१२ साउन २०८३, मंगलबार
प्रश्न सारेको भरमा पास

त्रिवि सेवा आयोग प्रकरण : विशेष र सर्वोच्चले आधार लिएको सम्परीक्षणमै गम्भीर प्रश्न

असोज २, २०८१
काठमाडौं
त्रिवि सेवा आयोग प्रकरण : विशेष र सर्वोच्चले आधार लिएको सम्परीक्षणमै गम्भीर प्रश्न

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षामा प्रश्नपत्र मात्र सार्नेलाई पास गराएको विषयमा नयाँ तथ्य बाहिरिएको छ ।  विशेष र सर्वोच्च अदालतले जुन आधारमा टेकेर प्रतिवादीहरूलाई सफाइ दिएका थिए, ती आधारका सम्बन्धमा नै नयाँ तथ्य बाहिरिएको हो ।

शैक्षिक सत्र २०७२/०७३ मा विज्ञापन नम्बर ७ र ८ अन्तर्गत गणित विषयको आन्तरिक तथा खुलातर्फ उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा व्यापक अनियमितता भएको थियो ।

प्रश्न मात्र सार्नेलाई पास गराएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उत्तरपुस्तिका परीक्षण गर्ने विषय विज्ञ प्रा. रामविश्वास प्रसाद साह र प्रा. चेतराज भट्ट, अनुत्तीर्ण भएपनि पास भएका परीक्षार्थीहरू अमरनाथ साह र प्रमोदकुमार गोइत गरी चारजना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विशेष अदालत र सर्वोच्च अदालतले समेत चारैजना प्रतिवादीलाई सफाइ दिएको छ । तर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समयमा थालेको अनुसन्धानबाट भने अर्कै तथ्य फेला परेको छ ।

जुन कुरालाई आधार बनाएर विशेष अदालत र सर्वोच्च अदालतले सफाइ दिएका छन्, त्यो आधार नै गलत देखिएको उपत्यका प्रहरीले गरेको अनुसन्धानबाट खुलेको हो ।

यी सबै विषय बुझ्नका लागि त्यसको पृष्ठभूमि जान्नु आवश्यक हुन्छ ।

यस्तो थियो पृष्ठभूमि

शैक्षिक सत्र २०७२/०७३ मा गणित विषयको उपप्राध्यापक पदका लागि आन्तरिक विशेष परीक्षामा रोल नम्बर ५७०८ भएका परीक्षार्थीको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा १७ पटक प्रश्न मात्र सारे पनि पास गराइएको थियो । उक्त उत्तरपुस्तिका परीक्षक विज्ञ प्रा.डा. चेतराज भट्ट थिए ।

१ नम्बर प्रश्नको उत्तरमा उनले १ नम्बरकै प्रश्न हुबहु सारे पनि नम्बर दिएका थिए । २ नम्बर प्रश्नको उत्तरमा २ नम्बरकै प्रश्न हुबहु सार्नुका साथै ३ र ४ मा समेत प्रश्न मात्र सार्दा पनि नम्बर दिएका थिए ।

यसरी प्रथम पत्रको ३५ अंकका लागि सोधिएका कूल ५ वटा प्रश्नको उत्तर नै नलेखेका, उत्तर लेख्दा त्यही ५ वटा प्रश्नहरूलाई उत्तर खण्डमा १७ पटकसम्म हुबहु सारेकोमा कूल ११ अंक दिएर उत्तीर्ण गराइएको थियो, जसमा १ अंक पनि दिन मिल्ने अवस्था थिएन ।

३५ अंकका लागि दोस्रो खण्डको अर्को पत्रको उत्तरपुस्तिकामा पनि पूर्ण रूपमा गलत उत्तर लेखेकोमा बढीभन्दा बढी अंक दिएर पास गराइएको थियो । जाँचकले शुरूमा उत्तरपुस्तिका जाँच्दा लेखाइलाई पूर्णरूपले गलत भनी काटेका थिए । तर, उत्तरपुस्तिकामा देखाइएका संकेत जाँचकले भेटाएपछि  व्यक्तिको पहिचान भई उत्तर पुस्तिकाको बाहिर पहिलो पृष्ठमा २६.५ अंक दिइएको थियो ।

