
गत साउन १८ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्यो । नतिजामा नियमिततर्फ परीक्षा दिएका ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये २ लाख ३ हजार ८४७ जना पास भए ।
यसैगरी, ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत र २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।
नतिजा सार्वजनिक भएको डेढ महिना हुन लागिसक्दा पनि उत्तीर्ण भएका विद्यार्थीमध्ये मुस्किलले ३० हजार जति मात्र विभिन्न कलेजमा भर्ना भएको शिक्षा मन्त्रालयको अनुमान छ ।
मन्त्रालयका उच्च शिक्षा शाखाका एक कर्मचारीले भने, 'अहिलेसम्म ठोस तथ्यांक आइसकेको छैन । तर अहिलेसम्म ३० हजार जति मात्र भर्ना भएको हुन सक्ने हाम्रो अनुमान छ । भर्नाको क्रम चलिरहेकाले ठ्याक्क थाहा हुने कुरा भएन ।'
उनले तिहारपछि पनि भर्ना हुने क्रम जारी नै रहने भएकाले त्यो संख्या बढ्ने बताए । तर विद्यार्थीले उच्च शिक्षा भर्ना हुन किन समय लिइरहेका छन् त ?
ती कर्मचारीले भने, 'विदेश जाने ट्रेण्ड छ । अधिकांश अंग्रेजी भाषा परीक्षा आइईएलटीएसको परीक्षाको तयारीमा व्यस्त छन् ।'
ब्रिटिश काउन्सिल नेपाल अनुसार प्लस टुको नतिजा सार्वजनिक भएपछि एक लाख भन्दा विद्यार्थीहरूले आइईएलटीएसको मिति बुक गरेका छन् । भाषा परीक्षा दिन चाहने विद्यार्थीको त्यो संख्या अधिकांश प्लस टु पास गरेको संख्या हो ।
मुश्किलले ३० हजार जति भर्ना भइसकेका छन्, १ लाखले विदेश पढ्न जाने प्रयोजनका निम्ति भाषा परीक्षाको तयारी गरिरहेका छन् । पास भएका २ लाख भन्दा बढी विद्यार्थीमध्ये बाँकी अझै के गर्ने भन्नेमा अनिर्णित छन् ।
भाषा परीक्षा पास गरेपछि विद्यार्थीहरूले नो अब्जेक्सन लेटर लिन्छन् । गत आर्थिक वर्षमा एनओसी लिनेको संख्या १ लाख ३० हजारको हाराहारीमा थियो । तीमध्ये ८० प्रतिशत विद्यार्थी पढ्नका लागि विदेश पुगेका थिए । अहिलेको तथ्यांक भने आइसकेको छैन ।
विदेश जाने विद्यार्थीको'भयावह'तथ्यांक
नेपालबाट विदेश जाने विद्यार्थीको तथ्यांक हरेक वर्ष उच्च दरमा वृद्धि भइरहेको छ । शिक्षा मन्त्रालयका अनुसार गत साल १ लाख ३० हजार र त्यसअघि २०२२ मा १ लाख १० हजारभन्दा बढी विद्यार्थीहरूले विदेशमा उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएका थिए ।
अहिले त्यो संख्या बढेर डेढ लाख हुने अनुमान गरिएको छ । २०१९ मा यो संख्या ६३ हजार थियो, जुन पछिल्लो ४ वर्षमा लगभग तेब्बरले बढेको हो ।
विद्यार्थीको गन्तव्य प्राय: विकसित देश (अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, र युरोप) हुने गर्छ । अष्ट्रेलिया जानेको संख्या सबैभन्दा उच्च छ । क्यानडा र अमेरिका पनि पछिल्लो समय लोकप्रिय गन्तव्य बनेका छन् ।
विदेश जाने प्रवृत्तिको प्रमुख कारण नेपालमा गुणस्तरीय उच्च शिक्षाको अभावलाई मान्ने गरिएको छ । नेपाली शैक्षिक संस्थाहरूमा अझैपनि प्रयोगात्मक ज्ञान, नवीन पाठ्यक्रम, र अन्तर्राष्ट्रिय स्तरको अनुभवको कमी रहेको छ । विद्यार्थीहरूलाई विदेशमा आधुनिक पाठ्यक्रम, व्यावहारिक शिक्षा, र राम्रो करियर अवसर पाइने आशाले तान्छ ।
अर्को कारण भनेको नेपालको कमजोर श्रम बजार हो । धेरै विद्यार्थीलाई प्लस टुपछि नेपालमा राम्रो स्नातक तहको अध्ययन गरेर राम्रो रोजगार पाउने विश्वास छैन । बेरोजगारीको समस्या ठूलो छ र विदेशमा पढेपछि राम्रो अवसर पाइने र आर्थिक रूपले बलियो हुने सोचले विद्यार्थीहरूलाई विदेश जान प्रेरित गर्छ ।
