१३ असार २०८३, शनिबार
मानव अंग बेचबिखन

मदिराले मातेका व्यक्ति जब मिर्गौलाको पैसा माग्दै बरबराए...अनि खुल्यो तस्करीको पोल

कलकत्ता पुर्‍याएर मिर्गौला झिकियो, १० लाख दिन्छु भनेकाले आधा रकम पनि दिएनन्
भदौ २१, २०८१
काठमाडौं
मदिराले मातेका व्यक्ति जब मिर्गौलाको पैसा माग्दै बरबराए...अनि खुल्यो तस्करीको पोल

एक साताअघि काठमाडौंको गोंगबु क्षेत्रमा ३२ वर्षीय युवा ‘मेरो मिर्गौलाको पैसा खै ?’ भन्दै बरबराउँदै हिँडेको प्रहरीले फेला पार्‍यो । तारकेश्वरमा बस्दै आएका उनलाई प्रहरीले सोधपुछ गर्दा पेट चिरेको घाउ देखाउँदै ‘१० लाख रुपैयाँमा मिर्गौला बेचे पनि चार लाखमात्रै पाएको' सुनाए । 

ती युवाले मानव अंग बेचबिखनको कुरा गरेपछि उनलाई बबरमहलस्थित मानव बेचबिखन ब्यूरोमा ल्याइयो । मदिराको नसा उत्रिएपछि उनले घटनाबारे विस्तृतमा बताए ।

प्रहरीका अनुसार उनले गत माघमै कलकत्तामा पुगेर मिर्गौला बिक्री गरेका रहेछन् । प्रहरीका अनुसार बच्चा बिरामी भएको र आर्थिक अवस्थासमेत कमजोर भएकाउनले बालाजुस्थित एक होटलमा खाना खाइरहेका बेला मकवानपुर भीमफेदीकी शान्तिमाया घलानले मिर्गौला बिक्री गर्न सुझाएकी थिइन् । ‘१०/२० लाखमा मिर्गौला बिक्री हुन्छ, एउटा मिर्गौलाले काम गरिहाल्छ, बेच्ने भए म मान्छे झिकाइदिन्छु’ भन्दै घलानले प्रस्ताव गरिन् । युवाले सहजै स्वीकार गरे । घलानले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने शंकर खत्री र नारायण परियारलाई होटलमा बोलाइन् । १० लाखमा मिर्गौला बिक्री गर्ने डिल भयो । 

जहाजबाट लैजाँदा प्रहरीले धेरै सोधपुछ गर्ने भएपछि पीडित युवालाई सडक मार्गबाट खत्री र परियारले रक्सौल हुँदै कलकत्ता पुर्‍याए । मिर्गौला आवश्यक पर्ने व्यक्ति र उनका आफन्त भने जहाजमार्फत् पुगे । 

अधिकांश समय मदिरा पिउँदै आएका ती युवालाई तन्दुरुस्त बनाएर मात्रै मिर्गौला झिक्ने योजना कलकत्तामै बन्यो । गत माघमा कलकत्ता पुर्‍याइएका उनलाई चार महिनासम्म फ्लाटमा राखेर खानपिनमा ध्यान दिएर तन्दुरुस्त पारियो । गत जेठमा ती युवाको मिर्गौला कलकत्तास्थित एक अस्पतालमा अप्रेशन गरेर अर्को व्यक्तिमा राखियो । घाउको खाटा नबस्दै ती युवालाई खत्री र परियारलगायतले काँकडभिट्टा नाका हुँदै झापा ल्याएर हातमा एक लाख थमाएपछि उनीहरू फरार भए । 

एक लाख लिएर ती युवा काठमाडौं फर्किंदा उनको छोरासमेत बितिसकेको थियो । पटकपटक ती युवाले मिर्गौला डिल गर्ने व्यक्तिलाई फोन गर्दा जम्मा ४ लाख ७० हजार मात्रै पाए । १० लाखमा मिर्गौला बिक्री गर्ने सर्त भए पनि उनले त्यसमै चित्त बुझाए । मदिरा छाडिसकेका ती युवाले पुनः मदिरा पिउन थालेका थिए । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार यो घटनाले अझै पनि मिर्गौला बिक्री वितरण तथा तस्करीको कामले निरन्तरता पाइरहेको पुष्टि भएको छ । ‘शुरूमा ती युवालाई प्रहरीले सोधपुछ गर्दा विश्वास लागेको थिएन, मदिराले मात्तिएर बरबराएको होला भन्ने लाग्यो,’ एसपी मिश्रले भने, ‘तर, सोधपुछ गर्दै जाँदा धेरै कुरा खुल्यो । मिर्गौला तस्करी गर्ने गिरोहले भारतमै नाता प्रमाणित समेत बनाएर मिर्गौला झिक्ने गरेको देखियो ।’ ती युवा र मिर्गौला पाएकी महिलाको नातामा देवरभाउजूको नाता बनाइएको थियो । 

ब्यूरोका अनुसार पक्राउ परेका परियार आफैंले पनि ११ वर्षअघि मिर्गौला बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ । एसपी मिश्रले भने, ‘यो घटनामा मिर्गौला बेचिसकेका समूह नै बढी सक्रिय देखियो । अझै दुई जना पक्राउ गर्न बाँकी छ । हामी अनुसन्धानमै छौं ।’

ब्यूरोका अनुसार पक्राउ परेका खत्री र परियारले मिर्गौला दिलाइदिएबापत पाएको रकम मदिरा पिएरै सक्याउने र पछि फेरि मिर्गौला बेच्ने व्यक्ति र खरिद गर्ने व्यक्ति खोजी गर्दै हिँड्ने गरेको अनुसन्धानले देखाएको छ । ब्यूरोका अनुसार प्रहरीले हालसम्म मिर्गौला तस्करी एवं बेचबिखनमा ७ वटा मुद्दा दर्ता गरेकोमा ब्यूरोले मात्रै चार वटा मुद्दा दर्ता गरेको छ ।

ब्यूरोले पक्राउ परेका व्यक्तिउपर प्रारम्भिक मानव अंग बेचबिखन तथा ओसारपसार मुद्दा अनुसन्धानका लागि जिल्ला अदालतबाट ९ दिनको म्याद पाएको छ । एसपी मिश्रका अनुसार पक्राउ परेकाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइने छ । उनले भने, ‘मानव अंगको बिक्रीवितरण तथा तस्करी दुई जनाभन्दा बढी व्यक्तिको योजनाबाट भएको देखिँदा उनीहरूविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्