ती परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका जाँचकलाई चिनाउन अंग्रेजीमा ‘रिमेनिङ’ लेखेर संकेत गरेका थिए । दोस्रो खण्डको उत्तरपुस्तिकामा उनले १ नम्बर प्रश्नको उत्तर लेख्दा जाँचकले १ अंक मात्र दिए पनि  मूल पृष्ठमा भने ९.५ अंक दिइएको थियो । उत्तरमा जाँचकले कैफियतमा ‘कम्प्लिट सेन्टेन्स’ भनी कैफियत लेखेर ०.५ अंक शुरूमा दिएकोमा पछि आएर फेरि ९.५ अंक दिएका थिए ।

२ नम्बर प्रश्नको उत्तर गलत लेख्दा पनि ५ अंक दिइएको थियो । ३ नम्बर प्रश्नको उत्तर उनले नेपाली भाषामा लेखेका कारण जाँचकले ‘प्रेस इन इंग्लिस’ अर्थात् अंग्रेजी भाषामा मात्र उत्तर लेख भनेर कैफियत लेखेका थिए तर, पनि त्यसमा ९.५ अंक दिइएको थियो ।

४ नम्बर प्रश्नको उत्तरमा उनले केही पनि नलेखी खाली नै छाडेकामा पनि अंक दिइएको थियो । ५ नम्बर प्रश्नको उत्तर पूर्णरूपमा गलत लेखेकोमा समेत उनले २.५ पाएका थिए ।

त्यसैगरी, खुलातर्फ उत्तरपुस्तिका जाँचक रामविश्वासप्रसाद साहले आफ्नै ज्वाइँको उत्तरपुस्तिका जाँचेर गलत उत्तरमा समेत बढीभन्दा बढी अंक दिएर 'टपर' बनाएका थिए । परीक्षामा ३०७१ रोल नम्बर भएका परीक्षार्थीले 'टप' गरेका थिए । उनी जाँचक साहका ज्वाइँ हुन् । ती परीक्षार्थीले उत्तर नै नलेख्दा समेत अंक पाएका थिए ।

प्रथम पत्रको ४ नम्बर प्रश्नको उत्तर लेख्दा उनले उत्तरमा ४ नम्बरको प्रश्न मात्र सारेकोमा पनि २ अंक दिइएको थियो । अन्य प्रश्नको उत्तर गलत लेखेको भए पनि उनलाई उच्च अंक दिएर सर्वोत्कृष्ट बनाइएको थियो ।

प्रथम खण्डमा २५ र दोस्रो खण्डमा ३२ अंक दिएर कूल ५७ अंकसहित उनलाई ‘टप’ गराइएको थियो । दोस्रो खण्डको उत्तरपुस्तिका उनको आफ्नै ससुरा रामविश्वासप्रसाद साहले जाँचेका थिए ।

ती उत्तरपुस्तिकाको पुनः परीक्षण भने प्रा.डा. प्रकाशरत्न शाक्य र प्रा.डा.रामबिनोद चौधरीले गरेका थिए । 'माथि उल्लेखित विषयको सम्पूर्ण उत्तरपुस्तिकाहरू पुनः परीक्षण गर्दा सन्तोषजनक देखिन्छ,' भन्ने कैफियत प्रतिवेदन सहित दुवै जनाको हस्ताक्षर सहितको सम्परीक्षण विवरण त्रिवि सेवा आयोगले अदालतमा पेश गरेको थियो ।

सोही सम्परीवेक्षण प्रतिवेदनकै आधारमा २०७५ जेठ १४ गते विशेष अदालतले र २०८१ वैशाख १८ गते सर्वोच्च अदालतले चारैजना प्रतिवादीलाई सफाइ दिएको थियो ।