विद्यार्थीहरूलाई आकर्षित गर्ने अर्को ठूलो कारण भनेको विद्यार्थी भिसामा काम गर्न पाउने सुविधा हो । अष्ट्रेलिया, क्यानडा, जापान जस्ता देशहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै आंशिक रूपमा काम गर्न अनुमति दिन्छन् । यसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ र परिवारलाई आर्थिक सहयोग पनि गर्न सकिन्छ ।
विद्यार्थीहरूको यस प्रकारको पलायनले नेपालको भविष्यमाथि गम्भीर चिन्ता पैदा गरेको छ । सबैभन्दा ठूलो चिन्ता भनेकै 'ब्रेन ड्रेन' हो । जसरी दक्ष जनशक्ति देशबाट विदेश पलायन भइरहेको छ, त्यसले देशको विकासमा ठूलो बाधा खडा गरेको छ । शिक्षा प्राप्त गरेर फर्किनुको सट्टा, धेरै विद्यार्थीहरू विदेशमा स्थायी बसाइँ सर्ने प्रयास गर्छन्, जसले गर्दा नेपालमा दक्ष श्रमिकको अभाव देखिन्छ ।
विद्यार्थीहरूले राम्रो शिक्षा र कामका लागि विदेश जानु भनेको नेपालमा प्राविधिक, वैज्ञानिक, र व्यावसायिक क्षेत्रमा ठूलो खाडल सिर्जना हुनु हो । देशको विकासका लागि अत्यावश्यक मानव स्रोत गुमाउनु नेपालको अर्थतन्त्र र विकास योजनाका लागि ठूलो चुनौती हो । स्वास्थ्य, प्रविधि, व्यवसाय, इन्जिनियरिङ जस्ता क्षेत्रहरूमा दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपालको विकास गति सुस्त भइरहेको छ।
विदेशमा पढ्न जाने विद्यार्थीहरूको खर्चले नेपालको विदेशी मुद्रा सञ्चिति पनि घटिरहेको छ। विद्यार्थीहरूले विदेशी शैक्षिक संस्थामा करोडौँ रुपैयाँ खर्च गर्छन्, जसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ। यसरी पैसा बाहिर जाँदा देशभित्रको आर्थिक परिसंचरणमा पनि प्रभाव पर्छ।
के विद्यार्थीलाई रोक्न सकिन्न ?
प्लस टु गरिसकेपछि विदेश नै जानुपर्छ भन्ने विद्यार्थीको मानसिकतालाई परिवर्तन गर्न ठूलो मेहेनेतको खाँचो रहेको विज्ञहरूको धारणा छ ।
यद्यपि उच्च शिक्षा हासिल गर्नकै निम्ति विदेश जानुपर्ने परिस्थितिमा भने अहिले निकै व्यापक सुधार आएको छ । नेपालकै विश्वविद्यालयले नवीनतम सोचमा आधारित विदेशी विश्वविद्यालयसँग प्रतिस्पर्धात्मक शिक्षा उपलब्ध गराउन शुरू गरेका छन्, यद्यपि यो शुरुवाती चरणमै छ ।
त्यस्तै नेपालमै विदेशी डिग्री हासिल गर्ने धेरै विकल्प अहिले नेपालमा उपलब्ध छन् ।
नेपालमैउपलब्ध छन्उच्च शिक्षाका अवसरहरू
नेपालमा उच्च शिक्षाका लागि विश्वविद्यालयको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयले विज्ञान, प्रविधि, व्यवस्थापन, स्वास्थ्य, इन्जिनियरिङ र मानविकीका क्षेत्रमा विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संकाय, काठमाडौँ विश्वविद्यालयको स्वास्थ्य विज्ञान र व्यवस्थापन संकाय र पाटन एकेडेमी अफ हेल्थ साइन्सेसको मेडिकल क्षेत्रहरूमा राम्रा कार्यक्रमहरू रहेका छन् । यिनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छन् ।
काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले इलेक्ट्रिकल, सिभिल, मेकानिकल, र कम्प्युटर इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर डिग्रीहरू प्रदान गर्छन् ।
पाटन एकेडेमी अफ हेल्थ साइन्सेस र काठमाडौँ विश्वविद्यालयले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको आईओएम र काठमाडौँ विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा एमबीए, बीबीए, र एक्सिक्युटिभ एमबीए जस्ता कार्यक्रमहरू निकै लोकप्रिय छन् । यी कोर्सहरू अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छन् र विभिन्न उद्योगहरूसँग सहकार्य गरी विद्यार्थीहरूलाई व्यावसायिक सीपहरू प्रदान गरिन्छ ।
काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले कम्प्युटर साइन्स र आईटी सम्बन्धी उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI) र डेटा साइन्समा केन्द्रित यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्राविधिक क्षेत्रमा प्रतिस्पर्धी बनाउन मद्दत गरेका छन् ।
विदेशी सम्बन्धन प्राप्त कलेजहरूले दिएको अवसर
नेपालमै बसेर विदेशी विश्वविद्यालयहरूको मान्यताप्राप्त डिग्री हासिल गर्न चाहने विद्यार्थीहरूका लागि विदेशी सम्बन्धन प्राप्त कलेज महत्वपूर्ण विकल्प बनेका छन् । यी कलेजले विद्यार्थीहरूलाई नेपालमै बसेर विदेशी विश्वविद्यालयको पाठ्यक्रम अनुसार अध्ययन गर्न सक्ने अवसर प्रदान गर्छन् ।
करिब ७ दर्जनजतिको संख्यामा रहेका यी कलेजमध्ये शीर्ष सूचीमा रहेको ब्रिटिस कलेजले युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्ड (UWE) र लिड्स बेकेट युनिभर्सिटीसँग सहकार्यमा बिजनेस एडमिनिस्ट्रेसन, आईटी, र एमबीए कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
लण्डन मेट्रोपोलिटन युनिभर्सिटीसँग सम्बन्धित इस्लिङटन कलेजले कम्प्युटिङ र व्यवस्थापनका क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्छ । विद्यार्थीहरूले यहाँबाट अन्तर्राष्ट्रिय स्तरको डिग्री हासिल गर्न सक्छन् ।
अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँग सहकार्यमा किङ्स कलेजले व्यवस्थापनमा उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यहाँबाट प्राप्त डिग्रीले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूमा काम गर्ने अवसर पनि प्रदान गरिरहेको छ ।
मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटीसँग सम्बन्धित लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले आईटी, बिजनेस एडमिनिस्ट्रेसन, र एमबीए जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
विद्यार्थी पलायन रोक्न सकिने उपाय
विद्यार्थी पलायनको समस्या रोक्न शिक्षा प्रणालीमा सुधार र अवसरहरूको विकास गर्नुपर्ने देखिन्छ । केही नेपालका विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा आधारित बनाएर व्यावहारिक ज्ञानमा जोड दिनु आवश्यक छ । प्राविधिक र व्यावसायिक कोर्सहरूमा सुधार गर्दै विद्यार्थीहरूलाई आकर्षित गर्न सकिन्छ ।
विश्वविद्यालयहरूले अनुसन्धान र नवप्रवर्तनमा बढी ध्यान दिनु आवश्यक छ । यसले विद्यार्थीहरूलाई देशमै आधुनिक शिक्षा र नवीन सीपहरू सिक्न मौका दिन्छ । साथै, अनुसन्धानका लागि स्रोतसाधन उपलब्ध गराएर विश्वस्तरको अनुसन्धानात्मक शिक्षा दिनुपर्छ ।
उच्च शिक्षामा देशमै अवसर सिर्जना गर्ने मात्र नभई राम्रो रोजगारका अवसरहरू पनि आवश्यक छन् । सरकार र निजी क्षेत्रले सहकार्य गरी स्नातक तहका विद्यार्थीहरूलाई उच्च तलब र व्यावसायिक करियर अवसर प्रदान गर्नुपर्छ । यसले उनीहरूलाई विदेश जानु पर्ने बाध्यता हटाउन सक्छ ।
यसको अर्को उपाय भनेको नेपालका विश्वविद्यालयहरूले विदेशका उत्कृष्ट विश्वविद्यालयहरूसँग सहकार्य गरी विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नुपर्छ । यसले विद्यार्थीहरूको विदेश पलायनलाई केही हदसम्म रोक्न मद्दत पुर्याउँछ ।
सरकारले शिक्षा क्षेत्रमा थप लगानी गरी गुणस्तरीय शिक्षाको पहुँच सबैका लागि सुनिश्चित गर्नुपर्छ । साथै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रमहरू सञ्चालन गरेर योग्य विद्यार्थीहरूलाई देशमै अध्ययन गर्न प्रोत्साहन गर्नुपर्छ ।