
वित्तीय समावेशीकरण र सुलभतातर्फको पहलअन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा शुरू गरेको छ ।
यो सुविधाअन्तर्गत बैंकका योग्य ग्राहकहरूले एनआईएमबी स्मार्ट एपमार्फत ५ लाख रुपैयाँसम्मको कर्जा बिनाकुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरूसमेत प्रदान गरेको छ ।
‘यसमा ग्राहकहरूले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्,’ बैंकले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूका लागि पूर्वभुक्तानीको समेत व्यवस्था मिलाइएको छ ।’
ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत ई–मेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर गर्न सक्ने बैंकले जनाएको छ । ‘एनआईएमबी स्मार्ट लोनका लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जस्तै- तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि ।'
योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्ट लोन एप्लाई गरी कर्जाका सबै सुविधा र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
ग्राहकलाई उनीहरूका आवश्यकता पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गर्दै नयाँ स्वरुपमा एनआईएमबी स्मार्ट लोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले बताए ।