०३ असार २०८३, बुधबार
इजरायल-हिजबुल्लाह तनाव

पेजर विस्फोट: ज्यानै लिने गरी कसले पड्कायो सयौं मान्छेको खल्तीमा रहेका सञ्चार उपकरण ?

असोज ३, २०८१
काठमाडौं
पेजर विस्फोट: ज्यानै लिने गरी कसले पड्कायो सयौं मान्छेको खल्तीमा रहेका सञ्चार उपकरण ?

लेबनानको दक्षिणी क्षेत्र र राजधानी बेरुत आसपासमा २ चरणमा भएको 'सञ्चार सेट' विस्फोटले २० जनाको ज्यान लिएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् ।

यो घटनाले लेबनान-इजरायल सीमा क्षेत्रमा गहिरो तनाव सिर्जना गर्नुका साथै क्षेत्रीय युद्धको सम्भावनालाई थप मलजल गरेको छ ।

बुधवार भएको पेजर विस्फोटयता अन्य विस्फोटको शृंखला रोकिएको छैन । बुधवार हिजबुल्लाहका सदस्यहरूले बोकेका पेजर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो भने ३ हजार जति घाइते भएका थिए ।

स्थानीय समयअनुसार बुधवार बिहान बेरुतका शहरी क्षेत्र र बेका भ्याली क्षेत्रमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका 'ह्यान्ड-हेल्ड रेडियो सेट'हरूमा विस्फोट भएको थियो ।

यी विस्फोट दिनभरि चलेका थिए । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा २० जनाको मृत्यु र ४ सय ५० भन्दा बढी घाइते भएका छन् ।

इजरायलको संलग्नताको आशंकाहिजबुल्लाहको प्रतिक्रिया

पेजर विस्फोटको जिम्मेवारी इजरायलको जासुसी एजेन्सी मोसादले लिन सक्ने सम्भावना रहेको लेबनानका सुरक्षा स्रोतहरूले जनाएका छन् ।

यो घटनाले हिजबुल्लाहलाई ठूलो झट्का दिएको छ र  बिहीवार भएका रेडियो सेट विस्फोटसँगै तनाव थप गहिरो भएको छ ।

हिजबुल्लाहका केही अधिकारीहरूले शृंखलाबद्ध विस्फोटको घटनालाई इतिहासको सबैभन्दा ठूलो सुरक्षा उल्लंघन भनेका छन् ।

हिजबुल्लाहले बिहीवारको विस्फोटको जवाफ दिएको दाबीसहित सीमा क्षेत्रस्थित सैन्य बेसमा आक्रमण गरेको छ । ती आक्रमणमा ठूलो क्षति वा हताहती भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रतिक्रिया

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो घटनाका कारण थप तनाव बढ्न सक्ने विश्लेषण गरेका छन् । इजरायली रक्षामन्त्री योआभ गालान्टले एक पत्रकार सम्मेलनका क्रममा भनेका छन्, 'हामी युद्धको नयाँ चरणमा प्रवेश गरेका छौँ । हिम्मत, दृढता, र साहस आवश्यक छ ।'

उनले इजरायली सेनालाई उत्तरी सिमानामा केन्द्रित गर्न निर्देशन दिएका छन् ।

जोर्डनका विदेशमन्त्री अयमान साफादीले मध्यपूर्वालाई क्षेत्रीय युद्धको स्थितिमा पुर्‍याएको आरोप इजरायलमाथि लगाएका छन् । उनले यसलाई एक खतरनाक संकेत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी अधिकारीहरूले भने कूटनीतिक प्रयास गर्दै यस तनावलाई क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्ने प्रयास गरिरहेको बताएका छन् ।

एक अमेरिकी अधिकारीको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ, 'इजरायलले हिजो लेबनानमा केही गर्ने योजना बनाएको खुलासा अमेरिकासमक्ष गरेको थियो तर जसरी सञ्चार सेट विस्फोटको शृंखला देखियो, यो कारबाही अप्रत्याशित थियो ।'

शृंखलाबद्ध विस्फोट भएका रेडियो उपकरणहरू जापानी कम्पनी ICOM ले बनाएको जस्तो देखिने रोयटर्सको दाबी छ । ICOM ले भने ती उपकरणहरूको उत्पादन १० वर्षअघि नै बन्द भइसकेको जनाएको छ । यी मोडलका नक्कली उपकरण बनाएर कसैले बजारमा पठाएको हुन सक्ने सम्भावना रहेको कम्पनीको दाबी छ ।

ICOM का प्रवक्ताले भनेका छन्, 'हामीले केवल आधिकारिक वितरकमार्फत बिक्री गरेका छौं र हामीले उत्पादनको सुरक्षा मापदण्डको पालना गर्दै आएका छौँ ।'

संयुक्त राष्ट्र सुरक्षा परिषद र भविष्यको परिदृश्य

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले यस विस्फोटबारे छलफल गर्न शुक्रबार बैठक बोलाएको छ ।

लेबनानमा पेजर विस्फोटका क्रममा इरानका राजदूत पनि घाइते भएपछि इरानले अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आवश्यक कदम चाल्न सक्ने जनाएको छ ।

हिजबुल्लाहका वरिष्ठ अधिकारीहरूले यो घटनालाई इजरायलको 'पेजर नरसंहार' भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्