
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा २ अर्ब ११ करोड ५६ लाख ८३ हजार रुपैयाँ बराबरको चामल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा ४ अर्ब २६ करोड ४६ लाख १२ हजार रुपैयाँ बराबरको चामल नेपाल भित्रिएको थियो ।
यता धानको आयात पनि घट्दो क्रममा छ । साउन महिनामा १ अर्ब ३ करोड ८० लाख ८१ हजार रुपैयाँ बराबरको धान आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७७ करोड ४८ लाख २ हजार रुपैयाँ बराबरको धान नेपाल भित्रिएको छ ।
यो एक महिनामा १ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको ४ लाख ८८ हजार १० किलोग्राम गहुँ पनि नेपालले आयात गरेको छ ।
गत साउनदेखि बजारमा चामलको मूल्य प्रतिबोरा २०० देखि ४०० रुपैयाँसम्म बढेको छ ।
सरकारले लगाएको अग्रिम करका कारण आयात घटेको व्यवसायीहरूले बताएका छन् । सोही कारण मूल्य बढ्न पुगेको उनीहरूको दाबी छ ।
नेपालले बर्सेनि २२ अर्ब रुपैयाँ बढीको चामल आयात गर्ने गर्छ । १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको धान भित्रिने गरेको छ । यो गत आवको तथ्याङ्क हो ।
नेपालले अत्यावश्यक तथा आधारभूत प्रमुख खाद्यान्न बालीदेखि तरकारी, फलफूल, मासुजन्य जिउँदो जनावर तथा पन्छी, माछा, डेरी प्रोडक्ट, अण्डा, मह, पुष्प, आलु, प्याज, लसुन, गोलभेँडा, हरियो तरकारी, कफी, चिया, बिउ, जैविक तथा वनस्पति तेल/घिउ, दाल, कागती र सागसमेत आयात गर्ने गर्दछ ।
आजभन्दा करिब १० वर्षअघि २०७२ सालमा नै कृषि विकास मन्त्रालयले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने योजना अघि सारेको थियो । पटक–पटक यसलाई महत्त्वाकांक्षी योजनाका रूपमा अगाडि सार्ने काम गरियो ।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तै पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘वार्षिक विकास कार्यक्रमहरू’ २०८१/८२ सार्वजनिक गर्यो ।
मन्त्रालयले मन्त्रालयअन्तर्गत संघ, प्रदेश र स्थानीय तहमार्फत सञ्चालन हुने कार्यक्रमका लागि ‘वार्षिक विकास कार्यक्रम’ २०८१/८२ बनाएको हो ।
यसका साथै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य पनि लिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा देशमा बाहिरबाट सामग्रीहरू भित्रिने क्रम बढ्ने गर्दछ । खाद्य वस्तुहरूको मूल्य पनि गत साउनदेखि नै बढेको देख्न सकिन्छ ।
कृषिजन्य वस्तुहरूको उपभोग पनि बाहिरबाट गर्दै आएका छौँ । नेपाल कृषिजन्य वस्तुमा कहिले आत्मनिर्भर बन्ने भन्ने प्रश्न सधैँ नै खडा हुने गरेको छ ।
कृषिमा आत्मनिर्भरताको नीति बोके पनि आधा बजेट रासायनिक मलमै जाने गरेको राष्ट्रिय कृषि आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल बताउँछन् ।
डा. दंगालले भने, ‘कृषिमा कृषकहरूको आकर्षण हुन सकेन । त्यसका कारण कृषिको आधुनिकीकरण हुन सकेन । प्रविधिहरू पनि अपनाउन सकेका छैनौं । थोरै लगानीबाट बढी प्रतिफल निकाल्न सक्ने खालको आकर्षण बनाउन सकेनौं । त्यही भएर कृषिमा निर्भर हुन सकेनौं । अधिकांश कृषिजन्य वस्तुहरू आयात हुँदै आए पनि अण्डा, माछामासु, तरकारीलगायतका अन्य वस्तुहरूका लागि निर्यातमा निर्भर छैनौं ।’
उनका अनुसार उत्पादनभन्दा खपत बढेपछि नियमित निर्यात भइरहेको छ ।
सरकारले कृषिमा काम गरिरहेको मोडालिटी नै परिवर्तन हुनुपर्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । उनका अनुसार अहिलेको मोडालिटी नै कृषिजन्य वस्तु आयातलाई प्रबर्द्धन गर्ने खालको छ ।
‘आयत गरेका वस्तुहरू सस्तोमा पाएपछि नेपाली उत्पादनले मूल्य पाएनन् । जसले गर्दा हाम्रो उत्पादन बढ्न सकेन । नेपालको संस्कृति र पहिचानसँग जोडिएकाले केही मानिस कृषिमा छन् । त्यो पनि खस्किँदै जाने स्थितिमा छ,’ अधिकारीले भने, ‘कृषिमा खर्च भएको बजेटले कुनै परिणाम दिन सकेको छैन भन्दा फरक पर्दैन । वर्षौंदेखि हामीले आत्मनिर्भर बन्ने कुरा गरिरहेका छौं, तर त्यो कहिल्यै हुन सकेको छैन ।’