
आजकलका शहरिया ठिटाहरूलाई कसले बताइदिने, यो सुगर ड्याडीजस्ता डरलाग्दा अपराधीले सिकार कुरेर बस्ने क्लबभन्दा भिन्न समाजसेवा सिकाउने क्लब पनि हुन्छ भनेर । यी क्लब र ती क्लबमा आकाश-जमिनको फरक छ। ती क्लबले मान्छे बनाउँथे, यी क्लबले बिगार्छन् मात्रै । कहीँ छ होला त पाठ्यक्रम वा लोककथातिर हाम्रा पालाका त्यस्ता क्लबको चर्चा परिचर्चा ?
हामीजस्ता काका-काकी, बा-आमाहरूको सबैभन्दा ठूलो पीर भनेकै आफ्ना केटाकेटीलाई खराब संगत र यस्ता अपराधीहरूबाट कसरी जोगाउने भन्ने नै हो । आजभोलि १९/२० वर्षका केटाकेटी दिनमा भन्दा रातमा बढी सक्रिय देखिन्छन्। राति २/३ बजे पिसाब फेर्न ब्युँझिँदा यसो उनीहरूको ढोकातिर कान थाप्यो भने कि मोबाइलको (पबजीको) बड्य्याङ्ग र बुडुङ्ग आवाज आइरहेको हुन्छ, कि मान्छे घरमै हुँदैन । साथीको ‘बर्थडे’, साथीको भिसा लागेको पार्टी, साथीको बाबा-ममीको ‘एनिभर्सरी’ आदि इत्यादि बहानामा ती पुगिरहेका हुन्छन्, त्यस्तै आपराधिक गतिविधि हुने क्लब भनिने ठाउँहरूतिर !
शहरमा बस्ने तपाईंहामी अभिभावकहरू पनि एकाधपटक त्यस्तो ठाउँमा पुगेकै हौंला ! नजानु भएको भए एकपटक जानुहोला– मामा कसम, उकुसमुकुस भएर २ घण्टामै रहर नपुगे त के ? झामक-झिमिक लाइट, कानको जाली फुट्ने ‘भोल्युम’मा बुझ्नु न सुझ्नुको डिजे म्युजिक, हैट– म चाहिँ उल्टै पैसा दिएर पनि जान चाहन्न।
हाम्रा शहरिया केटाकेटीलाई फेरि त्यो के-के न स्वर्गै पुगेजस्तो ! क्रूर नै भए पनि यो सुगर ड्याडीवाला घटनाले अब केही सचेत गराउला ती 'केयरलेस' अभिभावक र तिनका 'केयर फ्री' सन्तानलाई । उहिले हामीसँग बुढापाका हुन्थे, मोबाइल हुन्थेन, तिनै बुढापाकाका कथा सुनिन्थ्यो। भन्थे- 'दिन आफ्नो, रात अर्काको ।' सुनिन्थ्यो, मनन गरिन्थ्यो। जात्रा-मात्रा, देउसी-भैलो, रत्यौली वा कुनै ‘कार्जे’ पर्दाबाहेक अरू बेला रातिमा हिँडिन्नथ्यो। एक रात अनिधो बस्दा दुई दिन बिग्रिन्थ्यो।
अहिलेका उरन्ठेउला ठिटा उस्तै परे दिनकै जान्छन्, त्यो क्लब भन्नेमा । अनि रातभर जागाराम बस्छन्। के भइरहेको होला यिनका भित्री इन्जिनमा ? कसले सुनाइदिने हो यिनलाई बुढापाकाको अर्ति ? हाम्रो त भेटै नहुने- आफू उठ्ने बेलामा उनीहरूको सुत्ने बेला हुन्छ, आफू सुत्दा उनीहरू पार्टीमा । आखिर यो घटनाले पनि पुष्टि गर्यो नि, कस्ता डरलाग्दा मान्छे सल्बलाउने रहेछन् रातिमा भनेर। तसर्थ, ढिलै भएपनि आँखा उघारौं । बढी आधुनिक बन्ने पल्टिएर आफ्ना केटाकेटीका भविष्य नबिगारौं ।
हाम्रा पालाका ती क्लबहरू दुईथरिका हुन्थे- एकथरि बालबालिकाको, अर्कोथरि युवाको। बाल क्लबहरूमा ज्ञानगुनका कुराहरू सिक्ने-सिकाउने चलन हुन्थ्यो भने युवा क्लबहरूमा समाजसेवा, खेलकुद, संस्कृति र परम्पराका अभ्यास । युवा क्लबले आफू-आफू मिलेर उठाएको, देउसी-भैलो खेलेर जुटाएको, कहीँकतैबाट पुरस्कार जितेर ल्याएको लगायतका थोरै-तिनो पैसाले बाजा, ‘साउन्ड-सिस्टम’, खेलकुद सामाग्री, भोजभतेरका लागि पकाउने-ख्वाउने भाँडाकुँडा, उज्यालोका लागि मइन्टोल, लाल्टिन, मान्छे बिरामी पर्दा बोक्ने स्ट्रेचरलगायतका चिजबिजहरू किनेर राख्थे र आवश्यक पर्दा गाउँ-ठाउँमा ती सामाग्रीहरू सबैले प्रयोग गर्न पाउँथे। कहीँ बाटोघाटो मर्मत-सुधार गर्नुपरे, दशैं-तिहारमा घरघर डुलेर बाबियो र लिङ्गो जुटाएर पिङ हाल्नुपरे, सडक नाटकमार्फत कुनै विषयमा जनचेतना फैलाउन परे, जन्मजयन्ति र स्मृति दिवसहरूमा झाँकी/र्याली निकाल्नुपरे, चाडपर्वमा सांस्कृतिक कार्यक्रम आयोजना गर्नुपरे तिनै क्लबहरू सक्रिय हुन्थे।
ज्ञानगुन, मनोरञ्जन र समाजसेवामा अग्रणी भूमिका खेल्थे ती क्लबहरूले। गाउँमा प्रायः वडास्तरमा र शहरमा टोल-टोलमा क्लब हुन्थे, केही दर्ता गरिएका, केही नगरिएका। त्यसो त अझै पनि गाउँ–ठाउँमा त्यस्ता क्लबहरू जीवितै नभएका होइनन्। अझै पनि ठाउँ-ठाउँमा गठित क्लबले युवा परिचालन तथा युवाको नेतृत्व, सीप र क्षमता विकासमा सक्रिय भूमिका खेलिरहेकै देख्न सकिन्छ । तर, ५५-६० हाराहारीमा जन्मिएका शहरिया केटाकेटीलाई त्यसको अनुभव नहुन सक्छ। अनुभव गराउने काम सरकारको हो, तर सरकार पनि उही झोले न पर्यो। राजनेताहरू ताल परे एलओडी (लर्ड अफ द ड्रिंक्स) पुगिदिन्छन्, शहरिया युवालाई उक्साउन । कुनै सामाजिक युवा क्लबमा पुगेर युवाहरूसँग आधा घण्टा बिताएका होलान् त तिनीहरूले ? नाप्पियो !