'प्रतिवादी चेतराज भट्ट र रामविश्वासप्रसाद साह समेतले परीक्षण गरेको उत्तरपुस्तिका प्रकाशरत्न शाक्य र रामविनोद चौधरीबाट पुनः सम्परीक्षण हुँदा प्राप्तांकमा कुनै परिवर्तन नभएको हुँदा अंक थपघट, केरमेट गरेकोबाट अनुत्तीर्णलाई उत्तीर्ण गराई परीक्षाको परिणामलाई फेरबदल गरेको अवस्थासमेत उत्तरपुस्तिकाकाको प्राप्तांकको योगबाट देखिन आएन,' विशेषको फैसलामा उल्लेख छ ।

परीक्षकले दिएको अंकलाई सम्परीक्षणको विधिबाट पुनः परीक्षण समेत भई नतिजामा कुनै परिवर्तन नभएको भन्ने कुरालाई सफाई दिँदा मुख्य आधार बनाइएको छ । विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठको इजलाशले सफाइ दिएको थियो भने २०८१ वैशाख १८ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र बालकृष्ण ढकालको इजलाशले विशेषकै फैसलालाई सदर गरेको थियो ।

सम्परीक्षणको प्रतिवेदनलाई नै आधार बनाएर दुवै तहको अदालतबाट सफाइ दिइएपनि प्रतिवेदनका विषयमा अहिले नयाँ तथ्य बाहिरिएको छ ।

null

झुटो सम्परीक्षण प्रतिवेदन तयार गरी अनियमितता गरेको भन्दै उक्त मुद्दाका जाहेरवाला विष्णुकुमार गिरीले २०८० साउन ११ गते गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

गृहको निर्देशनमा उक्त उजुरीउपर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्दा सम्बन्धित विषयको शिक्षक नै नरहेको व्यक्तिबाट सम्परीक्षण गर्न लगाएको तथ्य खुलेको छ ।

सम्परीक्षण गरेका दुवै प्राध्यापकहरूको नाम सेवा आयोगको विषय विज्ञ रोस्टरमा समेत समावेश नभएको पाइएको छ । त्यति मात्र होइन, प्रतिवेदनमा लेखिएका कैफियत समेत आफूहरूले नलेखेको, कभर पेजको अंक मात्र हेरेको बयान ती दुईजनाले प्रहरीसमक्ष गरेका छन् ।

सम्परीक्षण गरेका प्रा.डा. प्रकाशरत्न शाक्यले २०८० भदौ २१ मा प्रहरीसमक्ष गरेको बयान कागज:

मैले टीयूबाट एमएससी र रोमानियाबाट एमएस गरेको छु । म २०६५ सालमा सेवानिवृत्त भइसकेको छु । २०७३ साल पुस महिनामा चेतराज भट्ट र रामविश्वासप्रसाद साह मेरो घरमा आई उत्तरपुस्तिकासम्बन्धी काम छ भन्नुभयो । त्यसको भोलिपल्ट त्रिवि सेवा आयोगका पदाधिकारीहरूले घरको नम्बरमा फोन गरी बोलाएपछि सो कार्यालयमा नै बसी म र रामविनोद चौधरीलाई उक्त उत्तरपुस्तिकाको अंक हेर्न भने । सो उत्तरपुस्तिका हाम्रो विषयभित्र नपरेको र मेरो विषय इन्टिग्रल ट्रान्सफर्म तथा डिस्ट्रिब्युसन थ्योरी रहेकाले हामीले उक्त प्रश्नउत्तरभित्र चेकजाँच गर्न नपाउने खालको थियो । हामीलाई उक्त उत्तरपुस्तिकाको बाहिरी कभर पेजमा दिएको अंक ठीक छ कि छैन भनी सेवा आयोगका पदाधिकारीहरूले सोधेका थिए । सोहीअनुसार हामीले जम्मा ६७२ उत्तरपुस्तिकाको बाहिरी कभरमा दिएको अंक ठीक छ/छैन भनी बताएका थियौं ।  मैले उत्तरपुस्तिका जाँच गरेको होइन । सेवा आयोगका पदाधिकारीहरूले भनेको हुनाले उनीहरूको विश्वासमा परी प्रतिवेदनको विषयवस्तु समेत जानकारी नभई विश्वासमा परेर हस्ताक्षर मात्र गरेको हो । त्रिविको उत्तरपुस्तिका सम्परीक्षण प्रतिवेदनमा लेखिएका कैफियतबारे मलाई कुनै जानकारी छैन । मैले त्यसमा हस्ताक्षर मात्र गरेको हुँ । अन्य लेखाई मेरो होइन । मैले कुनै आर्थिक लाभ लिने नियतले गरेको होइन ।

