
अर्जेन्टिनी स्टार लियोनल मेसी फिफा विश्वकप फुटबलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा उभिएका छन् ।
विश्वकप–२०२६ अन्तर्गत बुधबार जारी अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेसीले आफूलाई जर्मन पूर्वस्टार मिरोस्लाभ क्लोसको हाराहारीमा उभ्याएका हुन् ।
ह्याट्रिकसँगै विश्वकपमा मेसीको गोल संख्या १६ पुगेको छ । मिरास्लाभ क्लोसले पनि विश्वकपमा १६ गोल गरेका छन् । मेसीले क्लोसको कीर्तिमान यही विश्वकपमा तोड्ने बलियो सम्भावना छ ।
अल्जेरियाविरुद्धको खेलमा मेसीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरे । निर्धारित समयको १७औँ मिनेटमा पहिलो गोल गरेका उनले ६०औँ मिनेटमा दोस्रो गोल थपेका थिए ।
त्यसपछि उनले ७८औँ मिनेटमा ह्याट्रिक पूरा गरे । त्यसलगत्तै, ८०औँ मिनेटमा प्रशिक्षकले उनलाई मैदानबाट बाहिर निकालेका थिए ।