०३ असार २०८३, बुधबार

न्यूयोर्कमा यसरी गुञ्जियो नेपथ्य

भदौ १६, २०८१
काठमाडौं
न्यूयोर्कमा यसरी गुञ्जियो नेपथ्य

हजारौं दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्ये’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्न पुगे ।

धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौं है ।’

प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हल नै गुञ्जयमान हुनेगरी दर्शकले समर्थन जनाए ।

अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौं आयोजना पनि न्यूयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको छ ।

विश्वकै केन्द्र मानिने यो शहर, नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरैपटक प्रस्तुत गरेको शहर पनि हो ।

यसपटक यो शहरमा नेपथ्य प्रवेश गर्दैगर्दा उत्साही नेपालीहरूको टोली परम्परागत पोशाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए । 

उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्यूयोर्क शहरमा भित्र्याइएको थियो ।

null

निर्धारित समयअनुसारै कन्सर्ट शनिबार बेलुकी ठीक ९ बजे शुरू भएको थियो । 

नेपथ्यमा नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको यो कार्यक्रममा, गीतहरूको बीचमा गायक अमृत गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेको देखिन्थ्यो । 

उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थिए । कतिपय गीतहरू आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी पनि उनले दिएका थिए ।

 कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिङ्गै ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भिडको उत्साहले उचालिएको थियो ।

 ‘नेपाली भाषा रहुन्जेल हामी नेपालीहरू रहिरहने छौं,’ अमेरिका बस्दै आएका दर्शकहरूलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषा समेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है ।’ 

कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्ये’ जस्ता प्रस्तुति मार्फत चरमोत्कर्षमा पुर्‍याएको देखिन्थ्यो ।

न्यूयोर्क विश्वविद्यालयको उडहल अस्पतालमा रेसिडेन्ट डाक्टर रहेका समन अर्याल यो ठाउँ आएको दुईवर्ष भयो । उनले पहिलोपटक नेपथ्यको कन्सर्ट अनुभव गरिरहेका थिए ।

‘सबैको समयको कदर गर्दै समयमा शुरू भएको यो कार्यक्रमको प्रत्येक क्षण विशेष रूपमा सिँगारिएको महसुस भयो,’ डा. अर्याल भनिरहेका थिए, ‘मञ्चका कलाकारसँगै दर्शकदीर्घाले एकसाथ गाइरहेको देख्दा, यो त जीवनमै एकपटक लिनैपर्ने रमाइलो अनुभवजस्तो लग्यो ।’

यो कन्सर्ट हेर्नकै निम्ति नेपाली साथीको साथ लागेर बंगलादेशी मूलकी २२ वर्षिया विद्यार्थी माया कर्माकर पनि आएकी थिइन् ।

null

‘संगीतले भाषाको सीमारेखा नाघ्दोरहेछ भन्ने उदाहरण मेरो निम्ति नेपथ्यको आजको प्रस्तुति रह्यो,’ मायाले थपिन्, ‘मञ्चबाट आइरहेको शक्तिशाली प्रभाव, तल दर्शकहरूको एकत्रित ऊर्जा, जताततै प्रशंसकहरू गाइरहेका नाचिरहेका, मुख्य गायकको बोलीदेखि लिएर हाउभाउसम्म प्रत्येक गतिविधिमा सम्मोहन झल्किन्थ्यो । यो सिंगो परिवेश नै गज्जबको लाग्यो ।’

लोरेन ग्राबीले साउन्ड इन्जिनियरको काम थालेको ३० वर्ष भयो । बितेको १५ वर्षयता भने उनी यसै टर्मिनल फाइभमा कार्यरत छन् ।

‘मैले दुनियाँभरका धेरै प्रकारका ब्यान्डहरूको कन्सर्टमा काम गरेको छु । नेपथ्यसँगको अनुभव भने यो रक ब्यान्ड भइकन पनि यसका संगीतमा लुकेका युनिक नोटहरूले गर्दा बेग्लै स्वादको लाग्यो,’ लोरेन भन्दै थिए ।

कन्सर्टमा मुख्यगायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । 

‘हामीले धेरै कार्यक्रमहरू आयोजना गर्दै आएको भए पनि नेपथ्य चाहिँ विशेष रह्यो,’ आयोजक टोलीका थिले थकालीले भने, ‘कन्सर्ट सकिएपछि पनि मलाई असंख्य दर्शकहरूले फोन र मेसेज गर्दै धन्यवाद दिइरहेका छन् ।’ 

आफूहरूले चाहना र मेहनत गरेबमोजिम नै यसपटकको नेपथ्य कन्सर्ट न्युयोर्कमा हालसम्म प्रस्तुत नेपाली कार्यक्रममध्ये ऐतिहासिक बन्न पुगेको उनको प्रतिक्रिया थियो ।

३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबूकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसी बुढेसकालाँ नि बैँस यस्तरी उर्लदो र’च के !’

यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला पाँच कन्सर्ट भव्यरूपमा सम्पन्न भएपछि अब छैटौं प्रस्तुतिका लागि नेपथ्य डी.एम.भी क्षेत्रको मेरिल्यान्ड पुगिसकेको छ । 

त्यहाँस्थित ‘दी हल एट लाइभ’मा सेप्टेम्बर १ तारिखका दिन ब्यान्ड प्रस्तुत हुँदैछ । त्यस साँझ ठीक साढे ६ बजे ढोकाहरू खुला हुनेछन् भने ठीक ८ बजेबाट कन्सर्ट शुरू हुनेछ ।

मेरिल्यान्डको आयोजना सम्पन्न भएपछि अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा सातौं कन्सर्टसँगै यस वर्षको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइटwww.nepathya.com.npमार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

फोटोहरू: दिपित राज

salt training

कमेन्ट गर्नुहोस्