
केही न केही बिर्सिने बानी त प्राय: मानिसहरूमा हुन्छ नै । कही कतै जाँदा होस् वा घरमै पनि मानिसहरूले कतिपय चिजहरू बिर्सिरहेका हुन्छन् ।
अनि होटेलमा जाँदा/बस्दा मानिसहरूले केके बिर्सिन्छन् होला त ? केही साझा चिजहरू धेरैले बिर्सिने गर्छन् । प्रायः आफ्नो फोनको चार्जर/केबल, फोहोर लुगा, मेकअप र ब्रस–ब्रस–साबुन–लोसन बिर्सन्छन् ।
तर, यहाँ होटेलमा ग्राहले बिर्सिएका किमती र अनौठा चिजहरूबारे चर्चा गरिने छ ।
होटल बुकिङको लागि ठूलो वेबसाइट Hotels.com ले हालै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वभरका ४०० भन्दा बढी होटलको तथ्यांकमा आधारित यो प्रतिवेदन अनुसार केहीले आफ्नो ५० करोडको रोलेक्स घडी बिर्सिएका छन् ।
कोही लाखौंको लक्जरी ब्रान्डको झोला, कोही लक्जरी कारको चाबी। अझ के हो भने एक व्यक्तिले होटलको कोठामा आफ्नो कारको टायर बिर्सेका छन् ।
यसबाहेक होटलको कोठामा इन्गेजमेन्ट औँठी, एउटा दाँत, धेरै पैसा, एउटा घरपालुवा छेपारो र एउटा कुखुरा पनि फेला परेको छ।
सौभाग्यवश, छेपारो र कुखुरा आफ्नो मालिक कहाँ सकुशल फर्किए। इन्गेजमेन्ट औँठी बिर्सने व्यक्तिलाई के भयो भन्ने बारेमा ठोस जानकारी छैन।
हराएका यी चीजहरू पुन: प्राप्ति गर्न धेरै प्रयासहरू भएका छन् । कोही बिर्सिएको राहदानीका लागि १५० किलोमिटर टाढाबाट आएका छन् । कसैले क्रूज जहाज प्रस्थान गर्नुअघि डायरी पठाएका छन् ।