
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्याङ्कले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको सङ्ख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९७९ रहेको तथ्याङ्क छ ।
विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेर एक सय शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्याबाट सेवा प्रवाह भइरहेको छ ।
यसैबीच, अस्पतालले आफ्नो वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने जनाएको छ ।