
हुन त पुनर्जन्मको कुरा हर कोहीलाई पत्याउन वा विश्वास गर्न निकै गाह्रो हुन्छ । विशद आध्यात्मिक ज्ञान, साधना, आत्मज्ञान, सम्बोधी र ईश्वरप्रति गहिरो आस्था भएको व्यक्ति वा समूहले मात्र जन्म र पुनर्जन्ममा विश्वास गर्छ । तर, आजको प्रसंग त्यस्तो पुनर्जन्मको होइन । न त यो इहलौकिक र पारलौकिक जीवनको सन्दर्भ हो ।
३० वर्षको उमेरमा जीवनदेखि बिरक्तिएर आत्महत्या गर्न लागेका प्रख्यात अध्यात्मिक गुरु एक्हार्ट टोलको एकै जीवनमा अचानक पुनर्जन्म भएजस्तो घटना सबैको जीवनमा घट्न दुर्लभ छ । तर, यस्ता दुर्लभ घटनाले केही व्यक्तिको जीवन बदलिदिएको छ । एउटै जीवन पनि २ खण्डमा बाँडिएको छ । त्यसले स्वयं व्यक्ति मात्र होइन, मानव सभ्यता समेत लाभान्वित र गौरवान्वित भएको छ । त्यसैका दृष्टान्त हुन्, एक्हार्ट टोल, जसलाई उनको 'वर्तमानको शक्ति' पुस्तकमार्फत राम्रोसँग बुझ्न सकिन्छ । आजको मूल प्रसंग यो होइन । यस विषयमा समयक्रममा विमर्श गरौंला । अहिले भने नेपालको वर्तमान सत्ता समीकरणको बारेमा थोरै चर्चा गरौं ।
यतिबेला नेपालको राजनीतिमा शक्तिशाली तर खतरनाक संसदीय प्रयोगको अध्याय चलिरहेको छ । संसद्को सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसले सत्ताको बागडोर संसद्को दोस्रो ठूलो दल (नेपाल कम्युनिस्ट पार्टी एमाले)लाई सुम्पेको छ । यस निर्णय र कदमलाई कांग्रेसले राष्ट्रिय आवश्यकता तथा समयको माग वा अनिवार्य विकल्प भनेको छ ।
यस आवश्यकताको अपरिहार्यतालाई पुष्टि गर्न दुवै दलद्वारा प्रस्तुत ७ बुँदे कार्यसूचीभित्र संविधान संशोधन र सुशासनलाई मुख्य रूपमा जोड दिइएको छ । राष्ट्रिय हित, भौतिक विकासमा तीव्रता र भ्रष्टाचारको नियन्त्रण उच्च प्राथमिकतामा छन् । यी प्राथमिकताहरू निकै राम्रो सुनिएका र देखिएका छन् । र, यसका लागि कांग्रेस–एमाले दुवै दलले पालैपालो सरकारको नेतृत्व गर्ने समेत भनेका छन् र तदनुरूप लिखित सहमति पनि भएको छ । त्यसैको जगमा नयाँ सरकार समेत निर्माण भई अघि बढेको अवस्था छ ।
भोलिको परिस्थिति जेसुकै भएपनि अहिलेको राजनीतिक कदमको कतैबाट पनि त्यति साह्रो आलोचना भएको छैन । र, नेपाली सचेत समुदायले समेत नयाँ सहमतिलाई शंकाको लाभ दिएको छ । एमाले पार्टी पंक्ति त दंगदास नै छ, जसले वर्तमान संसद् गठनको प्रारम्भमा यसै संसद्बाट आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ला भन्ने शायद परिकल्पना नै गरेको थिएन ।
कांग्रेसभित्र पनि अभूतपूर्व सन्नाटा अर्थात् गज्जबको मौनता देखिन्छ र प्रचण्डलाई हटाएर सत्ताको लडाइँ जितेको विजयी मुद्रा झल्किन्छ । त्यसैले हुनुपर्छ, सबै नेता यसको जस लिने प्रतिस्पर्धामा छन्, तर यस समीकरणको खास कारण र अन्तर्य कसैलाई थाहा छैन । या थाहा भएपनि दुवै दलका मुख्य नेताहरू अरूलाई बताउन चाहँदैनन् ।
