देश विदेशबाट विभिन्न कथावाचक भित्र्याइरहेका बेला उनीहरूको नजर संस्कृत साहित्यमा आचार्य गरेका कृष्ण दमाईंमाथि पनि पर्‍यो । 

 

‘मैले प्रवचनका लागि अध्ययन गरेको छैन । संस्कृत साहित्यमा मात्रै अध्ययन गरेको हुँ । तर त्यहाँबाट तपाई आउनुहोस् उपस्थित हुनुहोस्, मनका लागेको कुरा बोल्नुहोस भनेपछि म गएँ,’ कृष्ण त्यो क्षण सम्झिँदै भन्छन्, ‘मलाई त्यहाँ भव्य स्वागत भयो । त्यहाँका गुरुले मलाई व्यास पीठमा राखी अभिनन्दन गरेपछि पशुपति क्षेत्रमा मलाई स्वर्गको अनुभूति प्राप्त भयो । मैले आफ्ना कुरा राखे र मेरा लागि नयाँ जीवनको शुरूआत भयो ।’

कोटीहोममा सहभागी भएपछि उनको चर्चा चुलिएको छ । त्यहाँबाट उनले नामसँगै केही दाम पनि पाए । कोेटीहोम शुरू हुनुभन्दा केही समयअघिदेखि उनी कञ्चनपुरस्थित आफू अध्ययन गरेको वैद्यनाथ विद्यालयमा नेपाली विषय पढाइरहेका थिए । अहिले पनि बिहान बेलुकीको छाक टार्न समस्या भएको भन्दै मिडियामा सार्वजनिक भएपछि उनलाई सहयोग जुट्ने क्रम पनि जारी छ । 

‘मैले मिडियामा अन्तरवार्ता दिएपछि देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । ५ लाख भन्दा बढी सहयोग पाइसकेको छु । अझै रकम आउने क्रम जारी छ । सहयोग स्वरूप मलाई उपलब्ध भएको रकमको म सदुपयोग गर्नेछु,’ दमाईंले भने ।

‘इतिहास रचें, अब कर्मकाण्ड गर्छु’
संस्कृत अध्ययन गरे तापनि आध्यात्मिक क्षेत्रमा कृष्णलाई खासै अवसर मिलेको छैन । पशुपति क्षेत्रको कोटीहोम नै उनको भाग्य विधाताजस्तै बन्यो । उनको डिग्री संस्कृत साहित्य र भाषामा हो । तर, यतिले कर्मकाण्ड र पुराणवाचन गर्न सकिँदैन । कोटी होमको सम्मानपछि हौसिएका कृष्ण अब कर्मकाण्ड गर्ने मनसायमा रहेको बताउँछन् । ‘मैले संस्कृत पढें पनि पुराण, धार्मिक अनुष्ठान र कर्मकाण्डका विधिबारे केही सिकेको थिएन । संस्कृत साहित्यमा त्यो नहुँदो रहेछ । अब भने म धार्मिक अनुष्ठानका सबै कार्यसँगै कर्मकाण्ड गर्ने सोचमा छु,’ भाबी योजना सुनाउँदै उनले भने, ‘अहिले त्यसका लागि नेपाल पञ्चाङ्ग समितिबाट गुरु आउनुभएको छ । हामी उहाँसँग कोर्स पूरा गरिरहेको छौँ । अबको तीन महिनाभित्र धार्मिक अनुष्ठान र कर्मकाण्डका विभिन्न कार्यक्रममा म सहभागी हुन्छु,’ उनले भने ।

null

संस्कृतमा आचार्य गरेका उनी आफ्नो यो कदमले इतिहास रचेको बताउँछन् । ‘मैले कसैले नगरेको काम गरेर इतिहास रचेको छु । यसमा मलाई गर्व छ । एक प्रकारको सफलताको शिखर चुमेको महसुस भएको छ । समाज, समुदाय र हाम्रो सनातनका लागि मैले अझै धेरै गर्नु छ । वेद, भागवत, गीता र पुराण मैले पूर्णरूपमा अध्ययन नगरेको अवस्था थियो । अहिले शुरूआत गरेको छु । मेरो विषय साहित्यतर्फ गयो । त्यहाँ रुद्रीलगायत अन्य शिक्षाको अध्ययन नहुने रहेछ । धार्मिक अनुष्ठानका कुनै पनि कार्य सिकेको छैन । त्यो किसिमको माहौल नै पाएन ३ महिनापछि पूजापाठ र धार्मिक अनुष्ठानका कार्यक्रममा सहभागी हुन्छु,’ उनले भने ।

null

जीवनमा चुनौतीबिना सफलता नपाइने उनी बताउँछन् । उतार–चढाव र चुनौतीका चाङ छिचोल्न सकेमा सफल भइने उनको अनुभव छ । ‘जोगीको शिक्षा पढिस्, छुनै नहुने विषय पढ् भनेर कसले भनेको थियो ? तेरो अब वनवास हुन्छ’ भन्दै धेरैले तीतो वचन लगाएको उनी सम्झन्छन् । 

‘कर्म आफूले गरिखाने हो । पढ्ने विषयवस्तु आफ्ना लागि हो । मैले कर्मकाण्ड गरौँला भनेर संस्कृत अध्ययन गरेको होइन । मैले त हामी भित्रको विभेद महसुस गर्न अध्ययन गरेको थिएँ । दलित समुदायका मान्छे माथिको विभेद किन हो ? हामीले किन पढ्न पाइरहेका छैनौँ ? हिन्दु भएर पनि हामी किन हिन्दु सरह बाँच्न पाइरहेका छैनौं ? हिन्दु सभ्यता भत्र भएका केही नराम्रा प्रथाहरूलाई परिवर्तनका लागि मैले अध्ययन गरेको हु,’ उनले भने, ‘परिवर्तन मैले आफैबाट गरेको छु । एउटा दमाईंको छोराले संस्कृत छुनै हुन्न भन्थे । मैले संस्कृतमै आचार्य गरें । मानव जाति असन्तुष्टि स्वभावको हुन्छ । एउटा भनाइ नै छ– मान्छेलाई तब सन्तुष्टि मिल्छ जब उसको अन्त्येष्टि हुन्छ । मेरा कदम प्रति म सन्तुष्ट छु ।’

salt training

कमेन्ट गर्नुहोस्