२३ जेठ २०८३, शनिबार

यसरी मनाए कलाकारले तीज

भदौ २१, २०८१
काठमाडौं
यसरी मनाए कलाकारले तीज

आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुगिन् । उनी १५ वर्षदेखि तीजको व्रत बस्दै आएकी छिन् । सदाझैं यो वर्षको तीजमा पनि उनी फलफूल र पानी खाँदै फिल्म सुटिङमा व्यस्त भइन् ।

आज उनी दिनभरि नै ‘के घर के डेरा’ फिल्मको सुटिङमा व्यस्त बनिन् । व्रत बस्दा सकारात्मक सोच आउने र काम गर्नमा थप स्फूर्ति बढ्ने उनको अनुभव छ । तीजमा व्रत बस्नु उनका लागि स्वास्थ्यका दृष्टिले लाभदायक हुनु हो । 'तीजको बेग्लै धार्मिक महत्त्व छ,' उनले भनिन्, 'म स्वस्थ रहन पनि तीजको व्रत बस्छु ।'

null

अभिनेत्री प्रियङ्का कार्की यस वर्ष तीजका म्युजिक भिडियोमै व्यस्त भइन् ।

तीज पर्व कलाकारका लागि कमाउने उपयुक्त पर्व बन्न थालेको छ ।

कार्कीले जति तीज गीतको नृत्य गरेर यसको सांस्कृतिक महत्त्व दर्शकमाझ बुझाएकी छिन्, त्यति उनको वास्तविक जीवनमा मेल खाँदैन । तीजको दिन उनी चितवनमा ‘हिमालय रोडिज’को सुटिङमै व्यस्त बनिन् ।

उनलाई तीज पर्व मनाउन खासै जरुरी लाग्दैन । काम गर्नु नै उनको उत्सव हो । त्यसैले उनको विचारमा पर्व मनाउनु भनेको शरीरलाई दुःख दिनु होइन ।

गायिका सुनिता दुलाल प्रत्येक वर्षझैं तीज मनाउन अस्ट्रेलिया पुगिन् ।

तीजमा नचाउन एक साताअघि अस्ट्रेलिया पुगेकी उनले यसअघि नेपालगञ्ज र सुर्खेतमा तीज सांस्कृतिक कार्यक्रम गर्न भ्याइन् ।

स्वदेशमा भन्दा विदेशमा रहेका नेपालीले तीज पर्व महत्त्वका साथ मनाउने गरेको उनको अनुभव छ ।

तीजमा व्रत बस्ने विषयमा थुप्रै गीत गाइसकेकी गायिका दुलाल आफू भने तीजमा अहिलेसम्म व्रत नबसेको बताउँछिन् । 'भोकै बसेर पर्व मनाउने होइन,' उनी भन्छिन्, 'नाचेर, हाँसेर, गाएर रमाइलो गरेर तीज मनाउनु पर्छ ।  मैले यसरी मनाउँदै आएकी छु ।'

गायिका रितु कँडेलले तीज नारीहरूले सुखदु:ख साट्ने पर्वको रूपमा लिने गरेको बताइन् । दिनमा तीनदेखि चार ठाउँ तीज कार्यक्रममा पुगेर साङ्गीतिक प्रस्तुति दिएकी उनले एक महिनामा राम्रो आम्दानी गरेको सुनाइन् ।

तीज गीत गाउनुका साथै गायिका कँडेलले नारीलाई आफ्नो स्वास्थ्यका ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिइन् ।

उनी फलफूल खाएर व्रत बस्छिन् भने अरुलाई रमाइलो गराएर तीज पर्व मनाउन आग्रह गर्छिन् । उनी भन्छिन्, 'समय फेरियो । पर्व पनि फेरिँदैछन् । तीज अब आँसु झारेर होइन, उत्सव गरेर मनाउनु पर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्