सम्भवत: नेपालको इतिहासमा यो राजनीतिक गठबन्धनको मौलिक चरित्र निकै भिन्न छ । यस प्रयोगका प्रारम्भिक परिणाम के–के होलान् भनेर सुन्न र हेर्न सबै नेपाली जनता आतुर र व्यग्र रूपमा प्रतिक्षारत छन् । घटनाको गर्भमा जेभए पनि अहिले भने यस सरकारले राष्ट्र र जनताका लागि केही गरोस् भन्ने शुभेच्छा नै बढी देखिन्छ । तथापि गहिरो दुष्चिन्ता सर्वत्र देखिन्छ ।
कदाचित यो सरकार असफल भए के होला ? यसरी सोच्न थाल्नेहरूको पनि कुनै कम छैन । अहिलेलाई हामीसँग पर्खिनु र हेर्नुको कुनै विकल्प छैन । दुई ठूला दल मिलेर सरकार बनाउनुको खास अभिप्राय के रहेछ भनेर थाहा पाउन अरू १/२ महिना लाग्नेछ ।
सबैभन्दा पहिले यस सरकारले हाम्रो देशको स्थिति कस्तो छ र हामी कहाँ छौं, साथै जनताको मनस्थिति कस्तो छ भन्ने धरातलीय यथार्थलाई बुझ्न सक्नुपर्छ । यतिबेला नेपाली जनता बालखैमा बाबुआमा गुमाएका टुहुरा सन्तानजस्ता छन्, जसको कुनै गतिलो छहारी र जीविकाको बलियो आधार छैन । गरीबी र पछौटेपनको दुष्चक्रमा जेलिएका असहाय नेपालीहरू परदेश गएको अभिभावक फर्कने दिन गनेर बसेको आशामुखी दुःखी परिवारजस्तो भएका छन् ।
गाउँ र शहरमा युवा रित्तिने क्रम जारी छ । जनसंख्याको स्वनियन्त्रण निकै कठोर, अदूरदर्शी र पलायनवादी छ । राज्यलाई चाहिने जनशक्तिको अभाव हुन थालेको छ र यही क्रम जारी रहे दुई दशकभित्र नेपालका विद्यालयहरू खण्डहरमा परिणत हुनेछन् । युवा र किशोर किशोरीहरूमा सरकारप्रति तीव्र आक्रोश छ र परम्परागत राजनीतिप्रति घृणाभाव छ ।
हामी सबैलाई थाहा छ, राष्ट्र निर्माणका लागि मानवीय संसाधनको धेरै ठूलो महत्त्व हुन्छ । जनता आक्रोशित र युवा पलायन भएपछि राष्ट्रोन्नतिमा योगदान कसले गर्ने ? मूल कुरा राष्ट्र निर्माण हाम्रो प्राथमिकता हो कि हैन ? यदि हो भने हाम्रो कार्यशैली बदल्ने कि नबदल्ने ? आजसम्म कुनै पनि सरकारले नाराबाहेकका राष्ट्र निर्माणका विश्वसनीय कार्य गर्न सकेनन् भन्ने तथ्य जगजाहेर छ । मूल कुरा त विकासको प्राथमिकता नै तय गर्न सकेनन् ।
भन्नलाई धेरै वर्षसम्म स्वास्थ, शिक्षा, रोजगारलाई विकासको मूल नारा बनाइयो । गाउँमा–गाउँमा बाटो, खानेपानी र सञ्चारको विकास भनियो । थोरबहुत गरियो पनि । तर, सञ्चार क्षेत्रको उल्लेखनीय प्रगतिबाहेक अरू क्षेत्रमा दिगो र भरपर्दो विकास केही भएन । सञ्चार क्षेत्रको विकासका कारण पनि हामी मात्र होइनौं, सञ्चार र प्रविधिको विश्वव्यापी लहर र व्यापारीकरणलाई हामीले अङ्गालेको मात्रै हो । हामीले संसारका महंगा गाडी चढेका छौं । आफूले बनाएर चढ्नुपर्ने भए हामी अहिलेसम्म बयलगाडा यूगमै हुन्थ्यौं शयद ! आजसम्म न हामीले देशको तीव्र विकासमा जाँगर देखाएका छौं, न नागरिकको उत्साह बढाएका छौं ।
बारम्बार राष्ट्रिय दायित्व र भूमिका पाएर पनि देशलाई अघि बढाउन सकेका छैनौं । हामीले यस सत्य र आफ्नो अकर्मण्यतालाई सबैभन्दा पहिले आत्मसात गर्नुपर्छ, अनि मात्र राष्ट्र निर्माणको यात्रा प्रारम्भ हुन सक्छ । यसो गर्नका निम्ति कांग्रेस एमालेको परम्परागत कार्यशैलीमा बदलाव हुन जरुरी छ । अब यतिखेर कार्यशैलीमा बदलाव ल्याउन दुवै दलले कम्मर कस्लान् त ? के यी २ दलको पुनर्जन्म होला त ? खासगरी कांग्रेस सभापति देउवा र वर्तमान प्रधानमन्त्री ओलीको पुनर्जन्म सम्भव छ त ? आजको मुख्य प्रश्न यही हो ।
