
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।
बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने काम सोही चोकबाट गर्थे । सोही चोकनिरको सानो सार्वजनिक जग्गामा एक स्थानीय सानो घर बनाउँदै थिए । नजिकै चर्को घाममा उभिएर बस कुरिरहेका बटुवाले सोधे– ‘दाजु ! यहाँ के बनाउन खोज्नुभएको ?’ स्थानीय सज्जनले उत्तर दिए– ‘मन्दिर बनाउँ कि भनेको ।’ बटुवाले आश्चर्य मान्दै सोधे– ‘यति सानो स्थानमा पनि मन्दिर ? बरू यहाँ यात्रु प्रतीक्षालय बनाएर मन्दिर अन्तै कतै बनाए हुन्न र ?’ सज्जनले भने– ‘मन्दिर बनाइयो भने भगवान् बस्न आउँछन् । प्रतीक्षालय बनाएर के गर्ने मानिसबाहेक कसले प्रयोग गर्छ र ।’
बटुवा महोदयलाई के लागेछ कुन्नि त्यसपछि बोलेनन् । स्थानीय सज्जनले मन्दिर पनि बनाए । कुनै देवताको मूर्ति किनेर स्थापना पनि गरे तर, न बिहान पूजा हुन्थ्यो न साँझको आरती नै ।
केही महिना अघिको कुरा हो । एउटा बस्तीमा टोलसुधार समितिले बाटो बढाउने विचार गर्यो । बस्ती बाक्लो थियो, बाटो सानो । कदाचित कुनै भवितव्य परिहाले न दमकल छिर्न सक्थ्यो न प्रहरी प्रशासनको गाडी नै । त्यसैले समितिले जनसहभागिता जुटाएर बाटो विस्तार गर्न खोजिएको थियो तर, भइदियो के भने काम शुरू गर्नुअघि नै केही स्थानीय मिलेर सोही बाटो विस्तार गर्ने स्थानको बीचतिर मन्दिर निर्माण गर्न लागे । फलतः बाटो विस्तार गर्ने योजना नै रोक्नुपर्ने भयो ।
किनकि अर्को स्थानबाट बाटो बढाउन सकिने अवस्था नै थिएन । मन्दिर निर्माण रोक्न समितिले भरसम्भव प्रयास गर्यो तर, केही लागेन । उल्टै स्थानीयले कड्किँदै भने– ‘भाँडमै जाओस् तपाईँहरूको योजना । बाटो बढायो दुनियाँलाई सुख । त्योभन्दा न मन्दिर नै जाति । कम्तीमा भगवान् त बस्न आउँछन् ।’
केही दिन अगाडिको कुरा हो । एक जना सज्जनको घरमा पितृश्राद्धको दिन रहेछ । उनी एक किलो चामल, दुई किलो जति फल र डेढ/दुई सय दक्षिणा लिएर मन्दिरतिर लागे तर, उनी पुग्दा पुजारी महोदय अन्त कतै हिँडिसकेका रहेछन् । त्यसैले लगेको चीज पुजार्नी बज्यैलााई थमाएर फर्के र घरका लागि तरकारी किन्न नजिकैको पसलमा छिरे ।
तर, आश्चर्य त के भने भरखरै नगद र जिन्सीगरी करीब चार/पाँचसय मूल्य बराबरको चीज दान गर्न पुजारी खोज्दै मन्दिर धाउने सज्जन तरकारीका लागि पाँच–दश रुपैयाँमा बार्गेनिङ गरिरहेका देखिन्थे ।
यी केही प्रतिनिधि घटना हुन् । प्रायः हामी सबैको अवस्था पनि योभन्दा फरक छैन । प्रायः हामी दान भनेको पण्डित, पुरोहित र पुजारीको हातमा दिएको मात्र हो भन्ने ठान्छौँ । अनि धर्म पनि त्यस्तै कार्यबाट हुने हो भन्ने राख्छौँ र उनीहरूले भनेपछि लाखौं दान गर्न पनि पछि पर्दैनौं । सुन दान गर्छौं, घर दान गर्छौं, जमिन दान गर्छौं तर, कुनै भोको भिखारीलाई एक मुठी अन्न दान गर्नुपर्यो भने वचन लगाउन बेर लगाउन्नौं ।
हाम्रा यही मासिकताबाट फाइदा उठाएर उनीहरू आफ्नो दुनो सोझ्याइरहेका हुन्छन् । हामी उनीहरूकै पछि लागिरहेका हुन्छौं ।
हुँदाहुँदा अब त हाम्रो सोच यति बढी रूढ हुन पुगिसकेको छ कि भगवान् भनेका निर्जीव पदार्थमात्र हुन् वा निर्जीव पदार्थमा मात्र भगवान् बस्छन् भन्न, मान्न र ठान्न थालिसकेका छौं ।
निर्जीवलाई खुसी पार्ने नाममा सजीवलाई जति ठगे पनि हुन्छ, लुटे पनि हुन्छ, मारे पनि हुन्छ, काटे पनि हुन्छ र काटेर खाए पनि हुन्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले त वन मासेर मन्दिर बनाउँछौं, मठ बनाउँछौं, सार्वजनिक चौर वा गौचरन मासेर गुम्बा, चर्च र मस्जिद बनाउँछौं ।
जबकि वास्तविकता त्यसको उल्टो छ । निर्जीव पनि भगवान्ले बनाएका हुन्, भगवान्ले पठाएका हुन् । यस अर्थमा ती पनि भगवान्का प्रतिनिधि हुन् । वास्तविक भगवान् भनेका त ज्योतिर्मय स्वरूप सजीव प्राणी नै हुन्, चाहे, वनजंगल हुन्, चाहे पशुपक्षी, मानिस वा छरछिमेक । परेको बेला सहयोग गर्ने भनेका तिनैले हो, कुनै मठ, मन्दिर, मूर्ति तथा चर्च, गुम्बा र मस्जिदले होइन ।
अन्त्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ सापटी लिँदै बिदा हुन चाहन्छु– ‘कुन मन्दिरमा जान्छौं यात्री कुन मन्दिरमा जाने हो । कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो ।’ अस्तु सबमा चेतना भया ।