null

प्रा.डा. प्रकाशरत्न शाक्यले गरेको कागज

प्रा.डा. रामविनोद चौधरीले २०८० पुस ७ मा धनुषा प्रहरीसमक्ष गरेको बयान कागज :

म गणित विषयको मेकानिक्स पेपरको विशेषज्ञ हो । सेवा आयोगमा परीक्षार्थीहरूका उत्तरपुस्तिका परीक्षण गर्दा मलाई परीक्षामा सोधिएका प्रश्नहरू र यसको जवाफ (सोलुसन) त्रिवि सेवा आयोगले मलाई उपलब्ध नगराई मात्र उत्तरपुस्तिकामा राखेको अंक ठिक छ कि छैन (पोस्टिङ एरर करेक्सन) त्यसलाई हेर्न र दशमलव संख्या हटाउन (राउन्ड अफ नम्बर्स) भनेकोमा मैले सोहीबमोजिम गरी प्रतिवेदन बुझाएको हो ।  उक्त उत्तरपुस्तिकाहरूसम्बन्धी पुनः परीक्षण गर्ने काम मैले गरेको होइन । सेवा आयोगका कर्मचारी प्रमुख परशुराम कोइरालाले प्रतिवेदनमा हस्ताक्षर गर्न भनेकाले मैले हस्ताक्षर गरी दिएको हुँ । तर, २०७३ माघ १४ गतेको प्रतिवेदनमा उल्लेख गरेको 'माथि उल्लेखित विषयको सम्पूर्ण उत्तरपुस्तिकाहरू पुनः परीक्षण गर्दा सन्तोषजनक देखिन्छ' भन्ने व्यहोराको कैफियत मैले लेखेको होइन । यो सेवा आयोग आफैंले लेखेको हो ।  

प्रा.डा. रामविनोद चौधरीले गरेको कागज

यसरी जुन आधारलाई टेकेर विशेष हुँदै सर्वोच्च अदालतसम्मले भ्रष्टाचारका आरोपीलाई सफाइ दिइएको छ, त्यो विषय नै गलत देखिएको छ । उक्त विषयमा अनुचित कार्य गरिएको भन्दै जाहेरवाला विष्णु गिरीले पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अनुचित कार्य गर्ने पदाधिकारीहरूलाई आवश्यक कारबाही गरी पाऊँ भन्दै २०८१ असार ११ गते उनले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । अख्तियारले उक्त विषयमा पुनः अनुसन्धान अगाडि बढाएको गिरीले बताए ।

पढ्नुहोस्, सम्बन्धित समाचार :

EXCLUSIVE: त्रिवि परीक्षामा प्रश्न मात्र सार्ने पनि पास ! जाँचकीदेखि अख्तियारसम्म सेटिङ [उत्तरपुस्तिकासहित]

विशेषको विवादास्पद फैसला– प्रश्न मात्र सार्दा पनि उत्तीर्ण गराउनेलाई सफाइ, प्रमाण बेवास्ता !

salt training

कमेन्ट गर्नुहोस्