स्वतन्त्र, समुन्नत, सुरक्षित एवं स्वाभिमानी राष्ट्र तथा स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित नागरिक राजनीतिको मुख्य ध्येय हो । फगत शासन प्रणालीको स्थापना र आवधिक निर्वाचनले मात्र प्रजातान्त्रिक राजनीतिलाई सुनिश्चित गर्दैन । यसका लागि राजनीतिक दलको भूमिका सर्वोपरि हुन्छ । बारम्बार चुनाव जित्नु र सरकारमा पुग्नु मात्र राजनीतिक दलको बहादुरी र सफलता होइन । सरकारमा पुगेर उसले निर्वाह गरेको भूमिका र जनताले प्राप्त गरेको सुविधा तथा उपलब्धि मुख्य कुरा हो । कुन राजनीतिक दल कतिपटक सत्तामा पुग्यो भन्ने कुराले राजनीतिमा अर्थ राख्दैन । र, यो राजनीतिक सफलताको मानक पनि होइन ।
हामीले जनताको आत्मसम्मानलाई कति माथि उठायौं र संसारको तीव्र विकासलाई कति पछ्यायौं भन्ने कुराले ठूलो महत्त्व राख्छ । यस दिशामा नेपालको निराशाजनक स्थिति छ भनेर हामी बोल्नै पर्दैन, संसारले भनिरहेको छ । आजसम्मको स्थिति हाम्रै अकर्मण्यताको परिणाम हो । यस सत्यलाई हामीले आत्मसात गर्न सक्नुपर्छ । पटक–पटक जनताले गरेको विश्वासलाई हामीले कहिल्यै पनि सदुपयोग गर्न सकेनौं भन्ने कुरा निसंकोच स्वीकार्न सक्नुपर्छ ।
आफ्नो दलभित्र एकछत्र शासन चलाएजस्तो देशमा पनि शासन चलाउन खोज्ने हो भने त्यो अब निकै प्रत्युत्पादक हुनेछ । दलका सदस्यहरूले त आफ्नो वैयक्तिक स्वार्थ वा नेताप्रतिको श्रद्धा, पुरानो सम्बन्ध एवं संस्थाप्रतिको प्रेमले धेरै अन्याय सहेका छन् । चुपचाप बसेका छन् तर जनताले सहने सीमा नाघिसकेको छ । यसका छिटफुट झोक्काहरू देखिन थालेका छन् । यो आक्रोश नियोजित भनेर नजरअन्दाज गर्न मिल्दैन । यदि यो प्रतिक्रिया आँधीमा बदलियो भने झेल्ने कसरी ? लोकतान्त्रिक शासन प्रणालीमा हरेक नागरिकको राज्यसँग आफ्नो जीवनको सहजताको आधार माग गर्ने हक सुरक्षित हुन्छ ।
मैले खान पाइनँ । म बेघर भएँ । मेरा सन्तानले राम्रो शिक्षा पाएनन् । म रोगी भएँ । उपचार पाइँन । म बेरोजगार भएँ । म सुरक्षित भइनँ भनेर कसलाई भन्ने ? राज्यको गठन नै नागरिक हकहित र सुरक्षाका लागि भएको हो भन्ने कुरा बिर्सन कसरी मिल्छ ? अझ लोकतान्त्रिक शासन प्रणाली त जनभावनामा आधारित राजनीतिक प्रणाली हो । यस प्रणालीमा सरकारमा पुगेको व्यक्तिले आफ्ना नागरिकलाई उपेक्षा गर्न पाइँदैन । तर, नेपालमा के भएको छ ? लोकतान्त्रिक सिद्धान्तको मर्मविपरीत शासन चलाइको छ र लोकतन्त्र केही सीमित व्यक्तिहरूको निजी उद्यम भएको छ । यसो भन्दा वा लेख्दा कहाँ कमजोरी भएछ भनेर सोधखोज र आत्मसमीक्षा गर्नुको सट्टा शत्रुतापूर्ण व्यवहार गरिन्छ । यो लोकतान्त्रिक चिन्तन हुँदै होइन ।