सरकार र त्यसमा रहने मान्छेलाई युवा विकासमा के चिन्ता छ र ? खाडी, मलेसियाले भाउ दिएकै छ, बेच्यो बस्यो। गाउँका युवा सबै विदेश, शहरका युवा रात परेपछि आधाजति यस्तै क्लबतिर। अनि फेरि सरकार रातभर बिजनेस चलायमान गराउने भन्दै रात्रि जीवन सुचारु गरिदिन्छ । तर, त्यहाँ के घटना घटिरहेको छ, अनुगमन र मूल्याङ्कन पनि आफैंले गर्नुपर्छ भन्ने हेक्का उसलाई हुँदैन। यस्ता सुगर ड्याडीले गरेकोजस्तो अपराध, हातहतियार, खरखजाना र लागूऔषधको व्यापार, देहव्यापार, मिटर ब्याजको कारोबार लगायतका अन्य दुईनम्बरी धन्दाहरू कति चलिरहेका होलान् यस्ता ठाउँमा ? कतै नाबालिगहरूलाई नचाइँदै होला, कतै मानव श्रवण शक्तिले पचाउन नसक्ने आवाज घन्काइँदै होला, कतै लठ्ठिएका युवालाई अखाद्य र विषालु मदिरा पिलाइँदै होला, कतै कसैलाई एकान्तमा पुर्याएर तातो आइरनले डामिँदै होला, कतै कसैको इहलीला समाप्त पार्ने तानाबाना बुनिँदै होला, कतै कुकृत्य गरेर जम्मा गरिएको कालो धन हत्याहिंसा र आतङ्कवादमा लगाइँदै होला। गर्नुपर्छ कि पर्दैन सरकारले त्यसको निरीक्षण ? रात्रिजीवन सुचारु गरेपछि सोहीबमोजिम कडा व्यवस्था मिलाउनुपर्छ कि पर्दैन? कि जसले जे गरे पनि हुने हो यो देशमा?
यति भन्दै गर्दा विश्वव्यापीकरणको आजको युगमा यस्ता क्लब नचाहिने भन्ने चाहिँ होइन। दिनभरि कामले व्यस्त युवाले राति एकछिन साथीभाइसँग भेटेर आधुनिक संगीतमा रमाउँदै, पसिना काढ्दै, ‘स्ट्रेस रिलिज’ गर्छु भन्छ भने त्यो उसको अधिकारको कुरा हो। उसले घरमै बसी-बसी विश्व देखेको छ, विश्वका अन्य युवा जसरी रमाइरहेको छ भने त्यसलाई गलत नै भन्न त मिल्दैन । तर, यसो भन्दैमा त्यहाँ जे पनि गर्ने छुट त दिनु हुँदैन नि ! त्यस्ता ठाउँलाई कुनैपनि हालतमा अपराधको क्रीडास्थल बन्न नदिनु र सुरक्षाको प्रत्याभूति गर्नु राज्यको दायित्व हो । सरकारको ध्यान पुगेको भए पक्कै पनि मकुन्डोभित्र चेहरा लुकाएर पटक–पटक एकै किसिमका दानवीय घटना सांगठनिक रूपमा घटाउने स्थिति हुन्थेन।
तसर्थ, एकपटक फेरि यी क्लब होइन, ती क्लबमा युवालाई आकर्षित गर्ने काम गरौं । यस्ता क्लबमा गएर युवा उक्साउने ठूला मान्छेहरूले त्यस्ता क्लबहरूमा गएर प्रोत्साहित गरौं । क्लब नभएको ठाउँमा शुरू गर्न प्रेरित गरौं । राज्यसंयन्त्र प्रयोग गरी कसरी हुन्छ युवालाई रचनात्मक कार्यमा अग्रसर गराऔं । यस्ता क्लबले गर्दा धेरैका छोराछोरी बिग्रिरहेका छन्, त्यसो हुन नदिऔं । पबजी, फ्री फाएर र क्लबजस्ता ‘एडिक्सन’बाट युवालाई बचाऔं । स्वस्थ युवा नै देश विकासको कडी हो ।
X : @RSenchurey