यसैबाट वर्तमान शासन प्रणाली जनउत्तरदायी भएन भन्ने प्रमाणित हुन्छ । जनता र खासगरी युवाले उठाएको आवाज प्रायोजित हुँदै होइन । केही प्रतिशत प्रतिक्रियावादी र प्रतिगामी तत्त्व त घुसि हाल्छन् । यस्ता तत्त्वले त व्यवस्था र पार्टीमै घुसेर लोकतन्त्रलाई बदनाम गराइरहेका छन् । र वास्तवमा लोकतन्त्रलाई यस्तै तत्त्वले कठपुतली बनाएको छ ।
यसलाई वर्तमान राजनीतिक नेतृत्वले बुझ्नुपर्छ । अहिले त्यो समय आएको छ । इतिहासमा यस्तो समय बिरलै आउँछ । देशका दुई ठूला पार्टीहरूले इमान्दारीपूर्वक काम गर्ने हो भने आमनिराशा घटेर जान्छ र युवाआक्रोश मत्थर हुन्छ । यसको हेक्का समयमै राख्नुपर्छ । नेतृत्वले बुझ्नुपर्ने अर्को कुरा के हो भने लोकतान्त्रिक शासन प्रणाली नेताहरूको चमत्कारले मात्र आएको होइन, सिंगो पार्टीका सदस्य र आमजनताको साझा प्रयत्न हो । अनि परिवर्तनपछि जनता कहाँ छन्, पार्टी सदस्य कहाँ छन्, के गर्दैछन् भनेर सोधखोज गर्नुपर्छ कि पर्दैन ? आजको ज्वलन्त प्रश्न यही हो ।
वर्तमान शासन प्रणालीमाथि उठेका अनगिन्ती प्रश्नहरूको मूल कारण पनि यही हो । जनता र देशको हितमा काम नगर्ने राजनीति वास्तविक राजनीति हुँदै होइन । आजसम्म यही हुँदै आएको छ । लोकतन्त्र निर्जीव संरचना मात्र होइन, कर्म र व्यवहारले अपेक्षित परिणाम दिने जीवन्त र उन्नत पद्धति पनि हो । तर, आजसम्मका हाम्रा व्यवहारले यसलाई सही प्रमाणित गर्न सकेनन् । तसर्थ, चर्चाको प्रारम्भमा उद्धृत गरिएका आध्यात्मिक गुरु एक्हार्ट टोलको जीवनमा आएको चमत्कारिक परिवर्तनझैं कांग्रेस एमालेको राजनीतिक जीवनमा परिवर्तन आउँछ कि आउँदैन ? एक्हार्टले भनेजस्तो 'जीवनमा विभिन्न अनुभवहरू आउँदै/जाँदै गरिरहन्छन् । र, प्राप्त अनुभवभन्दा थप मौलिक अनुभवहरू हामीभित्र प्रवाहित भइरहन्छन् । उनको यस अनुभूतिको आधारमा भन्नुपर्दा कांग्रेसका विगतका अनुभवहरू निकै तिक्ततापूर्ण छन् ।
ऐतिहासिक जनआन्दोलन २०४६ पश्चात नेपाली जनताले राष्ट्रको बागडोर कांग्रेसलाई जिम्मा लगाएका हुन् । वि.सं २००७ पछिका हरेक राजनीतिक अध्यायमा कांग्रेसलाई नै आफ्नो मूल अभिभावक ठानेका छन् । यसपटक पनि कांग्रेसकै अग्रसरतामा ओली नेतृत्वको सरकार गठन भएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो सरकार सफल हुँदा नि:सन्देह रूपमा बढी जस कांग्रेसले नै प्राप्त गर्नेछ । र, एमालेले पनि बारम्बार देश चलाउने अवसर पाएकाले यस गठबन्धनलाई सफल बनाउँदा एमाले समेत जिम्मेवार राजनीतिक दलको रूपमा स्थापित हुनेछ । यसका लागि मूलतः देउवा र ओलीको राजनीतिक पुनर्जन्म हुन आवश्यक छ ।
परम्परागत अर्थात् बासी चिन्तन बोकेर सत्ता सञ्चालनको रुढीविदी चरित्र प्रदर्शन गरिरहने हो भने वर्तमान प्रयोग समेत देश र जनताका लागि दुर्भाग्यपूर्ण प्रयोग सावित हुनेछ । यस विषयमा दुवै दलले गम्भीरतापूर्वक सोच्न र तदनुसार अघि बढ्न आवश्यक छ । थप मौलिक अनुभवका लागि मात्र वर्तमान समय खर्चिने हो भने इतिहासले निकम्मा प्रमाणित गर्नेछ । भावी पुस्ताका लागि गौरवशाली बन्ने कि अभिशाप, हाम्रै हातमा छ ।